अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

वरिष्ठ लोकगायक प्रेमराजा महत, जगदीश समाल तथा नलिना चित्रकारको अद्वितीय प्रस्तुति

विजय थापा २०७६ असोज १२ गते ९:२५ मा प्रकाशित

वासिङ्टन डिसी – गत सेप्टेम्बर २८ शनिवारका दिन केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिवुड नाइट २०१९ खचाखच भिड हुनुको साथै ऐतिहासिक सफलता हासिल गरेको छ । कार्यक्रम सभाकक्ष खचाखच भिड हुनुको साथै सबै टिकट बिक्री भएको थियो ।

६ दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका बालबालिकाहरूले महिनौँ दिन सम्म पूर्व अभ्यास गरेर मेहनत र आत्म विश्वास साथ गरेको प्रस्तुतिको जति नै गरे पनि प्रशंसा कमै रहन्छ ।

किशोरीहरूले नेपाली गीतहरूमा प्रस्तुत नृत्यहरूको कुनै व्यावसायिक नृत्यांगना/नृत्य गर्ने कलाकार भन्दा कुनै फितलो रहन पुगेन । हरेक प्रस्तुति उतिकै बेजोड प्रस्तुति रहन पुगेको थियो ।

अमेरिकामा जन्मेका दोस्रो पुस्ताका बालबालिकाहरूका आमाहरूको सुपर ममहरुको बेजोड प्रस्तुति विगत वर्ष भन्दा अझ माझिएको थियो । महा आमाहरूको प्रस्तुतिको साथै हरेक प्रस्तुतिमा कर्तल ध्वनिले कार्यक्रम स्थल गुन्जायमान हुन् पुग्यो ।

यस पटक वरिष्ठ लोकगायक प्रेमराजा महतले आफ्नो गीत नृत्य सहित प्रस्तुति अद्वितीय रहेको थियो भने वरिष्ठ कलाकार महतलाई कलाकार रिमा केसी तथा अमेरिकामा जन्मेका किशोरीहरूले साथ दिएका थिए ।

कार्यक्रममा न्यूयोर्कबाट आएका चर्चित गायक जगदीश समालले दुई वटा उनका चर्चित गीत प्रस्तुत गरेका थिए भने लोकप्रिय गायिका नलिना चित्रकारले आफ्ना पुराना गीत प्रस्तुत गरेकी थिइन् ।

यसको अतिरिक्त नलिना चित्रकारले सदैव अन्य कार्यक्रममा थुप्रै गीतहरू मिसाएर बनाएको गीत प्रस्तुत गर्दै दर्शकलाई नचाएकी थिइन् । यस पटक महा आमाको प्रस्तुतिमा पुरुषहरूले पनि सानो भूमिका निभाएका थिए ।

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । यस वर्ष पनि कार्यक्रमको शुभारम्भमा दसैँको दुर्गा स्तुति सामूहिक प्रस्तुति सर्वोत्कृष्ट रहेको थियो ।

यसै गरी केसी डान्स सेन्टरका सञ्चालक द्वय युवा नृत्य निर्देशक नवीन केसी र लुना श्रेष्ठले सामूहिक रूप अन्य कलाकारहरूसँग प्रस्तुति गरेका थिए । यसै गरी कलाकार राहुल केसी तेजेन्द्र, प्रख्यात कलाकार यज्ञमा शाक्यले हिमाल, पहाड र तराईलाई समेट्दै विभिन्न जातजातिका विशेष गीतहरूमा अमेरिकामा जन्मेका बालबालिका तथा किशोरीहरूको प्रस्तुति बेजोड रहेको थियो ।

यस पटक मेरिल्यान्डका वरिष्ठ समाज सेवी राम मालाकारले तिहारमा देउसी भैलो प्रस्तुतिमा घर धनी भई भूमिका निर्वाह गरेका थिए र उक्त प्रस्तुतिमा परशु तिमिल्सिनाले तिहार देउसी भैलो भट्याउदा दर्शकले समेत देउसुरे भनी साथ दिएका थिए ।

कार्यक्रम सञ्चालन संचारकर्मी परशु तिमिल्सिनाले गरेका थिए । कलिवुड नाइट २०१९ सकिए पछि दर्शकहरूसँग गरिएको प्रतिक्रियामा सबैले अद्वितीय, मनोरञ्जनात्मक, स्तरीय, बेजोड प्रस्तुति रहेको बताएका थिए ।

प्रतिक्रिया