अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

डिसी महानगर क्षेत्रमा विवाह मेला सम्पन्न

विजय थापा २०७५ मंसिर ३ गते १६:२९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सफलतापूर्वक विवाह मेला सम्पन्न भएको छ । दोस्रो पटक आयोजना गरिएको बिहे मेला यस पटक अझ उत्साहजनक समापन भएको छ । आयोजकले यसलाई अझ विस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् ।

आयोजकको तर्फबाट विपिन राज उप्रेतीले गत वर्ष हाम्रो लागि नयाँ कार्यक्रम थियो भन्दै यस पटक अझ मेहनत गरेको हुनाले सहभागिता राम्रो भएको बताए । उप्रेतीले अगाडी भने यो वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिएको हो । यस वर्ष थप आवश्यक सेवा पनि उपलब्ध गराइएकोले नेपाली समुदायहरू उत्साहित भएको उनले बताए ।

अर्का आयोजक मध्ये कै एक कृष्ण दाहालले यसलाई निरन्तरता दिने र डिसी क्षेत्रका सबै नेपाली समुदायमा पुगोस् भन्ने चाहना रहेको बताए । यस पटक गत वर्ष भन्दा प्रदर्शन कक्षमा नेपाली तथा विदेशी व्यापारीहरूको समेतले सहभागिता जनाएका थिए । विशेष गरी चमेना गृह द्वारा बनाइएका खानाका प्रकार तथा अन्य प्रदर्शनमा राखिएका खाद्य सामग्रीहरू निःशुल्क रूपमा हेर्न आएका दर्शकलाई वितरण गरिएको थियो ।

विवाह र सांस्कृतिक पर्वहरूका लागि आवश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध गराइने भएकोले प्रदर्शनमा समेत राखिएको थियो ।

गत वर्ष झैँ यस वर्ष पनि दुलहा दुलहीका कपडाका व्यापारी, नेपाली परिकारका खाना, आपूर्तिकर्ताहरु, सजावटकर्ताहरु, गरगहना पसल,बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष, मेहन्दीवाला, लिमोजिन सवारी साधन (विशेष कार)का सञ्चालक, नेपाली पण्डित, केक पसलका व्यापारी, बिहेका फुलहरू आपूर्ति कर्ता फोटो (तस्बिर) तथा भिडियोग्राफरहरुको पनि सहभागिता रहेको थियो ।

यस पटक उक्त मेला हेर्न आएका दर्शक तथा उपभोक्ताहरूले बिहे मेलाले नेपाली समुदायलाई सजिलो बनाई दिएको बताए । आफ्ना सन्तानको बिहेमा निकै कष्ट र दौड धूप गर्नु परेकोले अनुभव समेत सुनाएका थिए ।

साथै अधिकांशले यस्तो प्रकारको विवाह मेला अमेरिकाका अन्य राज्यमा पनि हुनु पर्ने सुझाव दिएका थिए । आयोजकले एकै छत मुनि यसरी सबै कुराको चाजो मिलाई दिएकोमा आयोजकलाई धन्यवाद समेत दिएका छन् ।

साथै मेला सफल बनाउन अद्वितीय भूमिका निर्वाह गर्ने ,सहयोग गर्ने तथा प्रदर्शन कक्ष (बुथ) राख्ने व्यापारीहरूलाई हौसला स्वरूप प्रमाण पत्र वितरण गरिएको थियो । प्रमाण पत्र वितरण आयोजकको तर्फबाट विपिन राज उप्रेतीले गरेका थिए । आयोजक विपिन राज उप्रेतीको आमा निर्मला उप्रेतीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

ग्यालेक्सि इभेन्ट्स सोलुसनका विपिनराज उप्रेती तथा नेरिशा उप्रेती, डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको संयुक्त आयोजनामा विवाह मेला आयोजना भएको हो । कार्यक्रम १२ देखि ४ बजे सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया