अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

सरकारविरुद्ध खनियो कर्मचारी युनियन, माग र मुद्दा बेवास्ता गरिए स्वरूप जस्तो पनि हुनसक्ने चेतावनी

नेपाल समाचारपत्र २०७५ जेठ २ गते १९:५२ मा प्रकाशित

काठमाडाैँ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले सरकारले निजामती कर्मचारीलाई दिने भनिएको स्वैच्छिक अवकाश नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ।

आधिकारिक ट्रेड युनियनले बुधबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारीलाई जागिरभन्दा पनि बढी अधिकार रक्षाको माया भएकाले सरकारका गलत गतिविधिका विरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभयो। ‘शुरूमा हामी शान्तिपूर्ण आन्दोलन गर्छौं, अनि पनि हाम्रा माग र मुद्दामा बेवास्ता गरिए त्यसको स्वरूप जस्तो पनि हुन सक्छ’, ढकालले भन्नुभयो– ‘सरकारले जे गर्छु भनेको छ त्यो गर्नुपर्छ, कर्मचारी नीति, नियम र सिद्धान्तको कुरा मात्र जान्दछन्, सरकार को र कसको भन्ने मतलब भएन।’

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले राजपत्रमा सूचना जारी गरी २० वर्ष सेवा अवधि र ५० वर्ष उमेर पुगेका निजामती कर्मचारीलाई स्वैच्छिक अवकाश दिने भनेको थियो। निर्धारित समय फागुन १३ गतेसम्म ९ हजार ६ सय ५६ कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका थिए। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

अहिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वैच्छिक अवकाशको प्रक्रिया स्थगित गरेपछि कर्मचारी आन्दोलित भएका हुन्। महासचिव सुबोधकुमार देवकोटाले कर्मचारीको भावनाविपरीत जाने सरकारको कार्यशैलीप्रति कर्मचारीको आपत्ति रहेको बताउनुभयो। देवकोटाले सरकारले कर्मचारीसँग समन्वय नगरी एकलौटी निर्णय गरेकामा पनि सरकारको विरोध गर्नुभएको छ।

सम्बन्धित सामग्रीहरू