अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

त्यो अकल्पनीय कहालीलाग्दो क्षण: २०७२ सालको महाभूकम्प

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७६ वैशाख १२ गते २३:२९ मा प्रकाशित

यस्तो विपत् त शत्रुलाई पनि आइन लागोस्

कुनै कुनै बेलाका घटना बिपनामा त के कुरा सपनामा पनि सम्झन मन लाग्दो रहेनछ । तिनलाई जति बिर्सू भने पनि बिर्सनै नसकिने रहेछ । त्यस्तै घटना हो २०७२ साल वैशाख १२ गते शनिवार ११.५६ बजे आएको महाभूकम्प । नेपालको इतिहासमा एउटा भयानक कालो क्षण, नेपाली धर्ती सारै रिसाएको बेला । त्यस दिन बिहान मेरो घरमा बेलायतबाट आएका साहित्यकार सुमलकुमार गुरुङसँग बिहानभर विश्व साहित्य एवं नेपाली डायस्पोरा साहित्यबारे छलफल गरियो र ११ बजेतिर खाना खाइयो । उनलाई बिदा गरी ओछ्यानमा ढल्किएर टिभी खोलेको मात्र के थिए, प्रकृतिले उत्पात मच्चाइहाल्यो । घटटट… आवाजका साथ एक्कासि घर हल्लिन थाल्यो, घर के भनु पृथ्वी नै हल्लिन थाल्यो । हत्तपत्त उठेर मुस्किलले ढोकासम्म पुगियो । ढोकाको चौकोससमेत समाउन सकिएन, एकातिर समाउन खोज्दा अर्कातिर र पुनः समाउन खोज्दा अर्कातिर… डोरीले कोक्रो हल्लाएजस्तो… । बल्लतल्ल चौकोस समातियो र आफू पनि चौकोससँगै यता र उता… । क्षणभरमा यस्तो घटना घट्यो कि त्यतिखेर के भयो कसो भयो भनी शब्दमा व्यक्त गर्नै कठिन छ । वास्तवमा अप्रत्याशित रूपमा सारै ठुलो आपत् एक्कासि आइलाग्यो भने मानिस मस्तिष्क शून्य प्रायः हुँदो रहेछ । त्यस्तो बेलामा मन, मस्तिष्कले कामै गर्दाेरहेनछ, कुनै सोचाइ नै आउँदो रहेनछ ।

एक मिनेट जति (५६ सेकेन्ड) पछि कम्पन केही मत्थर भयो र हत्तपत्त बाहिर निस्किइयो । बाहिर खेतमा निस्किएर बल्ल घरका अरू सदस्य कता छन् भनी खोजियो । बुढी र ठूली छोरी विभु घरभित्रै रहेछन् । उनीहरू पनि असिनपसिन गर्दै बाहिर आए । सानी छोरी ऋभु घरमा थिइन । केही बेरमा दौडँदै आइपुगी । सामान्य बेलामा चन्द्रमा खसाइदिन्छु भन्नेले पनि आपतका बेला सम्झिने आफूलाई मात्र हो । साँच्चै भनौ भने आपतका बेला सबैले गर्ने माया भनेको आफैलाई मात्र हो अरू त पछि मात्र सम्झिइन्छन्… । 

परिवार एकत्रित भइसकेपछि अलि ढुक्क भइयो र चारैतिर आँखा डुलाइयो । जताततै धुलाले कुइरीमण्डल… । नैकापपारि पट्टिको पुलडोल डाँडो धुलाले ढपक्कै ढाकिएको देखियो । धुलाको मुस्लो उडेको देख्दा भूकम्पको केन्द्रबिन्दु नै त्यही परेछ र त्यो डाँडो पुरै भत्किएछ जस्तो लाग्यो तर केन्द्रबिन्दु गोर्खाको बार पाक भन्ने ठाउँमा भएको कुरा पछि थाहा भयो । चारैतिर त्यत्तिकै धुलो उड्याउड्यै छ । चराचुरुङ्गी अतालिएर आकाशमा रङ्मङ्गिरहेका छन् । कुकुर रोइरहेका छन् । सर्प आत्तिएर बाहिर निस्केका छन् । वातावरण पुरै कहालीलाग्दो छ । सर्वत्र सन्नाटा छाएको छ । वरपरका सबै मानिस घरबाहिर खेतमा उभिएका छन् । कसैको बोली फुटेको छैन । किंकर्तव्यमूढ छन् । भूकम्पको धक्का रोकिएको छैन आएको आयै छ । केही क्षणपछिदेखि मानिसहरू आफन्तसँग सम्पर्क गर्न प्रयास गर्न थाले तर कसैका मोबाइल कतै लागेन । घरका ल्यान्डलाइनमा घण्टी बजिरहेका छन् । घरभित्र पस्ने कुरै भएन । जीवनमा अनेक सङ्कट बेहोरियो तर यस्तो अद्भुत अनुभूति कहिल्यै गरिएको थिएन ।

धरहरा ढल्यो रे, काष्ठमण्डप लड्यो रे, दशरथ रङ्गशाला भत्कियो रे, काठमाडौँ सहर ध्वस्त भयो रे जस्ता रेरेका हल्ला हावासरि फैलिए । कतै फोन सम्पर्क नहुँदा पनि यस्ता हल्ला कसरी आए भन्ने कुरा अनौठै थियो । एक कान दुई कान मैदान भनेको यस्तै होला ।

यत्तिकैमा कीर्तिपुर नयाबजारको गेट भत्किएर गाडीलाई किच्यो रे, गाडीका मान्छे पनि मरे रे भन्ने हल्ला आयो । त्यतिखेर मलाई त्यतैतिर दौडिने विचार आएछ । म कसैलाई केही नभनी दौडँदै नयाबजारतिर लागे । अरू केही मान्छे पनि पछिपछि लागे । कसैको कसैसँग बोलचाल गर्ने मनस्थिति छैन । नयाबजार नजिकै ग्यारेजका छेउको बाटो पुरै चिरिएको रहेछ । त्यहाँबाट फर्केर अर्को बाटो जाँदा धेरै बेर लाग्ने ठानी त्यहीबाट दौडिएर पार गरियो । बाटैमा त्रिविका उपकुलपति डा. हिराबहादुर महर्जनसँग भेट भयो । उनले त्रिवि केन्द्रीय कार्यालय भत्कियो भन्ने हल्ला आएको कुरा सुनाए । केन्द्रीय कार्यालय एक तला पुरै भासिएछ । कस्तो विचित्र… ।

म त्यहाँबाट पनि दौडँदै नयाबजार पुगे । त्यहाँको गेट यथावत् उभिएको देख्दा केही ढुक्क भइयो । त्रिवि परिसरतिर अगि बढ्दै जाँदा तीनकुनेको गेट ढलेको देखियो । त्यसले एउटा पिकअप भ्यान खच्याकखुचुक पारेछ । गाडीमा तीन जना रहेछन् । अगिल्लो सिटमा बसेका दुई जना घाइते भएछन् । पछिल्तिरको सिटमा बसेको मान्छे ठाउँको ठाउँ खुत्रुक्कै… । त्यो दृश्यले मुटु चसक्क गर्‍यो । पुलिस स्काभेटरले बाटो पन्छाउँदै थिए । घाइतेलाई अस्पताल पठाइसकिएको थियो । लास सडक छेउमै लडाएको थियो । ज्यान पनि सारै मोटो रहेछ । धनकुटातिरबाट घुम्न आएका रे भन्ने कुरा सुनियो । कस्तो दुर्भाग्य भनौ वा संयोग नै भनौ । एक सेकेन्ड मात्र यताउता भएको भए त्यहाँ कसैलाई केही हुने थिएन । लेखान्त हो कि संयोग ?

त्यो स्ववियुले बनाएको गेट रे । वास्तवमा त्यो गेट बनाउने ठाउँ नै थिएन । यही दुर्घटना निम्त्याउन बनाएजस्तै भयो । त्यसमा जग फिटिक्कै रहेनछ । सदाचारको खडेरी लागेपछि कसको के लाग्छ र ? विद्यार्थीसमेत भ्रष्टाचारमा संलग्न भएपछि∕राजनीतिकर्मी र कर्मचारीतन्त्र भ्रष्टाचारको दलदलमा फसेको त सर्व विदितै छ तर विद्यार्थी भ्रष्टाचारमा फसेको चाहिँ त्यही गेटले देखाइरहेको थियो ।

यी सब घटना आधा घण्टा बिचका हुन् ।

त्रिवि परिसरभरि मान्छेको घुइँचो छ । म त्यो घुइँचो छिचोल्दै दौडिएर घर आइपुगे । वरिपरि टोलछिमेकका केटाकेटी, बूढाबूढी सब जना मेरै घरअगाडि खेतमा जम्मा भएका रहेछन् । सुत्केरी महिला रोइरहेका छन् । बच्चाको त के कुरा भयो र ? सबलाई सम्झाउँदै हैरान । अरू कसैको पनि बोली फुटेको छैन । भूकम्पको धक्का निरन्तर छ ।

एक्कासि सारै ठुलो आपत् आइलाग्यो भने दिसा पिसाब पनि आएको आयैजस्तो हुने रहेछ । जाने ठाउँ कतै छैन । घरभित्र पस्ने कुरै भएन… । धत्तेरी… कस्तो आपत्… । बूढाबूढी र केटाकेटीलाई त खेतको एउटा कुनामा पिसाब गराइयो, आफ्नो भने कन्तबिजोग ।

अब मोबाइल अलिअलि चल्न थाल्यो र आफन्तसँग सम्पर्क हुन थालेपछि केही चहलपहल बढ्यो । आफन्तजन सकुशल रहेको थाहा पाएपछि अलि होस खुलेकोजस्तो भयो ।

भूकम्प कति रेक्टर स्केलको हो भन्ने पनि टुङ्गो भएन । ८.२, ८.१, ७.९, ७.८, ७.६ आदि अनेक हल्ला आए । पछि ७.८ भन्ने टुङ्गो लाग्यो । गणितमा यसको मापन जति भए पनि उत्पात मच्चाइहाल्यो, जनधनको नोक्सान कति पु¥यायो कति । घरको छेउछाउ छोडेर सारै टाढा जान सकिने अवस्था नभए पनि एकै ठाउँ“मा बस्न पनि सकिएन । चक्रपथसम्म पुगेर फर्कने विचार गरी हामी दुईतीनजना ओरालो लाग्यौ । कुशेश्वर महादेवनाथका छेउमा बनाएको घर लगभग ध्वस्त भएको देखियो । अलिक तल बल्लभमणि दाहालका घरको छेउछाउका घर जगैदेखि अत्यधिक चर्किएका रहेछन् । केही त ढलेका पनि । यी सब हृदयविदारक दृश्य हेर्दै चक्रपथ पुगेर चल्तीको बाटो घरतिर फर्किइयो । त्यहाँ“ नजिकै एउटा चाइनिज इँटाको घर सिसाझैँ चर्किएको र त्यसका अगिल्तिरको सरदार जीको चार तले घर पुरै भत्केको देख्दा आँखाबाट अनायास आँसु आएछ ।

स्टोरका रूपमा प्रयोग गरिएको त्यस घरमा भ्याकुम क्लिनरलगायतका अनेक सामग्री यत्रतत्र छरिएको देख्दा निकै विरक्त लाग्यो । धन्न त्यतिखेरसम्म कसैले लगेका चाहिँ रहेनछन् । पछिको त कुरै नगरौँ । यी सब कारुणिक दृश्य हेर्दै हामी घरका छेउमा आइपुग्यौ ।

क्रमशः रात पर्दै गयो । अब खेतमा जम्मा भएका मान्छेलाई के खुवाउने भन्ने समस्या आइलाग्यो । म एक जना छिमेकीलाई लिएर खानेकुरा खोज्न हिँडे । वरपरका पसल सबै बन्द रहेछन् । केही खुलेका पसलमा पनि चाउचाउ, चिउरा, बिस्कुट केही छैन । टाढा जाने आँट छैन । एकजनालाई फकाएर पसल खोल्न लाइयो र भएभरका चाउचाउ, चिउरा, बिस्कुट बोकेर आइयो । पानी तीन जार मात्र रहेछ त्यही ल्याइयो । आतङ्कित भएका सबैलाई जुस खुवाउँछु भनेर फकाएको थिए तर नजिकै जुस पाइएन । अलि टाढै गएर जुस ल्याई खुवाए । सबका अनुहार केही क्षण उज्यालिए । सबले चिउरा दालमोठ यति मिठो मानेर खाए र खाइयो । वास्तवमा छाकै टार्ने गरी जीवनमा पहिलो पटक यसरी चिउरा दालमोठ खाइएको थियो ।

अब रात कसरी काट्ने भन्ने पिरोलो हुन थाल्यो । पाल खोज्न यताउता गइयो तर कतै पाइएन । मैले पहिले घर बनाउँदा किनेका दुईवटा पाल थिए तर ती पनि कहाँ हो कहाँ ? पाल खोज्न आँट गरेर माथिल्लो तलाको स्टोरमा गइयो । पाल फेला पारियो र निकालियो । डोरी नभेट्टाएर टेलिफोनको तारले पाल टाँगियो तर हावाहुरी र पानीले उत्पात मच्चाइहाल्यो । कसैको केही लागेन । एकातिर भूकम्प, अर्कातिर हावाहुरी र पानी ∕ बाफ रे बाफ प्रकृतिको आक्रोश पनि ∕ प्रकृतिसँग कस्तै मै हु भन्नेको पनि केही नलाग्ने । अब खेतमा बस्न नसकिने भइयो । केहीलाई छिमेकीको सटरमा र केहीलाई बरन्डामा बस्न कन्भिन्स गरियो । सुरुमा त मानेनन् तर विकल्प नभएपछि के गर्ने, सबैले त्यसै गरे । हामी आफ्नै घरको भुइतलामा बस्यौ । सबैलाई घरको ढोका र बाहिरी गेट नलगाई बस्ने, भूकम्प आएमा नदौडिने बिस्तारै बाहिर निस्कने भनियो र त्यसै गरियो । छिनाछिनमा भूकम्प आएको आयै… । रातभर भित्रबाहिर गर्दै लामखुट्टेलाई टोकाउँदै बिताइयो । बत्ती नभएकाले सबतिर अन्धकार छ । आँखा झिमिक्क नगरी उज्यालो भयो ।

अर्को दिन बिहान घरभित्रबाट सामान ल्याएर बाहिरै पकाउने भन्ने पनि सोचियो तर त्यसो गर्ने हिम्मतै आएन र चिउरा दालमोठमै गुजारा चलाइयो । दिउसो १ बजेतिर म एक जना छिमेकीलाई लिएर गफ गर्दै त्रिवि परिसरतिर लागे । हामी केही पर पुग्ने बित्तिकै कुखुरो बास्यो । घडी चरो भनिने कुखुरो बास्ने निश्चित समय हुन्छ जुनसुकै बेला कुखुरो बास्दैन । बेला न कुबेला कुखुरो बास्नु शुभ सङ्केत होइन भन्ने ठानिन्छ । हामी यस्तै यस्ता कुरा गर्दै गोलघरनिर पुगेका मात्र के थियौ“ एक्कासि ठुलो आवाजका साथ पृथ्वी हल्लियो, धाजा फाटेर पृथ्वी नै उलटपलट होला जस्तो गरी । हामी दुई जना एकअर्कालाई समातेर उभियौ । छेउमा एउटा ट्रक थियो । त्यो पल्टिँदै उठ्दै गरेजस्तो लाग्थ्यो । कम्पन केही रोकिएपछि हामी घरतिरै फर्कियौ, सब आतङ्कित । भूकम्पको मापनमा पनि अनेक कुरा आए । ६.४ रेक्टर स्केलमा टुङ्गो लाग्यो । यसपछि त कुखुरा, काग, कुकुर आदि जे कराए पनि सब आत्तिन थाले । भूकम्प आउने सङ्केत मानिसले भन्दा पहिले जनावरले थाहा पाउँछ भन्ने कुरो सत्यजस्तो लाग्यो ।

विश्वविद्यालय एक हप्ताका लागि बन्द गरियो । त्रिवि परिसरभरि पालैपालो टाँगिएका थिए । त्रिवि परिसर मात्र के नेपाल नै पालमा परिणत भयो । घडी भवनलगायतका अन्य भवनका बाहिर बरन्डामा खुट्टो राख्ने ठाउँ थिएन । सब मान्छे भरिभराउ । भूकम्प आएका बेला त्यहाँबाट भाग्दा कतिले खुट्टा भाँचेछन् कतिले मर्काएछन् । तिनको औषधोपचार गरियो ।

त्रिवि केन्द्रीय कार्यालय भत्किएको प्रकृति हेर्दा त्यसले भ्रष्टाचारको उत्तम नमुना प्रस्तुत गरेको देखिन्छ । त्रिविका अरू थुप्रै भवनहरू पनि भत्किएका छन् र सबैजसो कार्यालयहरू अनेकतिर सारिएको छ । यहाँको सर्वाधिक महत्त्वपूर्ण ठाउँ केन्द्रीय पुस्तकालयमा ठुलै क्षति पुगेको भए पनि सब जना मिलेर पुस्तक नष्ट हुनबाट जोगाइयो ।

बत्ती छैन । सबतिर अन्धकार छ । मकहा इन्भर्टर भएकाले सबका मोबाइल चार्ज गर्ने ठाउँ बन्यो । खुर्र आयो चार्जमा राखिदियो दौड्यो अनि केही समयपछि खुर्र आयो मोबाइल बोक्यो कुद्यो । धन्न तीन दिनसम्म सबका मोबाइल चार्ज गर्न पुग्यो । तीन दिनपछि बल्ल बत्ती आयो ।

हामी भाते नेपाली । राम्ररी भात नखाएको पनि तीन दिन भइसकेको थियो । डराइडराई मौका छोपेर घरभित्र पसी भात पकाइयो र बाहिर लगेर खाइयो खुवाइयो । यसअगि एक दिन छिमेकीले गुन्द्रुक भात खुवाउँदा अमृतजस्तै भएको थियो ।

धरहरा ढल्दा थुप्रै मानिसको ज्यान गयो । धरहरा ढलेको देख्दा मेरो आस्थाको धरोहर ढलेजस्तो लाग्यो । यो हाम्रो ऐतिहासिक सम्पदा र राष्ट्रिय पहिचान थियो । प्रतिगामी पञ्चायतले गरेको भन्दा भिन्न काम गर्नुलाई अग्रगामी भन्ने लिडेवृत्तिले यसमा मान्छे चढाउन ठेक्का दिइयो । मैले त निकै पहिले नै सार्वजनिक रूपमै यसमा मान्छे चढ्न दिनुहुन्न भनेको थिए तर कसैले सुने पो ! कतिपय नेताहरूले धरहरा चढेको दृश्य टिभीबाट पनि देखाइयो तर ढलेका दिन सर्वसाधारण मात्र… । तथाकथित सत्तासीनहरूले गरेभन्दा भिन्न ढङ्गले राष्ट्रिय हितका कुरा गरे पनि ती सबै प्रतिगामीमा दरिन्छन् । खासमा धरहरा मान्छे चढाउने चिज नभएर ऐतिहासिक स्तम्भका रूपमा पूजा गरेर राख्नुपर्ने चिज थियो । यसमा मानिस चढ्न खुला नगरिएको भए थुप्रैको ज्यान बच्थ्यो तर… ।

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर आदि प्रायः ध्वस्त भए । एउटा पशुपतिनाथको मन्दिर बच्यो । त्यो शक्तिले हो कि मजबुत निर्माणले हो कसैलाई पत्तो भएन । राज्यको मूल प्रशासनिक केन्द्र सिंहदरबारका साथै सर्वोच्च अदालत पनि बस्न नहुने भएर सब कार्यालय पालबाटै सञ्चालित हुन थाले ।

कतिपय मानिसहरू भग्नावशेषबाट पुराना सामान चोर्ने त के कुरा खुलेआम बोकेर हिँड्न थाले । धरहराका श्री ३ जुद्ध लेखिएका इँटा कतिपय हाकिमहरूले नै आफ्ना ड्राइभरलाई लगाएर बोराका बोरा उठाएको पनि देखियो । अरू कतिले केके लगे पत्तो छैन ।

नेपाल भूकम्प जोखिम क्षेत्र हो, यहाँ जतिखेर पनि भूकम्प आउन सक्छ भनेर पहिलेदेखि नै विदेशी दुनियाँले सचेत गराएकै हो । नेपालमै पनि बेलाबखत फलाकेकै हुन् तर पूर्वतयारी शून्य … । हामी जिब्रो मात्र चलाउन सिपालु जाति ।

भूकम्प आएमा खाटमुनि लुक्ने भनी सिकाइएको कुरा पनि निरर्थक साबित भयो । यसमा पहिलो कुरा त सबैजसोकहाँ बक्स खाट छन् त्यसमा कता मुनि जानु ? खुट्टे खाट पनि दुई लाइनको प्लाइउडबाट बनेका, उस्तै परे अलि मोटो मान्छे बस्दा नै खर्याकखुरुक हुने… । भूकम्प आउँदा खाटमुनि बस्नुपर्छ भन्ने शिक्षा दिइएका कारण घरबाहिर खेल्दै गरेका केटाकेटी पनि कुदेर घरभित्र पसी खाटमुनि लुक्दा घरले किचेर कतिले ज्यान गुमाए ।

वैशाख २१ गते एक दिन खोलेर २२ गतेदेखि १ महिनासम्म त्रिविलगायत सम्पूर्ण शैक्षिक संस्था बन्द गरिए । सरकारी कार्यालय घोषित रूपमा बन्द नगरिए पनि अघोषित रूपमा बन्दजस्तै भए । २१ गतेका दिन विभागमा सबैजसो उपस्थित भइयो । सबैले आआफ्ना अनुभव र क्षतिको विवरण सुनाए । एकजनाले भूकम्प आउँदा आफू घरैमा भएको र ढल्दै गरेको दराजलाई समातेर त्यसलाई लड्न नदिई उभिएको भन्ने अपत्यारिलो कुरा सुनाए । त्यो कुरा सुनेर सब हासे । त्यहाँ हाँस्नुको विकल्प थिएन ।

एक महिना बिदामा विभिन्न आफन्त र साथीभाइकहाँ गएर सान्त्वना दिइयो । संसारभरबाट चिनजानका बाहेक सोच्दै नसोचेका सारै धेरै व्यक्तिले समेत फोन गरेर हालखबर सोधे र ढाडस दिए । यसबाट साथीभाइ कमाइएकै रहेछ जस्तो लाग्यो ।

भूकम्पका बेला सञ्चार माध्यमको भूमिका सकारात्मक–नकारात्मक दुवै खाले देखियो । रेडियो नेपालले सुरुकै दिनदेखि निरन्तर रूपमा समाचार अद्यावधिक गरी आम जनमानसलाई सुसूचित गराउने काम गरिरह्यो भने अरू सञ्चार माध्यम केही दिनपछि मात्र देखिए । नेपाल टेलिकमको उदारमना एक जना व्यक्तिको एकल निर्णयले केही दिनका लागि मोबाइल सेवा निःशुल्क गरेर जनतालाई ठुलो राहत प्रदान गर्‍यो । भारतीय सञ्चार माध्यमले त नकारात्मक प्रचारप्रसार नै बढी गरे ।

धेरैले विद्युतीय सञ्चार माध्यमको पर्याप्तै दुरुपयोग गरेको पनि देखियो । सञ्चार माध्यमले भत्किएका संरचनालाई मात्र बढी फोकस गरेर पटक पटक देखाएका कारण विदेशमा बस्ने नेपालीहरूलाई बढी आतङ्कित तुल्याउने काम गर्‍यो । भूकम्पकै कारण थुप्रै व्यक्तिहरू केही दिनका लागि घर आए र फेसबुकमा फोटो हालेर फर्किए । अमेरिकाले त इलिगल बसेकालाई समेत नेपाल आउन छुट दिएकाले त्यसको उपयोग पनि धेरैले गरे ।

गृहमन्त्रीलगायत अन्य मन्त्रीहरूका गैरजिम्मेवारपूर्ण अन्तर्वार्ता र अभिव्यक्तिहरू पनि प्रशस्तै आए । जनताले केही नपाएका बेला मन्त्री र सांसदहरूलाई पाल बाँडिएकोमा सरकार निकै आलोचित भयो । यस्ता कुरालाई सञ्चारले निकै महत्त्वका साथ प्रचारप्रसार पनि गर्‍यो ।
यसपटकको भूकम्पका बेला फेसबुके समाचारले त गर्नु गर्‍यो । एक दुई प्याकेट चाउचाउ, बिस्कुट र दुईचार बोतल पानी बाँडेका फोटा फेसबुकमा हाल्ने होडबाजी नै चल्यो । मैले विभिन्नतिर सकेसम्म सहयोग गरे तर फेसबुकमा फोटो भने एउटा पनि राखिन । मलाई मानवीय सहयोग गर्नु थियो अनावश्यक प्रचारप्रसार गर्नु थिएन ।

भूकम्पका बारेमा कविता, गीत, गजल आदि अनेक साहित्यिक रचनाले फेसबुक भरियो । बेलाबखत आइरहने भूकम्पको पराकम्पनलाई मिस्डकलको नाम दिइयो ।

व्यापारीहरूले सामान लुकाएर खुलेआम कालोबजारी गर्न थाले । त्यतिखेर निरङ्कुश भनिएका राणा शासक जुद्धशमशेरले १९९० सालको भूकम्पका बेला ‘कालोबजारी गर्नेलाई मकहाँ ल्याउनु पर्दैन, पाचजना भलादमी जम्मा भएर काटिदिनु’ भनेको कुरा महावाणीका रूपमा छ्याप्छ्याप्ती फैलाइयो । समयक्रममा निरङ्कुश भनिएकालाई पनि सम्झिएर गुणगान गाउने दिन आउदोरहेछ । १९९० सालको भूकम्पबारे ब्रह्मशमशेरद्वारा लिखित पुस्तक भूकम्प विश्लेषणको आधार बन्यो ।

मित्र राष्ट्र भारत, चीनलगायत विभिन्न देशले सहयोगका हात फैलाए । उद्धार कार्यमा सैनिक, डाक्टर आदिको टोली धमाधम आउन थाले र तिनले कतिको ज्यान र धन बचाए पनि । भुटानबाट राहत सामग्री लिएर प्रधानमन्त्री नै आए । सबैको आँखा नेपालमा पर्न थाल्यो र सबले मानवीय सहयोग पनि गरे । विभिन्न मुलुकबाट हवाईजहाज र हेलिकोप्टरको ओइरो नै लाग्न थाल्यो । अन्यत्र जे भए पनि धन्न हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल केही भएन नत्र… । बेलायती हेलिकोप्टरलाई प्रवेश दिइएन । यसको राजनैतिक अर्थ लगाइयो । एउटा अमेरिकी सैनिक हेलिकोप्टर दुर्घटना भई केही नेपाली र केही अमेरिकी सेनाको ज्यान गयो । कतिपय तथाकथित महान् राष्ट्रवादीहरूले मानवीय सहयोगलाई खोक्रो राष्ट्रवादसँग जोडेर व्याख्या गरे तर आपतका बेला गरेको सहयोगमा यसो गरिनुको कुनै औचित्य थिएन । राहत घोषणाका अनेक समाचार आउन थाले । विभिन्न अभिनेता, फुटबल खेलाडीलगायत अनेकले नेपालका भूकम्प पीडितलाई यति र उति सहयोग गर्ने भन्ने समाचारले फेसबुक भरिन थाले । पछि तिनका खण्डन पनि आए ।
राष्ट्रपतिदेखि सामान्य जनतासम्म पालमा बस्न बाध्य भए । अझ भनौ करोडपति पनि रोडपति हुन पुगे । अगिल्लो दिन करोडौँमा घर पास गर्ने व्यक्ति १२ गते दिउसो घरले किचेर मरेको पनि सुनियो । चर्चभित्र थुनिएर पनि कैयौले ज्यान गुमाएको अनि चर्चमा प्रार्थना गरिरहेकाहरू नारायण नारायण, हरे राम, हरे कृष्ण भन्दै बाहिर भागेका कुराले पनि प्रशस्तै चर्चा पायो ।

सरकारले गोर्खा, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे गरी १४ वटा भूकम्प प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा त गर्‍यो तर त्यस अनुरूप काम भएन । यसलाई पछि उपत्यकामा मात्र सीमित गरियो । यीमध्ये कतिपय ठाउँमा त एउटा पनि सग्लो घर बाकी रहेनन् । अलिअलि पनि नचर्किएका घर भेट्टाउन शिला खोजे झै गर्नुपर्ने स्थिति देखियो । काठमाडौँ उपत्यकामा पनि नयापुराना थुप्रै संरचना भत्किए । कतिपय भत्किएको संरचना सफा गर्न बनाउनभन्दा पनि असहज भएको पनि देखियो ।

वैशाख २९ गते १ बजेतिर अर्को ठुलो भूकम्प आयो । रेक्टर स्केलमा भने पहिलेजस्तै विविधता । अमेरिकाले एक थोक, चीनले अर्को थोक, नेपालले अझ अर्कै थोक भने । वास्तवमा यो मुद्राको सटहीदार परिवर्तन भएजस्तो त होइन नि । अन्त्यमा ६.८ मा टुङ्गो लाग्यो ।

१२ गतेको ७.८, १३ गतेको ६.४ र २९ गतेको ६.८ रेक्टर स्केलको भन्ने कुराको निर्णय संसद्ले गर्‍यो रे । रेक्टर स्केललाई हेक्टर स्फेल भन्ने ल्याप्चेलालहरूले भूकम्पको रेक्टर स्केल मापनको निर्णय गर्ने भएपछि अरू के नै पो बाकी रह्यो र नापिनलाई ।

यस पटकको महाभूकम्पको मापनसम्बन्धी गतिविधि सुन्दा १९९० सालको भूकम्प पनि ८.४ स्केलको नभएको जस्तो लाग्यो । त्यतिखेर नेपालमा भूकम्प मापन केन्द्र नै थिएन भने कलकत्ताबाट नापिएको भनिएको मापनमा पनि के भरोसा र ? अहिलेको यत्रो प्रविधियुक्त बेलामा त यस्तो विविधता भएपछि ।

हाम्रो भूकम्प मापन केन्द्रले चार रेक्टर स्केलभन्दा माथिकाको मात्र विवरण दिने गथ्र्यो र ती लगभग सय दिनका बिचमा ३०० भन्दा बढी पराकम्प आएको र त्यसभन्दा कमका ३२००० भन्दा बढी पराकम्प आएको जानकारी गरायो ।

यति गते यति बजे ठुलो भूकम्प आउँछ घरमा नबस्नू भन्दै हिँड्ने र घरधनी घर छोडेर अन्यत्रै गइसकेपछि चोरी गर्ने गरेको घटना पनि सुनियो । अनेक ज्योतिषीहरू र भूगर्भविद् भनाउदाहरू पनि भूकम्पको भविष्यवाणी गर्न थाले । बर्खामा च्याउ उम्रेजस्तै जताततै भूकम्पविद् उम्रे र जे पायो त्यही भन्न थाले । यसले जनमानसमा झन् आतङ्क फैलायो । यिनीहरूले जानेकै भए १२ गतेअगि नै भविष्यवाणी गरिहाल्थे नि भन्नेतिर धेरैले सोचेनन् । वास्तवमा भूकम्पका बारेमा जान्ने मान्छे यहाँ त के संसारमै कोही पनि रहेनछन् ।

यसपटकको विनाशकारी महाभूकम्पले गरेका धनजनको क्षतिको यकिन आकलन गर्न पनि कठिन छ । फेला परेका लास र बेपत्ता भएका गरी दस हजार जति जन अनि खरबौ धनको क्षति भयो । बस्तुभाउको त कुरै नगरौँ। धन्न भूकम्प बिदाको दिन दिउँसो आएकाले मानवीय क्षति केही कम भयो । राती वा बिदा नभएको दिन परेको भए लाखौँ जनको क्षति हुन सक्थ्यो । यसलाई पनि सकारात्मक रूपमै लिनुपर्छ ।

भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि काठमाडौँमा दाता सम्मेलन पनि गरियो । सरकारले सोचेभन्दा निकै बढी दिने घोषणा गरे दाताहरूले । कतिपय राष्ट्रले त भ्रष्टाचार गरे सहयोग रोक्का गर्नेसमेत भन्न बाकी राखेनन् । भिखारीले कुनै दिन सोच्दै नसोचेको भिक्षा पायो भने रातभर निदाउँदैन रे वा विस्मित भएर मर्छ रे । धेरै ठुलो राशि आउने लक्षण देखेपछि पूर्वप्रधानमन्त्रीहरूसमेत पुनर्निर्माण प्राधिकरणको नेतृत्व लिन जम्जमाउन थाले । राष्ट्रनिर्माणका लागि पदीय मर्यादाको वास्ता नगर्नु राम्रो हो तर त्यो राष्ट्रनिर्माणका लागि हो कि आफू र आफ्ना निर्माणका लागि हो भन्न कठिन भए पनि यिनीहरूका पूर्वगतिविधिलाई हेर्दा जोसुकैको पनि मन पहिलोतिर नभई सोझै दोस्रोमै पुगिहाल्छ ।

यस वर्ष मनसुन कम हुने हल्ला छ । खेत रोप्ने काम पनि धेरै भएको छैन । खासमा यतिखेर मनसुनभन्दा भनसुन कम हुनुपर्ने बेला छ । नत्र सक्कली भूपी (भूकम्प पीडित) ले राहत पाउने सम्भावना न्यून छ । पार्टीका कार्यकर्ता र पहुँचवालाले पटक पटक लिएर वर्ष दिनलाई जोहो गर्ने अनि निर्धा निमुखा ठण्डाराम हुने स्थिति छ । दुर्गमको त के कुरा राजधानी उपत्यकामै पनि सक्कली भूपीले राहत नपाएको गुनासो र आक्रोश यत्रतत्र सर्वत्र छ र यसमा सत्यता पनि देखिन्छ । मेरा केही छिमेकीहरूले तपाईँको पुलिसका उच्च पदाधिकारीसँग राम्रो सम्पर्क छ हाम्रा लागि राहत मागिदिए हुने भनेका थिए तर मैले राहत भनेको साँच्चैका भूपीले पाउनुपर्छ हामीले लिन मिल्दैन भन्दा केही त ठुस्किए पनि ।

यसपटकको भूकम्पलाई सत्तासीनहरूले अवसरका रूपमा पनि व्याख्या गरे र गरिरहेका पनि छन् । त्यो बनाउने अवसर हो कि भोजन भट्ट गर्ने अवसर हो बुझिन सक्नु छ ।

यो भूकम्पले केही राजनैतिक दलहरूलाई भने केही क्षण मिलाएजस्तो देखियो । त्यो भूकम्पले हो कि दिल्लीले हो पुष्टि हुन बा“की छ । हामीकहाँ जनताभन्दा सत्ता प्रिय छ । त्यसभित्रको रसै अर्कै, नवरसभन्दा निकै फरक, ती सबैको मिश्रण ! भूकम्पले क्षतविक्षत गरेको समयमा समग्र सम्पूर्ण मानिसको ध्यान त्यसबाट मोडेर छ वर्षसम्म गर्न नसकेको संविधान निर्माणतर्फ मोडियो । भूकम्पभन्दा केही समयअगि जाजरकोटमा फैलिएको महामारीबारेको समाचार पुरै ओझेलमा परे झै संविधान निर्माणको प्रसङ्ग ल्याएर भूपीसम्बन्धी चर्चा पुरै सेलायो । नेताहरूका दिल्ली धाउने क्रम बढ्दो छ ।

भूकम्पले जनमानसमा केही दिन एकआपसमा मानवीयता, आत्मीयता र आपसी सद्भावको वृद्धि भएको देखियो तर यसले लामो समय लिन सकेन । भूकम्पले अनेक भौतिक संरचना त भत्कायो नै तर मानिसको अलिकति बचेखुचेको नैतिक मूल्य पनि समाप्त पारेको देखियो । राहतका सामग्री मन्त्रीकै निर्देशनमा बेचबिखन हुने गरेको खबर पनि आए र आइरहेका छन् ।

सरकारले निर्माण कार्यलाई केही समय रोकेजस्तो गरे पनि निर्माण कार्यले प्रायः निरन्तरता पाएकै छ । भूकम्पले होइन, मानवनिर्मित संरचनाले ज्यान लिन्छ भन्ने कुरा केही दिनका लागि सबैले बुझे तर धमाधम घर बनाउने काम भइरहेकै छ । यत्रो विध्वंस हुँदा पनि हामीले चेतेनौ । हामी गणेशमानले भने झै साँच्चै भेडा नै हौ कि क्या हो ?

यसपटकको भूकम्पमा सेना, प्रहरी र सशस्त्र प्रहरीको सक्रियता निकै प्रशंसनीय रह्यो । पहिले प्रहरीलाई खुब गाली गर्नेले पनि अब आफू कहिल्यै गाली नगर्ने भन्ने कसम खाएका कुरा पनि फेसबुकमा आए । यस सङ्कटको घडीमा राजनीतिक दलका कार्यकर्ता जति दुला पसे । नेताको त के कुरा गर्नु ? दुई तीन हप्ता बितेपछि बल्ल छिचिमिराझै देखा पर्न थाले र हामीले यति वटा घर र उति वटा विद्यालय भवन बनाइदियौ भन्दै प्रचारप्रसार गर्न थाले ।

यसपटकको भूकम्पका कारण कैयौँ“ गाउँ“ नै विस्थापित गर्ने स्थिति सिर्जना भयो । गुजरातदेखि हाइटीसम्मका अनेक उदाहरणहरू दिने क्रम निरन्तर छ । लक्षण हेर्दा हाइटीकै अवस्था पुनरावृत्ति नहोला भन्न नसकिने अवस्था छ ।

१२ गतेपछिका सबै भूकम्पलाई पराकम्प भनियो तर ती के हुन् कसैलाई थाहा भएन । पहिले पहिले त भूकम्प आएको केही क्षणपछि पुनः एक पटक फर्किन्छ र रोकिन्छ भन्थे तर यस पटक यो भनाइ निरर्थक साबित भयो । अझसम्म भूकम्प रोकिने छाँट नै छैन । वास्तवमा विज्ञान र प्रविधिले यति धेरै उन्नति गरी जमिनमाथिका अनेक सन्दर्भ र विभिन्न ग्रहहरूका बारेमा प्रशस्तै अध्ययन–अनुसन्धान गरेको पाइए पनि जमिनमुनि वा भूकम्पका बारेमा खासै अध्ययन–अनुसन्धान नसकेकै देखियो । अतीतका भूकम्पको प्रक्रियालाई हेरेर मोटामोटी अनुमान गर्नेभन्दा बढी कसैले केही गर्न सकेनन् । साँच्चै भन्ने हो भने भूकम्प पूर्वानुमान गर्नै नसकिने र यसबारे कसैले पनि केही भन्नै नसक्ने चिज रहेछ । खालि पहिलेका भूकम्पहरूको तथ्याङ्क विश्लेषण गरी अनुमान मात्र गर्ने रहेछन् ।

यसै बिचमा भयानक पहिरो आई काली गण्डकी थुनिएर ठुलो ताल बन्यो, कैयौँ जिल्ला बगाउने स्थिति आयो । धन्न आफै ताल फुटेर पानी बाहिरियो, नत्र के हुन्थ्यो… । ताप्लेजुङमा ठुलो पहिरो गयो । थुप्रै धनजनको क्षति भयो । यस्तै कास्कीमा पनि पहिरोले उत्पात मच्चायो । पहिरोले किचेर राहत बाँड्न गएका केही व्यक्तिको समेत ज्यान गयो । पहिरोले कर्मचारीहरूको आकर्षणको केन्द्र तातोपानी नाका पनि बन्द भयो । भरखर मित्रराष्ट्र चीनको सहयोगमा पहिरो पन्छाउने काम हुँदैछ ।

पहिलो दिन आफ्नै आँखाले देखेको चिरिएको भूमि अर्को दिन पुरै टालिएको देख्दा अचम्मै लाग्यो । उहिले हाम्री सीताजी पनि पृथ्वी चिरिएर त्यसभित्र पसेकी र चिरिएको भाग बन्द भएको कुरा पढिएको थियो । सायद त्यस बेला पनि ठुलो भूकम्प आएको थियो कि ? यसपालि कतिपय ठाउँका पानीका मूल सुकेको र कतिपय ठाउँमा नयाँ मूल फुटेको चर्चा पनि निकै भयो ।

उहिले महाप्रलय भयो, यसो भयो उसो भयो भन्ने किंवदन्ती सुनिन्थ्यो । यी सब भूकम्पकै कुरा रहेछन् । यस पटक प्रलय त आइहाल्यो अलिकति बढेको भए महाप्रलय नै हुन्थ्यो । भूकम्प मापन यन्त्र पनि ९.५ रेक्टर स्केलभन्दा बढीको बनाइएको छैन रे । बनाउनु नै किन पर्‍यो र त्यतिमै नाप्ने नापिने सब खतम हुने भएपछि ।

हाम्रो पुस्ताले पनि अनेक थोक भोग्नु पर्‍यो । २०३६, २०४६, २०६२–२०६३ का राजनीतिक भूकम्प त प्रत्यक्ष देखियो र भोगियो पनि । २०४५, २०६८ र २०७२ का प्राकृतिक भूकम्प पनि प्रत्यक्ष अनुभव गरियो । राजनीतिक भूकम्पले सामान्य सत्ता परिवर्तन मात्र गरे पनि प्राकृतिक भूकम्पले त उस्तै पर्‍यो भने समग्र अस्तित्व नै समाप्त पारिदिँदो रहेछ । हाम्रा डाँडाकाँडा, हिमाल सब कुनै कुनै बेलाका भूकम्पबाटै निर्मित रहेछन् ।
भूकम्प आएको पनि सय दिन कटिसक्यो तर अझै बेलाबखत मिस्डकल दिँदै छ । यो घटना सम्झन खोज्दा अहिले पनि जिउ सिरिङ्ग हुन्छ र सम्झनै मन लाग्दैन । आकाशमा हवाईजहाज उड्दा र बाटामा गाडी गुड्दा पनि भूकम्प आएजस्तो लाग्छ । खाटमा बस्दा होस् वा हिँड्दा जतिखेर पनि हल्लिएजस्तो मात्र लाग्छ । यसपटकका तीन वटा ठुला भूकम्पले र सानातिना पराकम्पले नेपालीहरूको मनमस्तिष्क नै हल्लायो । भुइचालाको निरन्तरताले गर्दा केटाकेटीलाई डर देखाउन परेमा भइचालो बोलाइदिउ भनेको पनि सुनियो । त्यो बोलाउँदा आउने चिज होइन भन्ने जान्दाजान्दै पनि त्यसको निरन्तरताले गर्दा यसो भन्ने स्थितिमा पुर्‍यायो ।

भूकम्पबारे अलि विस्तृत रूपमा केही लेखौँ न त भन्दा पनि ती दिन सम्झनै मन लाग्दैन । अरू खाले संस्मरण र अनुभूति त एकैपटकमा तयार गरिन्थ्यो तर यस कहालीलाग्दो क्षणबारे सम्झनै मन लाग्दैन र मन लगाएर लेख्न पनि सकिएन । यसबारे केही लेख्न खोज्दा भावना नै शून्य हुन्छ ।
आपत विपत बाजा बजाएर आउँदैन भन्थे । यसपटकका सबैजसो भूकम्प त घटटट ठुलो आवाजका साथ आयो अझ भनौ बाजा बजाएरै आयो । यस्तो विपत् त शत्रुलाई पनि आइ नलागोस् । अब यस्तो प्राकृतिक सकस कहिल्यै कसैले भोग्नु नपरोस् । यस्तो कालो क्षण कहिल्यै नआओस् । यस्तो अकल्पनीय कहालीलाग्दो क्षण र पीडा देख्नु भोग्नु त के कुरा सुन्नु पनि नपरोस्… ।

जे हुनु भइगयो । अब रोएर बसेर केही हुँदैन । आत्तिने, पात्तिने र मात्तिने नगरी अब सब नेपाली एकजुट भएर राष्ट्रको पुनर्निर्माण गरी एउटा सम्पन्न राष्ट्र बनाउने प्रण गरौँ र त्यतैतिर लागौँ । यसैमा हामी सबैको कल्याण छ ।