अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

पहिलो पटक नेपालमा पेजेन्ट नेपालद्वारा आयोजित टाईटल विनर फेशन सो भव्य रूपमा सम्पन्न

सुर्य चन्द, काठमाडौँ २०७५ असार ३२ गते १६:३५ मा प्रकाशित

पहिलो पटक नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा विजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भव्य रूपमा फेशन सो सम्पन्न गरेको छ l १६ वटा विभिन्न सौन्दर्य प्रतियोगिताका ३४ जना उपाधि बिजेताहरु रहेको सो मा भारतको मिस्टर वेष्ट बङ्गाल २०१३ अनुज शर्मा समेतले भाग लिएका थिए । मिस नेपाल २००० उषा खड्गी तथा नायिका संचिता लुइँटेल शोस्टपर्स रहेको फेशन सोमा प्रमुख अतिथि द हिँडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपतीको प्रमुख आतिथ्यमा सो सम्पन्न भएको थियो । 

पहिलो सिक्वेन्स टिशर्ट राउन्ड, दोस्रो क्रियटिभ डिजाइन विभिन्न वेष्टेज वस्तुबाट निर्मित पहिरनहरूको डिजाइन फेशन डिजाइनरमा ममता बस्नेत, ढाका डिजाइनमा फेशन डिजाइनर जानुका राई वेस्टर्न डिजाइनमा फेशन डिजाइनर सुमित रजकको डिजाइनमा तयार भएका आकर्षक डिजाइनले सम्पूर्ण उपाधि विजेता मोडलहरूले र्याम्प सो गरेका थिए भने दर्शकहरूलाई आकर्षित समेत गरेका थिए । कार्यक्रममा करिब २५ जना ईभेन्ट अर्गनाईजरहरु समेत एकै साथ र्याम्पमा हिँडेका थिए भने आफ्ना कम्पनीको प्रतिनिधित्व गरेका विजेतालाई स्वयम् आयोजकले नै प्रमाण पत्र प्रदान गरेका थिए । अन्तिम राउन्ड तथा सबैभन्दा आकर्षक राउन्ड आफूले उपाधि जितेको समयमा पहिरेका पहिरन, स्यास तथा क्राउनमा उपस्थित भएका मोडलहरूले आफ्नो उपाधि विजेता सो प्रस्तुत गरेका थिए ।

फेशन सो मा चर्चित कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, हाहायोयो महादेव त्रिपाठी, यमन श्रेष्ठ, रिता केसीले आफ्नो प्रस्तुति दिएका थिए । करिब ५०० जतिको सङ्ख्यामा दर्शकहरू रहेका थिए । यल्लो प्यागोडा होटेलमा भरिभराउ हलमा उभिएर हेर्ने दर्शकको सङ्ख्या समेत उल्लेख्य रहेको थियो । कार्यक्रम सञ्चालनको जिम्मेवारी अहिलेका चर्चित फेशन कोरियोग्राफरहरु रोजीन शाक्य तथा आश्विनी झाले गरेका थिए । दुवै लोकप्रिय कोरियोग्राफरहरुले कार्यक्रम सञ्चालन गर्नु तथा नेपाल अधिराज्यभरका ईभेन्ट आयोजकहरूलाई एउटै र्याम्प सोमा उतार्नु, सबै व्युटी प्याजेन्टका उपाधि बिजेताहरुलाई फेशन सो मार्फत र्याम्पमा उतार्नु निकै च्यालेन्जीङ्ग काम भएको कुरा आयोजक तथा प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्दै लैजाने उपाधि बिजेताहरुलाई विभिन्न किसिमका अवसरहरू प्रदान गर्दै लैजाने आयोजक तथा सञ्चारकर्मी राज लुइँटेल बताउछन । 

उक्त फेशन सोको कोरियोग्राफी स्वस्तिका लामा तथा संजयराज विक्रमले गरेका थिए । सो लाई सुजुकी ड्राईभिङ्ग स्कुल, बिग मास्टर वाइन, अर्ना बियर, नाट, नेपाल टेलिकम, लेटमीईन , युरो एसिया एजुकेसन एसके ईन्टरटेनमेन्टले प्रायोजन गरेको थियो । सहभागी मोडलहरूलाई स्पोन्सर्स कम्पनीहरूले विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । स्मरण रहोस् प्याजेन्ट नेपाल डटकम प्याजेन्टको सूचना मूलक जानकारी एवं समाचारहरू सम्प्रेक्षण गर्ने मात्र होइन विभिन्न फेशन सो तथा व्युटी प्याजेन्टमा आकर्षक ड्रेसहरू डिजाइन गरी उपलब्ध गराउँदै आइरहेको छ । उक्त फेशन सोलाई काष्ठमण्डप टेभिजन तथा यश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो भने मेकअप राज मेकअप स्टुडियो र फोटोग्राफर आर्टिष्ट नेपालको रहेको थियो l 

प्रतिक्रिया