अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

एनआरएनए आइसिसीको उपाध्यक्षमा रबिना थापा उम्मेदवार हुने

कृष्ण के सी २०७६ भदौ ५ गते ११:४४ मा प्रकाशित

अमेरिका, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि रबिना थापा खुल्लातर्फको उपाध्यक्षमा उम्मेदवार हुने भएकी छन्।

कुराकानीको क्रममा रबिना थापाले अघिल्लो पटक २ दिनको तयारीमा उपाध्यक्षको उम्मेदवार हुँदा नै पनि धेरै मत पाएको स्मरण गर्दै यो पटक भने समयमै जानकारी दिएर धेरै नेटवर्क गर्दै गरेकोले खुल्ला तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने मात्र होइन जित्ने पनि आधार भएको कुरा बताइन।

रबिना थापा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको २०१५-२०१७ कार्यकालको निर्वाचित उपाध्यक्ष हुन्। एनआरएनए आइसिसी सचिव जानकी गुरुङ संयोजक रहेको One NCC One Charity कमिटीकी उपसंयोजक पनि हुन्। यस बाहेक अरू थुप्रै सङ्घ-संस्थाहरूमा समेत संलग्न छन् थापा।

महिला उपाध्यक्ष र महिला संयोजक जस्तो पदमा चाहिँ किन इच्छा नगरेको भन्ने प्रश्नमा लामो जवाफी दिइन थापाले। आफू जन्मँदै राजनैतिक परिवार त्यसमा पनि नेपाली काँग्रेसको राजनीति पृष्ठभूमिबाट आएको। विवाह पछि पनि सोही प्रकृतिको घरमा हुर्केकीले आरक्षण भन्ने कुरा भन्दा प्रतिस्पर्धा बढी मन पर्ने कुरा उनले बताइन। मलाइ आरक्षण भन्ने शब्द नै त्यत्ति धेरै मन पर्दैन। फेरि म कुनै पनि कारणले अरू भन्दा कम्जोर या प्रतिस्पर्धामा जान नसक्ने आरक्षित कोटाको सुविधा लिनु पृष्ठभूमिको व्यक्ति पनि होइन भन्ठान्छु।

उसै पनि एनआरएनमा महिला नेतृत्वको अभाव छ। सङ्घको १६ बर्से इतिहासमा जमुना गुरुङ नै पहिलो पटक अध्यक्षमा उम्मेदवार हुन सकेको इतिहासले महिला नेतृत्व विकासलाई थप चुनौती दिएको छ। त्यसमा पनि महिला महिला भिडेर एउटा जित्ने अर्को हर्ने गर्दा महिलाहरूको सहभागिता झन् हराउँदै जान्छ। महिला उपाध्यक्ष तर्फ पक्कै पनि महिला नै आउने हो। आफू खुल्ला तर्फ जितेपछि कम्तीमा पनि दुइजना उपाध्यक्ष महिला हुन्छन्। यसबाट पाँच जना उपाध्यक्षमा कम्तीमा पनि दुइजना त महिला हुन्छन्। त्यसैले पनि आफू खुल्लातर्फ उम्मेदवार हुने कुरा थापाले बताइन।

हाल सम्म अध्यक्षका लागि आकाङ्क्षी हुनुभएका कुमार पन्त र कुल आचार्य दुबैजनासँग राम्रो कुराकानी भएको छ। दुवैले मिलाएर सहकार्य गर्न इच्छा व्यक्त गर्नुभएको छ। मैले मिलेर गएको र मिलाएर लगेको स्थितिमा मिलेर जाने, सपोर्टर गर्ने अन्यथा आफू खुल्ला तर्फ स्वतन्त्र रूपमा उम्मेदवार हुने कुरा गरेको जानकारी थापाले दिइन।

पहिलो कुरा त एनआरएन जस्तो संस्थामा हरेक उम्मेदवारका आफ्नै एजेन्डा हुँदैनन्। अन्य उम्मेद्वारहरुले विजयी भएका अध्यक्षको एजेन्डा अनुरूप गरिएका योजनामा सक्रिय रूपमा योगदान दिने हो। आफ्नो कार्यकालमा कम्तीमा एउटा प्रोजेक्ट सुरु र सम्पन्न गर्ने आफ्नो योजना रहेको कुरा थापाले बताइन। तेस्रो कुरा सङ्घमा केही मात्रामा मात्र एनआरएनका विषयले प्रवेश पाएका छन्। आफू विजयी भएमा एनआरएनका प्रमुख विषयहरूलाई कार्यान्वयन गर्न आफूले मुख्य भूमिका खेल्ने कुरा थापाको रहेको छ।

अमेरिकाज, मिडल इष्ट, युरोप, एसिया र ओसनियामा राम्रो नेटवर्क र मतदाता रहेको थापाको दाबी छ। अफ्रिकामा सम्पर्क बढाउँदै गरेकोले आफू जित्ने कुरा थापाको दाबी छ।

आफू म्याग्दीकी चेली भएकीले म्याग्दी समाज (मोना), कास्कीकी बुहारी भएकीले कस्केली समाजको ठुलो सपोर्टर आफूलाई रहेको उनको दाबी छ। त्यसबाहेक, राजनैतिक घर नेपाली काँग्रेस हो। नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति विदेशमा स्थापना गर्न आफ्नो श्रीमान् नारायण थापा र आफूले पहल गरेकै हो। जापान र अमेरिकामा जनसम्पर्क समिति स्थापन गर्न योगदान गरेको कारणले पनि नेपाली जनसम्पर्क समितिका सपोर्टरहरूको नेटवर्क आफूसँग रामो भएको दाबी थापाको छ।

एनआरएनएका थुप्रै एनसीसी पदाधिकारी र नेतृत्वमा आफन्त र साथीहरू छन्। त्यसै गरी वर्तमान आकाक्षीहरुमध्ये धेरैजनासंग तालमेल र नेटवर्क पनि गर्दैछु। सङ्घका पूर्वज र वर्तमान नेतृत्वका सबैजसोले विगतको मेरो योगदान र क्षमताको मूल्याङकन गर्नु भएको छ, नजिकबाट हेर्नुभएको छ। यी लगायत अरू थुप्रै कारणले गर्दा आफू बलियो उम्मेदवार रहेको जिकिर रबिना थापाको रहेको छ।

प्रतिक्रिया