अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

एनआरएनए आइसिसीको महासचिवमा अमेरिकाबाट डा केशव पौडेल उम्मेदवार हुने

कृष्ण के सी २०७८ साउन ६ गते ६:२५ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को आगामी कार्यकाल २०२१-२०२३ को लागि महासचिवमा डा केशव पौडेल उम्मेदवार हुने भएका छन्।

नेपालको तनहुँ जिल्लामा जन्मेर टिचिङ हस्पिटल महाराजगन्जबाट एमबिबिएस गरेका डा केशव पौडेलले अमेरिकाबाट मेडिकल डाक्टर डिग्री (एमडी) अनि एमबिए समेत पुरा गरेका छन्। विगत लामो समय देखि अमेरिकामा मेडिकल पेसामा कार्यरत डा पौडेलले आफू यो पटक महासचिवमा उम्मेदवार हुने बताएका छन्।

उसो त डा पौडेल विद्यार्थी कालमा नेपाल विद्यार्थी सङ्घको राजनीतिमा पनि सक्रिय थिए। नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य पनि भएका हुन्। नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना काल देखिने सक्रिय डा पौडेल विभिन्न सङ्घ-सँस्थामा समेत संलग्न हुँदै आएका छन्। नेपाल र अमेरिकामा दुवै देशमा थुप्रै क्षेत्रमा लगानी समेत गरेका डा पौडेल ब्यबसायिक क्षेत्रमा लगानी गर्ने लगानीकर्ता पनि हुन्।

एनआरएनको अभियानमा भने उनी २०१३ देखि आधिकारिक रूपमा संलग्न भएका हुन्। २०१३-२०१५ कार्यकालमा डा पौडेल गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको सल्लाहकार थिए। २०१५ -२०१७ र २०१७-२०१९ मा गरी दुइ-दुइ कार्यकाल एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित अध्यक्ष भएर काम गरेका छन् डा पौडेलले।

२०१५ मा निर्वाचित भएर पदभार लिन नपाउँदै नेपालमा गएको महाभूकम्पको पिडामा सेवा दिन नवनिर्वाचित टोली नै लिएर लामो समय नेपाल गएर काम गरेका थिए। २०१७ को निर्वाचनमा नै आफू आइसिसी महासचिवको दाबी गर्दै-गर्दा पनि एनसीसी अमेरिकाको अध्यक्षमा नै दोहोरिएका थिए डा पौडेल। गत २०१९ को निर्वाचनमा थोरै मतले आइसिसीको उपाध्यक्षमा पराजय भोगेता पनि सङ्घको अभियानमा निरन्तर छन् डा पौडेल। यो पटक भने उनी महासचिवकै लागि उम्मेदवार हुने भएका छन्।

एनआरएनएको अभियानमा २०१५ पछि सङ्घबाट धेरै काम गर्न सकिन्थ्यो तर खासै रूपमा उपलब्धिका काम गर्न सकेको छैन। केही भएका काम नियमित भनौँ या दैनिक रूपमा गर्ने काम मात्र भएका छन्। केही पुराना कुरा निरन्तर दिने र केही प्रोजेक्ट सम्पन्न गर्ने काम भएको छ। त्यो पाटो राम्रो हो तर गर्नुपर्ने धेरै काम बाँकी छन्। एनआरएनहरूको मुख्य एजेन्डाहरू नै छायामा परेका छन्। कतिपय त विषयको उठान नै भएको छैन।

गैर आवासीय नेपाली नागरिकता र अन्य हक-अधिकारको विषय नेपालको संविधानमा लेखिएर आएको यतिका बर्षभयो तर पनि त्यसको ऐन बनाउन पहल पुगेको छैन। मध्यपूर्वमा श्रमिकका विषय हरेक पटक उठाइन्छ तर पहल कम हुन्छ। अस्ट्रेलिया र सो क्षेत्रमा बिधार्थीहरुको कुरा सुनिएकै नै छैन। युरोपमा नेपालीहरूको आप्रवासी समस्या धेरै आएका छन् त्यसलाई उठाएको नै छैन। अफ्रिकामा नयाँ लगानी मात्र होइन थुप्रै देशमा रहेका पातलो नेपाली समुदायको सक्रियता अत्यन्तै धेरै छ तर संयोजन गर्ने ध्यान पुगेको छैन। एसियाका धेरै देशमा नेपाली उत्पादनको व्यापार र नेपालसँग जोडिएको धार्मिक-सांस्कृतिक विषय कहिल्यै पनि उठेको नै छैन।

सङ्घमा सञ्चार र अन्य थुप्रै विषयमा पारदर्शी छैन। नेतृव विकास, एनसीसीहरुको विवादलाई न्यूनीकरण, सहजीकरण जस्ता भन्दा रोक्ने, विभेद गर्ने जस्ता काम धेरै भएका छन्। यस्तै थुप्रै विषय छन् त्यसलाई एउटा सफल प्रशासक भएर मात्र पुरा गर्न सकिन्छ। सङ्घमा धेरै संस्थागत विकासका दर्जनौँ काम बाँकी छन्।

त्यसैले पनि यस्ता धेरै काम गर्न आफू यो पटक महासचिवको लागि आकाङ्क्षी भएको हुँ। यो पटक आफू विश्व भरिका अन्य आकांक्षीहरुसँग सम्पर्कमा रहेको, एनसीसीका नेतृत्व र आकांक्षीहरुसँग संयोजन गरेर अगाडी आएको छु। अब सङ्घका एकदम सफल र सक्रिय व्यक्तिहरूको आगमनले हाम्रो सङ्घलाई उद्देश्यप्रति केन्द्रित गराउने हो, डा पौडेलले भने।

आफू यो पटक तयारीका साथ महासचिव पदमा उम्मेदवार हुन लागेको छु। मेरा कामका विषय निर्दिष्ट छन्। मेरो बानी विचलित हुने खालको छैन, म अडानमा नडग्ने मान्छे हुँ। यसमा मेरो कुनै अन्य स्वार्थ छैन। केवल एनआरएनहरूको विषयलाई उठाएर समाधान गर्नेतर्फ लागि पर्ने हो। सङ्घको प्रमुख मुद्धालाइ टुङ्गोमा पुर्‍याउने हो। त्यसलाई पुरा गर्न महासचिव मात्र होइन भविष्यमा अध्यक्षकै लागि पनि तयार भएर आएको छु, डा पौडेलको दाबी छ।

सम्पूर्ण एनआरएनए एनसीसीहरुलाई एउटा सजिलो, स्वतन्त्र तर उस्तै खालको ब्रान्डको प्रडक जस्तै स्ट्याण्डर्ड बनाउनुपर्छ। हरेक देशका कानुनलाई सम्मान गर्दै त्यो अनुसार प्राक्टिस गर्नुपर्छ। सङ्घका पूर्व अध्यक्ष शेष घलेको भिजन २०२० एण्ड बियोण्ड २०१७ को महाधिवेशनबाट नै पारित भएको हो। त्यसका केही टुक्रा मात्र लिएर केही व्यक्तिहरूको फाइदाको लागि मात्र प्रयोग भएको छ। तर त्यो सिङ्गो स्वरूप भने लुकाइएको छ। यदि सङ्घलाई साँच्चै अगाडी लैजाने हो भने त्यो विषय फेरी पनि छलफलमा अल्याउनु जरुरी भएको छ। त्यो अनुरूपको नीति-विधि तयार पारेर सोही अनुरूपको सङ्घको सशक्त प्रशासन बनाएर चलाउनुपर्छ। म आफूमा त्यसप्रति विश्वास छ, डा पौडेलले भने।

परिस्थितका आधारमा विश्वका सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई फरक-फरक खण्डमा राखेर त्यसैका आधारमा सङ्घका सदस्यहरूको सुविधाको व्यवस्था गर्नुपर्छ। अमेरिका, क्यानडा, बेलायत, न्यूजिल्याण्ड र अस्ट्रेलिया जस्ता एउटा खाले प्रकृति भएका देश र केही ठुला सदस्य सङ्ख्या भएका देशहरूमा फरक रूपमा नीति तय गरिनुपर्छ।

नेपाली मूलक विदेशी नागरिक, स्थायी बासिन्दाहरूको लागि फरक रूपमा सक्रियता बढाउने काम गर्नुपर्छ। तर यसको सट्टा हाल उनीहरूलाई दबाइएको छ। कुनै स्थान नै दिने काम भएको छैन। उनीहरू नै सही अर्थमा छुटाउन नहुने अभिन्न भाग हुन् तर त्यसलाई हाल सङ्घको नाम गैर आवासीय नेपालीसँग नै बाझिने गरेर छुटाइएको छ ।

नेपालमा गैर आवासीय नेपाली सङ्घको अधिवेशन गर्दा केही हजार छनोट गरिएका प्रतिनिधिहरू लगेर होइन ५० औँ हजार नेपाली लगेर भव्य सेलिब्रेशन गर्दा नेपालको शान र आर्थिक पाटोमा नै फरक रूपले योगदान दिन सकिन्छ । यसतर्फ हाम्रो ध्यान पुगेको नै छैन । यति मात्र होइन नेपालमा लगानी सम्बन्धी नै धेरै काम गर्न बाँकी छ । गैर आवासीय नेपालीहरूको यस्ता अरू धेरै मुख्य मुद्धाहरु समेत उजागर गर्नुपर्छ । यस्ता दर्जनौँ विषय लिएर आफू महासचिवको लागि उम्मेदवार हुन लागेको कुरा डा पौडेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू