अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

स्व. रेसम बजगाईँका परिवारलाई गो फन्डबाट सङ्कलित ८१ हजार २ सय ५६ डलर हस्तान्तरण

विजय थापा २०७५ भदौ ४ गते १७:५० मा प्रकाशित

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखमा भर्जिनियाको हरन्डन सहरस्थित सुनोको इन्धन चौकीमा लुटेराद्वारा हत्या गरिएका स्व रेसम बजगाईँको नाममा उठाइएको गो फन्ड रकम स्व बजगाईँको परिवारलाई हस्तान्तरण गरिएको छ ।

गत अगस्त १९ तारिखका दिन अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की(विद्या वारिधि ) को उपस्थितिमा ८१ हजार २ सय ५६ डलर हस्तान्तरणको धना देश (चेक ) हस्तान्तरण गरियो ।

स्व बजगाईँको हत्या भए पछि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको एनआरएन भर्जिनिया शाखाको पहलमा गो फन्ड खोलिएको थियो । कुल रकम ८४ हजार ६ सय ८३ डलर उठेकोमा गो फन्डले आफ्नो खर्च कटाएर कुल एनआरएन अमेरिकालाई ८१ हजार २ सय ५६ डलर ४ सेन्ट धना देश खातामा जम्मा गरेको थियो । गो फण्ड मा ५० हजारको लक्ष्य राखिएको थियो ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको खातामा जम्मा भए पछि उक्त रकम निकालेर सङ्घका केन्द्रीय कोषाध्यक्ष प्रकाश अर्याल (विद्या वारिधि ) डेलावरबाट भर्जिनिया आएर सार्वजनिक रूपमा सञ्चार माध्यम तथा समुदाय सदस्य बिच उक्त रकम बजगाईँका परिवारलाई हस्तान्तरण गरेका थिए । 

उक्त रकम अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमा कार्की तथा प्रकाश अर्यालले संयुक्त रूपमा चेक स्व बजगाईँका नातेदार नजिक ठाकुर ढकाललाई हस्तान्तरण गरेका थिए ।

अनौपचारिक कार्यक्रम रहेता पनि एनआरएन भर्जिनिया शाखाका अध्यक्ष गोविन्द सुवेदीले सबैलाई स्वागत तथा धन्यवाद दिनुको साथै सबैको अतुलनीय सहयोगको चर्चा गरेका थिए । सम्भवतः गो फन्ड मा सङ्कलित रकम अहिले सम्म कै इतिहासमा नेपाली समुदायमा सर्वाधिक रकम सङ्कलन भएको बताइएको थियो ।

केन्द्रीय कोषाध्यक्ष प्रकाश अर्यालले पनि यस्तो घटना कसैलाई नहोस् र यस्तो रकम सङ्कलन गर्नु नपरोस भन्दै राजदूत कार्कीलाई दूतावास को तर्फ बाट अमेरिकन सरकार लाई कसरी हामी सुरक्षित हुने बारेमा पहल गर्न आग्रह समेत गरे ।

राजदूत कार्कीले आफूले यस विषयमा चर्चा पनि गरेको र यस्ता विषयमा कालान्तरमा छलफल गर्ने बताए । स्व रेसम बजगाईँका नातेदार ठाकुर ढकालले सबैलाई धन्यवाद दिँदै अझ पनि स्व रेसम कि धर्मपत्नी पहिलाको स्थितिमा नआएकोले आफूले उनको तर्फ बाट रकम बुझेको जनाए ।

उक्त रकमको धना देश स्व रेसम बजगाईँकि धर्मपत्नी दीपा बन्जारा तथा छोरी पर्त्युषा बजगाईँको नाममा प्रदान गरिएको छ । उक्त कार्यक्रममा बिभिन सङ्घ/संस्थाका प्रतिनिधि सहित राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया