अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

सोलुखुम्बु बहुमुखी क्याम्पसले मेची महाकाली विश्व अभियान सुरु गर्दै, गिनिज बुकमा समेत नाम लेखाउने

सुर्य चन्द, काठमाडौँ २०७५ असोज ३ गते ११:५० मा प्रकाशित

काठमाडौँ । सोलुखुम्बु बहुमुखी क्याम्पस स्थापनाको २५ वर्षमा पुगेको उपलक्ष्यमा क्याम्पसले मेची महाकाली विश्व अभियान सुरु गर्दै ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । काठमाडौँमा एक विशेष कार्यक्रम गरी क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् । जसमा १०१ सदस्य रहने जानकारी गराएका छन् l

पूर्वको मेची नदी र पश्चिमको महाकाली नदीको अँगालोभित्र ७७ जिल्लामा फैलिएर रहेको विशाल नेपालका नागरिकहरू लाई संलग्न गरी आगामी ५ वर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी सङ्घसंस्था, कार्यालयहरू र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको रूपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य रहेको प्रमुख उद्धवकुमार शर्माले बताए । बढीभन्दा बढी जनसहभागीताका लागि मेची काली विश्व अभियान समेत सञ्चालन गरिने क्याम्पस प्रमुखले बताए । क्याम्पस स्थापनाको २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मेची काली विश्व अभियान सुरु भएको घोषणा गरिएको हो ।

सोलुखुम्बु बहुमुखी क्याम्पसको ५ वर्षे अभियानकै क्रममा ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्स पढाउने कार्यक्रम छ । यस कोर्सका लागि ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना (एकवर्षमा) र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम छ ।

ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्सको लागि प्रथम वर्षमा नाम्चेबजार, दोस्रो वर्षमा सगरमाथा आधार शिविर र तेस्रो वर्षमा आधारशिवीर भन्दा माथि उक्लिदै थेसिस लेखाउने क्याम्पस प्रमुख शर्माले जानकारी दिए । एक वर्षमा २५ जना विदेशी सहित ५०० जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा दिइने छ ।

अभियान अन्तर्गतले क्याम्पसले सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक केन्द्र बनाउने गरी कार्यक्रमहरू अगाडि बढाउने भएको छ । क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम र माउन्टेनियरिङ कोर्स गराउने र यसमा विश्वका २५ देशका एक एक जनालाई निःशुल्क शिक्षा दिइने भएको छ ।

यसले क्याम्पसको माध्यमबाट सोलुखुम्बु र नेपाललाई नै विश्वमा चिनाउने र क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रूपमा विकास गरी पर्यटन क्षेत्रमा समेत सुधार ल्याउने क्याम्पस प्रमुख शर्माले बताए ।

‘सोलुखुम्बु बहुमुखी क्याम्पस विश्वको शिक्षाको केन्द्रको रूपमा विकास गरी पर्यटन क्षेत्रमा समेत थप सुधार ल्याई विदेशी मुद्राको आर्जनबाट देशलाई थोरै भए पनि आर्थिक टेवा पुग्नेछ’ प्रमुख शर्माले भने । क्याम्पसले राखेका शैक्षिक योजनाहरू पूरा गर्नका लागि करिब एक अर्ब रुपैयाँ रकम आवश्यक पर्ने र उक्त रकम चन्दादाताबाटै सङ्कलन गरेर पुर्याइएने लक्ष्य लिएको छ ।

उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अधक्ष्य आङ रिता शेर्पा, सदस्य प्रभुराम बस्नेत, सदस्य आङ गेलु शेर्पा तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो l
उक्त ५ बर्से शैक्षिक योजनाको लागि सम्पूर्ण नेपाली जनसमुदाय देखि विदेशी नागरिक, दातृ संस्था, समाजसेवी, शिक्षक, विद्यार्थी लगायत सबैलाई सहयोग गरी आवश्यक सल्लाह सुझाव गरिदिन क्याम्पस प्रमुख उद्धवकुमार शर्माले अपिल गरेका छन् l

प्रतिक्रिया