अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

ओलीसरकार त शोषक/सामन्तीको कित्तामा पुगेछ: पूर्व प्रधानन्यायाधीश कार्की

नेपाल समाचारपत्र २०७५ असार १९ गते ९:०२ मा प्रकाशित

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले बहुमतको वर्तमान ओली सरकार सामन्ती कित्तामा पुगेको बताउनुभएको छ । पब्लिक डिफेन्स एलाइन्सद्वारा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा उहाँले ओली सरकारको भनाइ र व्यवहार पञ्चायतकालीन सरकारको भन्दा फरक नरहेको आरोप लगाउनुभएको हो ।

डा.गोविन्द केसी र गंगामाया अधिकारीले उठाएको मुद्दाप्रति सरकार गम्भीर नबनेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो–‘डा.केसी आफ्ना सन्तानको लागि अनसन बस्नुभएको हो र ? न उहाँका परिवार छन् न कोही । उहाँले लडाई गरेको कसको निम्ति, गरिबका छोराछोरीका निम्ति । गरिबको स्वास्थ्य उपचारको निम्ति । दूर दराजमा अस्पताल खुलाउनका निम्ति ।’

गरिबले खान, लाउन, उपचार गर्न पाउनुपर्छ भन्नु विद्रोह नभएको विचार राख्दै पूर्व प्रधानन्यायाधीश कार्कीले थप्नुभयो–‘उहाँको १४ औँ पटकको प्रयासमा आएको प्रस्तावित विधेयक हटाउन खोज्ने सरकार त शोषक सामन्तीको लाइनमा पुग्यो । सुन्दा पनि अचम्म ! माथेमा आयोगको प्रतिवेदनको प्रभाव भारत सरकारले लागु गर्दैछ, तर यहाँ बेपत्ता पार्न खोज्यो ?’

पूर्व नेकपा (एमाले), एकीकृत माओवादी केन्द्र या नेपाली काँग्रेसले सरकार र बाहिर हुँदा भाका फेर्ने गरेको टिप्पणी गर्दै उहाँले डा. केसीको मागलाई कुनै सरकारले गम्भीरतापूर्वक नलिएकोमा असन्तुष्टी राख्नुभयो ।

‘खासमा सरकारमा आएपछि तपाईँ व्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक र सामन्ति व्यापारीलाई सहयोग गर्नुहुन्छ, तपाईँ त्यस्ता ठूलाबडाहरूको पृष्टपोसक भएर बस्नुहुन्छ, तपाईँ तिनीहरूलाई नै सहयोग तिनको उन्नति होस भन्नुहुन्छ, र हिजो माथेमा आयोगको प्रतिवेदले खडा गरेको सम्पूर्ण कुरा खारेज गर्नुहुन्छ भने तपाईँ त सामन्ती हुनुहुदोरहेछ ।’– पूर्वप्रधानन्यायाधीश कार्कीको भनाइ थियो ।

उहाँले फेरि भन्नुभयो–‘मुखले मात्र सैद्धान्तिक कुरा गर्ने व्यवहारले सम्पूर्ण कुरो खतम, १५ हजार मान्छेले ज्यान गुमाएका छन् । यही गरिबी भएमा, यसरी नै ठूलाबडालाई पोसेमा, हुनेखाने तस्करहरूको नाइके बनेर तिनलाई नै पृष्ठपोषण गरेमा अझै ३० हजारले ज्यान गुमाउँछन् ।’

सत्तामा हुनेहरुलाई बन्दुक, सेना र प्रहरीले जोगाएको र दुरदराजका गरिब जनतालाई परिवर्तनले केही दिन नसकेको पूर्वप्रधानन्यायाधीश कार्कीको अभिव्यक्ति थियो ।

उहाँले आफू न्यायालयमा हुँदाको अनुभव सुनाउनुभयो–‘एक दिन एउटा केटो देखेँ, ऊ जानकी मेडिकल कलेजमा पढ्दोरहेछ, मलाई यति दुःख लाग्यो कि त्यहाँ त्यो केटोको पढाइ नै बन्द भएछ । बाबुआमाले खर्च गरेको के भयो त्यसको स्थिति, राज्य या कसैले जिम्मा लिएन । कस्तो दुःख गरेर पढ्न जान्छन् यो के गरेको व्यापार ?मेडिकल शिक्षामा व्यापार ?’

पूर्वप्रधानन्यायाधीश कार्कीले अझै सुनाउनुभयो–मैले मेरो छोरो पढाइन किनभने मेरो त्यत्रो खर्च गर्ने हैसियत नै थिएन । डाक्टर पढाउनलाई छाक काटेर खर्च जुटाउन सुन बेचेर, बर्षौसम्म एउटा सुट नहालेर पढाएर बसेका छन् । कहिले कमाउँछ पचास साठी लाख त्यसले ? त्यो कमाउँछ भन्ने निश्चित छ ? यस्तो व्यापार कहीँ हुन्छ ?’

उहाँले फेरि भन्नुभयो–यो व्यापार गरेर यो के खोजेको अनि पढाउने बेलामा चैँ छाक काटी काटी मेडिकल कलेजलाई चढाउनुपर्ने, नोकरी पाउने बेलामा २० हजारको पाउने ? कतिले त २० हजारको पनि नोकरी पाएको देखिन्न । अनि ऊ विदेश पलायन हुन्छ, यसरी देशको उन्नति हुन्छ ?’

स्व.डा. उपेन्द्र देवकोटालले बरु पञ्चायतकालमा पढ्न पाएको तर अहिले गणतन्त्रमा गरिबका छोराछोरीले पढ्न नपाएको दृष्टान्त राख्दै पूर्वप्रधानन्यायाधीश कार्कीले अर्को अनुभव व्यक्त गर्नुभयो–मैले मेडिकल पढ्न तीव्र चाहना भएर पढ्न नपाएको, छात्रवृत्ति नपाएको र झुन्डिएर आत्महत्या गर्न बाध्य भएको केटाकेटीलाई देखेको छु । एक दिन एक जना केटीले इजलासमै आफ्नो सबै कुरो पुग्यो ३ पटक जाँच दिएँ यी अपराधीहरूले कहिल्यै पढ्न दिएनन् झुन्डिएर मर्छु भनिन् । मैले दिनै पर्छ भनेर फैसला गरेँ ।’

उहाँले छोराको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरी ३७ दिनदेखि अनसन बसेकी गगामायालाई न्यायकी देवीको संज्ञा दिँदै पहिले काँग्रेस र अहिले कम्युनिस्टको सरकारले उहाँको आवाजलाई सम्बोधन नगरेकोमा पनि विरोध गर्नुभयो । नेपाल समाचारपत्रबाट 

सम्बन्धित सामग्रीहरू