अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 22:33

भिक्षुहरूको दिन चैर्या मात्र होइन दिमाग पनि सन्यासी नै हुन्छ

राम लामा अविनाशी २०७५ मंसिर ६ गते ११:५६ मा प्रकाशित

यो भनाई मेरो होइन । यो भनाई त अमेरिका भरिका बुद्ध मन्दिरहरूका सबै भन्दा ठुला भिक्षु अहङ्गाम धर्मारामाको हो । श्रीलङ्काको अहङ्गाममा बुद्धमार्गी परिवारमा जन्मिनु भएको उहाँ हाल लस एन्जलसको पासाडेना स्थित बुद्ध मन्दिरका भिक्षु हुनुह्न्छ । ५ जना दाजुहरू र एउटा दिदीका कान्छा भाइ उहाँ १६ वर्षकै उमेरमा भिक्षु बन्नु भएको रहेछ ।

काम क्रोध लोभ मोह अनि माया सबै त्यागी भौतिक जीवनबाट सन्यास लिने बौद्ध मार्गीहरुलाई भिक्षु भन्ने गरिन्छ । पिरेभाना देखि विश्वविद्यालय सम्मको शिक्षा लिएर विभिन्न दर्जाका भिक्षुहरू बन्ने चलन छ । उहाँले पनि पिरेभानाको १० वर्षसम्मको बुद्ध शिक्षा प्राप्त गरी गुरु बन्नु भएको रहेछ । पछि उच्च शिक्षाको लागि बौद्ध विश्वविद्यालयमा अध्ययन गरी २ वर्षमा जनरल डिग्री र अर्को २ वर्षमा मास्टर डिग्री हासिल गर्नु भएको रहेछ ।

बुद्धका आदर्शमा विद्यावारिधि गरेका धेरै भिक्षुहरू मैले भेटेको छु । तत्सम्बन्धी अध्ययनको लागि भारत, श्रीलङ्का बर्मा, थाईल्याण्ड, आदि लगायत नेपालको लुम्बिनीमा पनि बौद्ध विश्वविद्यालयको स्थापना गरिएको छ ।

हिन्दु धर्म ग्रन्थहरूमा कतै पनि उल्लेख नभएको मनगणन्ते मानव विभेदको विरोध गर्दै १९५६ मा भारतका संविधान लेखक डा. वि आर अम्बेटकरले बुद्ध मार्गको दीक्षा लिएका थिए । सोही दिन उहाँ सँगै भारत भरिका करिब ५ लाख व्यक्तिहरू बुद्धिष्ट बनेका थिए । कथित दलितहरूलाई हिन्दुहरूले समान व्यवहार गर्न नसकेकोले यसरी बुद्धमार्गमा बाहिरिएका रहेछन् ।

बुद्ध धर्ममा जाती विभेदता हुँदैन । भगवान् बुद्धले पनि ६ वर्ष सम्म अनवरत तपस्या गर्दा पनि केही फरक नभएपछि हार खाएर फर्केको कुरा उल्लेख छ । अस्थिपन्जर जस्तो मात्र देखिने उहाँको हालत प्रति दया जागेर जो महिलाले उहाँलाई खाना खुवाइन ती महिला दलित परिवारकी थिइन । हुन त, भगवान् रामले पनि जुन सवारी नामकी स्त्रीको जुठो खाए उनी स्वयंम अछुत थिइन । तर खोइ त हिन्दुमा समानता आएको ? 

हुन त, तेस्रो शताब्दीमा सम्राट् अशोकले गरेको कलिङ्गा युद्धमा करिब लाखको सङ्ख्यामा मृत्यु भएका र करिब ६० हजार घाइते अवस्थामा देखे पछि उनलाई आत्मग्लानि भएको थियो । आफूले गरेको सो पापको प्रायश्चित गर्दै उनी बुद्धिस्ट भएर शान्ति मार्गमा लागेका थिए । साथै , भारत भरि र विदेशमा पनि बुद्धिष्ट धर्मको प्रचार- प्रसार गर्न आफ्ना छोरा लगायत आफ्ना कुरा मान्नेहरूलाई खटाए । जसका कारण भारतमा ९५% सम्म बुद्धिस्ट भएका थिए । फेरि, आठौँ सताप्दीमा शंकराचार्यले बुद्धिष्टहरुको नामो निशान हटाउन कुनै कसुर बाँकी राखेनन् ।

हिन्दु आरध्य देव श्री पशुपति मन्दिरको उत्तर पट्टि भगवान् बुद्धको सानो चैत्य छ । मन्दिर घुम्दै जाँदा त्यहापनि सबैले दर्शन गर्छन् । बौद्धको स्तुपा रहेको स्वम्भु नाथमा हिन्दु आस्था जहाँ हारती माताको पनि मन्दिर छ । सबै भक्तजनहरूले दुवै भगवान् बराबर ठानी पूजा गर्छन् । बुद्धको जन्मभूमिका भक्तजनहरूका लागि दुवै समान छन् । स्वयम् बुद्ध नै सनातन धर्मको परिवेशमा जन्मे हुर्केर २९ वर्षसम्म बस्नु भयो । उहाँले कहिल्यै पनि हिन्दु वा कुनै धर्मको विरोध गर्नु भएन । तर भारतमा भने हिन्दु र बूद्धिष्टहरुका बिच त्यस्तो सौहार्द सम्बद्ध रहेको देखिँदैन ।

हामी गर्वकासाथ भन्ने गर्छौँ, विश्व शान्तिका दूत भगवान् गौतम बुद्ध नेपालको माटोमा जन्मिएका हुन् । तिनै बुद्धको शान्ति मार्गमा आज विश्व उन्मुख भइरहेको छ तर हामी त्यही शान्तिको उद्गम स्थलमा बली चढाउँछौँ । कहिले गढिमाईलाई खुसी पार्न त कहिले कालीका माईलाई खुसी पार्न । हुन त, १७ हजार सोझा जनताका घाँटी रेटेर सत्तामा बसेकाहरूलाई बुद्धको महत्त्व के बुझ्लान् र ?

नेपालको लुम्बिनीमा पनि हरेक वर्ष हुने दीक्षान्त समारोहमा हजारौँको सङ्ख्यामा संसारका हरेक कुनाबाट गएर बुद्धिष्ट हुने गर्छन् । के त्यो वेला नेपालीहरू विदेशी झैँ बुद्धिष्ट बनेर गर्व गर्छौ त ? संसारका कुल जनसङ्ख्याका ७% व्यक्तिहरू बुद्धिस्ट छन् । जुन, अरबौँको सङ्ख्या हो र बर्षौ लाखौँको सङ्ख्यामा बढी रहेका छन् । तर, बुद्ध जन्मेको पवित्र भूमिमा जन्मेका हामी कुल जनसङ्ख्याका केवल ९% मात्र छौ । सङ्ख्याको हिसाबमा करिब २ लाख ५० हजार मात्र छौँ । तर, भारतको नागपुरमा मात्रै बर्सेनि करिब १० लाख बुद्धिष्ट बढी रहेका छन् । नेपालमा बढ्ने क्रमको त कल्पनै नगरौँ । विदेशीले आएर क्रिश्यन र मुस्लिमको धर्मको महत्त्व बुझाई धर्म परिवर्तन गराइरहेका छन् । तर हामी नयाँ पिँढी लाई बुद्ध शिक्षा सिकाउन अग्रसर हुँदैनौँ ।

नेपालका बुद्धिस्ट संस्कार मान्नेहरू अधिकांशहरूमा पनि बुद्धिष्ट शिक्षा पर्याप्त छैन । हामी संस्कार बाट बुद्धिस्ट त भयौँ तर बुद्ध सम्बन्धी शिक्षा लिन कुनै विद्यालय तथा विश्वविद्यालय जान जरुरी ठानेनौँ । जबकि,अरू देशकाहरु शिक्षित भएर बुद्धिस्ट बनेकाहरू मात्र छन् । अमेरिकामा बुद्ध पूजा तथा समारोहहरूमा ठुलो सङ्ख्यामा रहने भिक्षु मध्य आधा भन्दा बढी त विद्यावारिधि बालाहरू भेटेको छु । उच्चतम नभए पनि उच्छ शिक्षा हासिल गरेकाहरू अधिकांश हुन्छन् । तिनै मध्यका एक हुनुहुन्छ अमेरिका भरिका बुद्ध मन्दिरका सबैभन्दा माथिल्ला दर्जाका गुरु अहङ्गाम धर्मारामा ।

उहाँ सँगको दर्शन भेटमा मेरा केही जिज्ञासाहरू रहे । जस मध्य, तपाईँ बुद्ध मार्गी परिवारमा जन्मिनु भएको भए पनि भिक्षु नै चाँहीं किन बन्नु भयो भन्ने मेरो जिज्ञासामा उहाँले “आफ्नो टोलमा भएको भोजमा एक जना १४ वर्षीय सुन्दरी फुड पोइजन भएर सिकिस्तै भइन् । आत्तिँदै गएर औषधी ल्याएर खुवाएँ तर उनीलाई बचाउन सकिएन । हेर्दा हेर्दै मेरै आँखा अगाडि उनले सबैको बिचबाट सदाका लागि बिदा भइन् । मानवको मृत्यु यति कष्टकर हुँदो रहेछ । जीवनको भरोसा रहेनछ भनी विरक्त लाग्यो । अनि म भिक्षु बनेँ, ध्यान मार्गमा लागे “भन्नु भयो । 

गुरु धर्म के हो ? वहाँको सरल र नम्र उत्तर थियो” एक अटल विश्वास !” मृत्युले सँग डर लाग्दैन भन्ने प्रश्नमा भन्नु भयो ” भौतिक जीवनसँग कुनै माया मोह हुँदैन हाम्रो । त्यसैले त हामी भिक्षु मान्दिन्छौ” । जीवको अन्त एक दिन निश्चित छ । कसैलाई आफ्नो मृत्युको तिथि, मिति,वार थाहा हुँदैन । जहिले सम्म बाँचिन्छ त्यही हाम्रो जीवन हो । चाहेर कोहिपनि कम वा बढी बाँच्न सक्दैन । आत्महत्या, दुर्घटना, कुनै पनि घटनामा परि अल्पायु मै मृत्यु भयो भन्छन् तर त्यसो होइन । उसको जीवन नै त्यति नै थियो । यी सबै कुरा बुझेरै त मैले सन्यास लिएको हुँ ।

“प्राय सबै धर्मका धर्म ग्रन्थहरू पढेर तुलना गर्दा बुद्धका आदर्शमा व्यवहारिक र वास्तविक जीवन भित्रका यथार्थता पाउँछु । हामी बुद्धका आदर्श र बानीहरूका अनुयायी हौ, अन्य धर्ममा जस्तो भगवानका अन्धा भक्त होइनौँ” भन्नु भयो ।

धेरै अनुभव र अध्ययनबाट प्राप्त प्रमाणपत्र, प्रशंसापत्रले सजिनु भएका भिक्षुले २० वटा भन्दा बढी बुद्ध मार्ग सम्बन्धी पुस्तक समेत लेखि सक्नु भएको छ ।

तपाईँ जस्तो विद्वानले बुद्ध मार्गमा आकर्षण गर्न के तरिका अपनाउनु भएको छ भनी जिज्ञासा राख्दा वहाँको प्रतिक्रिया थियो” कसैलाई बुद्धिष्ट बनाउने कोसिस गर्दैनौ । किनकि, बुद्धले भन्नु भएको छ, पढेको, सुनेको र जन्मको आधारमा नभएर आफ्नो अन्तरज्ञानले महसुस गरेको कुरालाई विश्वास गर । त्यसमा निखारता ल्याउन मात्र गुरुकोमा जाऊ । त्यसैले कोही आएर मसँग केही जिज्ञासा राख्छन् भने म मेरो बल बुद्धिले भ्याए सम्म बुझाउने कोसिस गर्नेछु” ।

अर्को जिज्ञासा राखे, तपाईँका पाँच जना दाइहरू र एक जना दिदीमा सबै विवाहित हुनुहुँदो रहेछ भौतिक सुख, सुविधा, मोज, मस्तीको जिन्दगी बिताएको देखेर कहिले काहीँ आफू भिक्षु बनेर गल्ती गरे जस्तो लाग्दैन ? मन्द मुस्कानमा वहाँको जवाफ” बुद्धले २९ वर्षाको उमेरमा यो संसार बुझेर वैराग लिई शान्तिको मार्ग खोज्न हिँड्नु भएको थियो । म १६ वर्ष मै हिँडे । जसले जति कमाए पनि जे जे गरे पनि मर्ने बेलामा शान्ति खोज्छ । मेरा दाइहरू र दिदीले जिन्दगी भर दुखी भएर सङ्घर्ष गरिरहे मर्ने बेलामा पनि दुखी नै भएर कोही मरे । कोही पिल्सिई रहेका छन् । म १६ बर्से उमेर देखी नै भिक्षु भएर शान्तिको पथ रोजे र शान्तिमय दिनचर्या बित्दै छन् ।

मेरो अन्तिम अनि गम्भीर जिज्ञासामा; यो जगतका प्राणीहरूमा सेक्स अपरिहार्य छ भन्छन् । तपाईँ भिक्षु भए पनि प्राणी त हो नि । कहिले काहीँ राम्री केटी देखेर मन लोभिएन ? उहाँले भन्नु भयो ” हो राम्री त लागे तर सेक्सको चाहना भएन । योगले, ध्यानले आत्मबल र सहनशिलतामा प्रबल बनाउँछ । म भिक्षु हुँ । मलाई भौतिक संसार सँग कुनै लालच छैन । त्यसैले सेक्समा लालच हुने कुरै भएन । पुन: जिज्ञासा राखेँ, अहिले सम्म कोही सँग सेक्स भएकै छैन त ? गुरुको सरल र मिठो प्रतिक्रिया यस्तो थियो “आहार व्यवहार, सङ्गतले यो दिमागमा त्यस्तो चिजको चाहना हुने हो । हामी भिक्षुहरूको दिन चैर्या मात्र नभएर दिमाग पनि सन्यासी नै हुन्छ । अधिकांश समय ध्यान र अध्ययनमा बित्छ । बाँकी समय लेखनमा बित्छ । सेक्सको कुरा गर्नु भयो स्त्रीसँग त कुरै छोडौँ आजका मिति सम्म सपनामा नाइट फल पनि भएको छैन” ।