अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

कृष्ण के सी २०७८ साउन १६ गते ८:४२ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाबाट १० औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि भाग लिने जम्मा प्रतिनिधिको २५% प्रतिनिधिमा राज्य च्याप्टर नेतृत्वलाई सहभागी गराउने सहमति भएको छ।

गत पटक प्रतिनिधि चयनमा रोकिएको विषय नयाँ सहमति अनुसार अगाडि बढेको कुरा गैर आवासीय नेपाली सङ्घको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले जानकारी दिनु भएको छ।

जुलाई २९, २०२१ मा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अनुरोधमा आयोजित जुम मिटिङबाट प्रतिनिधि चयनमा एउटा नयाँ सहमति भएको छ। बैठक अमेरिकाज क्षेत्रका आरसी राजन त्रिपाठीको विशेष पहल र संयोजनमा रोकिएको प्रतिनिधि चयनको विषयमा नयाँ सहमति भएको कुरा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुबेदीले पुष्टि गर्नुभएको छ।

विवादित भएको २५ प्रतिशत प्रतिनिधिहरूको चयनको विषय अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको विशेष पहल र संयोजनमा सो सहमतिमा पुगेको हो। बिहीबार दिउसो आरसी त्रिपाठीले प्रतिनिधि चयनको विषयमा देखिएको अन्यौलता हटाउन आइसिसी उपाध्यक्षहरुद्वय सोनाम लामा र रविना थापा, सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की र एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीलाई बैठकमा सहभागी गराएर सहमति जुटाएको कुरा आरसी त्रिपाठीले बताउनुभयो।

यो पटकको अन्तर्राष्ट्रिय महाधिवेशनको लागि अमेरिकाबाट पञ्जीकृत सदस्यका आधारमा पर्ने कुल प्रतिनिधि सङ्ख्याको २५% अर्थात् ४७ जना प्रतिनिधिमा हुन आउँछन्। त्यसमा अमेरिकाका ५० राज्यमध्ये वैधानिक रूपमा एनआरएनए एनसीसी अमेरिकाले आफ्ना २९ राज्य च्याप्टरका अध्यक्ष अथवा च्याप्टरले सिफारिस गरेका प्रतिनिधिलाई समेटेर प्रतिनिधि चयन गरिने सहमति भएको छ।

बाकी १८ जना प्रतिनिधिको भने प्रक्रियागत रूपमा निर्वाचन या सहमतिमा गर्ने भन्ने समेत सहमति बैठकबाट भएको छ। एनसीसी अमेरिकाको विधानको धारा १५७ को उपधारा सी बमोजिम नै प्रतिनिधि चयन गर्नु उपयुक्त हुने निष्कर्ष बैठकका सबै जना पुगेको कुरा समेत आरसी त्रिपाठीले जानकारी दिनुभयो।

सोही बैठकमा आरसी त्रिपाठीले एनआरएनए एनसीसी अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीलाई प्रतिनिधिको निर्वाचन र चयनको स्थगित प्रक्रिया छिटै अगाडि बढाउन आग्रह समेत गर्नुभएको कुरा अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू