अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता इन्दिरा राना मगर १९ देशका अन्य नारीहरूसँगै सम्मानित

विजय थापा २०७५ चैत १ गते ११:२४ मा प्रकाशित

न्यु योर्क- न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता इन्दिरा राना मगर १९ देशका अन्य नारीहरूसँगै सम्मानित भएकी छिन् । विश्व भरका १५५ भन्दा बढी देशहरूका न्यु योर्कमा स्थापित वाणिज्यदूतावासहरुको सङ्गठन ‘सोसाइटी अफ फरेन कनुल्स न्यु योर्क’ द्वारा अन्तर्राष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका नारीहरूसँगै प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरलाई सम्मानित गरिएको छ । 

सोसाइटीद्वारा पहिलो पटक सन् २०१८ मा अर्की सुपरिचित नेपाली सामाजिक अभियन्ता तथा अमेरिकाको जर्सी सिटी सहरका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारलाई सम्मान गरिएको थियो।सामाजिक अभियन्ता इन्दिरा रानामगरले विगत २८ वर्षदेखि जेलमा बन्दी जीवन बिताइरहेका दश हजारभन्दा बढी बन्दीहरूलाई आफ्नो संस्था मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्‍याउँदै आएकी छिन् । 

प्रिजनर्स एसिस्टेन्स नेपालले स्थापनाकाल सन् २००० देखिनै काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र महिला बन्दीहरूको लागि प्राथमिक विद्यालय र जेलकै बाहिर ती महिलाहरूको सन्तानहरूको निम्ति डे केयर सेन्टर सञ्चालन गर्दै आएको छ। उनको संस्थाले नेपालको विभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह (चिल्ड्रन होम) निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १,६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएको छ।

सामाजिक अभियन्ता इन्दिरा रानामगरलाई बन्दी आमाबाबु र तिनका बालबालिकाहरूको उद्धार र संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको कदर स्वरूप सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएको थियो भने बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिलाको रूपमा चुनेको थियो । 

सन् २००५ मा अमेरिकाको अशोका फ़ाउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता राना मगर नेपाल सरकारको महिला तथा बालबालिका मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा ‘पावर गणेश-२००६’ पुरस्कार, सन् २००९ मा एसिया सोसाइटीद्वारा ‘एसिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ लगायतबाट सम्मानित भई सकेकी छिन्। 

प्रतिक्रिया