अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

रेल गफका पाँच वर्ष, डीपीआर नै बनेन

गोरखापत्र २०७८ माघ २० गते १९:०० मा प्रकाशित

काठमाडौँ, काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ ।

पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो मात्र होइन त्यसपछि बनेका स्थानीय तहका र अन्य सरकारले पनि उपत्यकामा रेल गुडिहाल्नेजस्ता भाषण गरे तर सरकारमा हुनेको भाषणको थेगो र सरकारी नीति तथा कार्यक्रमको हिस्साजस्तै बनेको मेट्रो रेल निर्माण अहिलेसम्म गफमै सीमित भएको छ । न अहिलेसम्म निर्माणको ढाँचा (मोडल) तय भएको छ न लगानीको सुनिश्चितता नै । पाँच वर्षसम्म नेतृत्वको भाषणमा मात्र होइन त्यसको निकैअघि नै काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे अध्ययन भएको हो ।

सन् २०१२ मा नै कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो कम्पनीले काठमाडौँको पाँच वटा रुटमा ८७.१८ किलोमिटर मेट्रो रेल निर्माण गरी सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो तर त्यो अध्ययन प्रतिवेदन अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । रेल विभागका महानिर्देशक दीपक भट्टराईले काठमाडौँ उपत्यकाको यातायात तथा ट्राफिक व्यवस्थापनका लागि मेट्रो रेल सञ्चालनको विकल्प नरहेको बताउँदै मेट्रो रेल निर्माण सरकारको प्राथमिकतामा रहेको दाबी गर्नुभयो ।

रेलसम्बन्धी अध्ययनको काम अन्तर्राष्ट्रिय परामर्शदाताबाट गराउनुपर्ने तर केही वर्षदेखि विश्वव्यापी कोभिड १९ को महामारीका कारण ती काम अगाडि बढ्न नसकेको तर्क उहाँले गर्नुभयो । काठमाडौँको चोभार–सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक–बुढानीलकण्ठसम्म २२ किमी, कीर्तिपुर–कालीमाटी–नयाँबानेश्वर–एयरपोर्टसम्मको ११.१५ किमी, कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वरसम्म २८.५३ किमिमा मेट्रो रेल निर्माणका लागि अध्ययन गरिएको थियो । त्यसै गरी स्वयम्भू–डिल्लीबजार–बौद्धसम्म ११.७० किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबुसम्म १३.८० किमिमा अध्ययन गरिएको थियो । एक दशकअघि नै गरिएको पूर्वसम्भाव्यता अध्ययनले पाँच वटा रुटमा मेट्रो रेल निर्माण गर्न करिब साढे पाँच खर्ब रुपियाँ लगानी लाग्ने प्रारम्भिक प्रक्षेपण गरेको थियो ।

बनेन डीपीआर
सम्भाव्यता अध्ययन भएको करिब आठ वर्षपछि महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न वि.सं. २०७६ माघमा रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सलट्यान्ट (जेभी)बिच एक वर्षभित्र प्रतिवेदन बुझाउने गरी सम्झौता भई काम अगाडि बढाइएको थियो जुन अहिलेसम्म सम्पन्न हुन सकेको छैन । अन्य चार रुटको डीपीआर निर्माण सुरु हुन सकेको छैन ।
रेल विभागका प्रवक्ता अमन चित्रकारले महाराजगञ्जदेखि सातदोबाटोसम्म निर्माण गरिने प्रस्तावित मेट्रो रेलमार्ग ललितपुर खण्डमा एलिभेटेड (जमिनमाथि) निर्माण गर्नुपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ तर रातो मत्स्येन्द्रनाथको रथ यात्रा त्यही रुट भएर पर्ने भएकाले ललितपुर महानगरपालिका र अन्य सङ्घ, संस्थाले सो क्षेत्रमा जमिनमाथिबाट मेट्रो रेल निर्माण नगर्न दिएको सुझाव र दबाबका कारण अध्ययन कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले रेल विभागलाई पत्राचार नै गरेर काम अगाडि नबढाउन आग्रह गरेको जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले महाराजगञ्जदेखि सातदोबाटोसम्मको मेट्रो रेल निर्माणको डिजाइन ललितपुरको सांस्कृतिक महìव र भावनाविपरीत रहेको बताउँदै ललितपुर क्षेत्रमा एलिभेटेड (जमिनमाथि) मेट्रो रेल आफूहरूलाई स्वीकार्य हुन नसक्ने भएकाले रेल विभागलाई कार्य अगाडि नबढाउन पत्राचार गरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “रातो मत्स्येन्द्रनाथको रथ जाने रुटमा भूमिगत मेट्रो रेल निर्माण गर्नुबाहेक अरू कुनै विकल्प हुनै सक्दैन । धार्मिक दृष्टिकोणले असम्भव हुने भएकाले महानगरले रेल विभागलाई सो प्रस्ताव गरेको हो । ”

हरायो मोनो रेल
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा तीन वर्षभित्रमा नै सञ्चालनमा ल्याइसक्ने कार्ययोजनासहित कार्यक्रम अगाडि बढाएको मोनो रेल पनि अहिलेसम्म गफमै सीमित भएको छ । मोनो रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अहिलेसम्म तयार हुन सकेको छैन । काठमाडौँको चक्रपथमा मोनो रेल सञ्चालनका लागि एक वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न काठमाडौँ महानगरपालिका र चाइना रेलवे कम्पनी लिमिटेड (सीसीआरसी, ब्युरो २५) बिच काठमाडौँ, २०७५ पुस ४ गते नै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । मोनो रेल सञ्चालनका लागि त्यसको सम्भाव्यता अध्ययनसमेत (फिजिबिलिटी स्टडी)समेत चाइना रेलवे कम्पनी लिमिटेडले नै गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको विस्तार कार्य अगाडि बढ्न नसक्दा मोनो रेलका लागि डीपीआर हुन नसकेको बताउनुभयो । चक्रपथ विस्तारकै कारणले मोनो रेलको काम अगाडि बढ्न नसकेको बताउँदै उहाँले मोनो रेल चक्रपथमा नै सञ्चालन गर्ने भएकाले चक्रपथको विस्तार कार्य नभएसम्म डीपीआरको कार्य अगाडि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको चक्रपथमा डीपीआर निर्माण गर्ने हो भने चत्रपथ विस्तारपछि फेरि अर्को डीपीआर निर्माण गर्नुपर्ने हुन्छ । ” चक्रपथलाई तीन चरणमा विभाजन गरी मोनो रेल निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । भउचप्रसाद यादवले गोरखापत्रमा लेखेका छन् ।

सम्बन्धित सामग्रीहरू