अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

ललिता निवास जग्गा प्रकरण र हाम्रो बिल्डिङबारे तीन विकल्प: अध्यक्ष पन्त

कृष्ण के सी २०७६ माघ २२ गते १२:५२ मा प्रकाशित

अमेरिका, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले ललिता निवासको जग्गा प्रकरणमा सङ्घलाई ठग्नेहरूबाट सावाँ-ब्याज सहित रकम फिर्ता र बिल्डिङ भोग चलन गर्न माग गर्ने कुरा बताएका छन्।

एनआरएनएका अध्यक्ष पन्तसंग सोधिएको प्रश्नको जवाफमा आफू केही महिना देखि नै सो विषयमा लागि परेको बताए । पहिला पनि सरकारले काठमाडौँ भ्याली बाहिर गएमा बिल्डिङ बनाउन जमिन दिने कुरा गरेको थियो । त्यो बेला हामीले राम्रो ठाउँ काठमाडौँ भित्र नै रोज्यौँ । त्यो बखत पनि जमिन प्रक्रिया पुर्‍याएर नै खरिद गरिएको हो । मन्त्रीपरिषद् देखि अन्य विभाग समेतको परामर्श र स्वीकृतिमा नै खरिद गरिएको हो । तर पछि जब हामीलाई सो जमिन सरकारको हो भन्ने अनुमान भयो त्यो समय हामी धेरै अगाडी पुगेका थियौँ, धेरै ढिला भैसकेको थियो ।

गत पटक प्रधानमन्त्रीज्यूसँग पनि यो विषयमा कुरा गरेको छु । अब स्पष्ट रूपमा सो जमिन सरकारको भएको कुरा आइसकेको अवस्थामा हामीसँग तीन विकल्प छन्, अध्यक्ष पन्तले भने।

१. तत्काल हामी मुद्दा मामिला र अन्य झमेलामा जाँदैनौँ। त्यसो गर्नु कुनै पनि कारणले उपयुक्त छैन, विषय स्पष्ट छ ।
२. जसले हामीलाई यो जग्गा खरिद गर्दा ठगे उनीहरूबाट हाम्रो सावाँ-ब्याज सहित रकम फिर्ता गराई पाउन नेपाल सरकारसँग अनुरोध गर्ने ।
३. नेपाल सरकारसँग हामीले बनाएको बिल्डिङ भोग चलन गर्न पाउन अनुरोध गर्ने ।

अध्यक्ष पन्तले भने, तत्काल नेपाल सरकारले जे निर्णय गर्छ त्यसमा भर पर्ने कुरा हो। तर पनि सङ्घको बिल्डिङ भोग चलन गर्ने कुरामा भने नेपाल सारकारबाट सहयोग हुने कुरामा आफू आसावादी रहेको छु। यस विषयमा तुरुन्तै सङ्घको बैठक पनि बस्छ। अनि विस्तृत धारणा बाहिर ल्याउनेछौँ, अध्यक्ष पन्तले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू