अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

नयाँ सरकारको होमवर्क : सत्ता गठबन्धन रोक्न एमालेलाई ३४ सांसद चाहिने

- सत्ता गठबन्धनमा पुगेन बहुमत, सरकार बनाउन साना र स्वतन्त्रको भर !

फणीन्द्र नेपाल २०७९ मंसिर १४ गते १५:११ मा प्रकाशित

– सत्ता गठबन्धनमा पुगेन बहुमत, सरकार बनाउन साना र स्वतन्त्रको भर !

आम निर्वाचन २०७९ को नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ । बहुमत ल्याउने लक्ष्यका साथ चुनावमा होमिएपनि सत्ता गठबन्धनभित्रै बहुमत नपुग्ने निश्चित भएको छ । संघीय संसदका १६५ निर्वाचन क्षेत्रमध्ये ३ स्थानको नतिजा आउन बाँकी रहँदा सत्ता गठबन्धन बहुमत नजिक पुगेपनि सरकार बनाउन पर्याप्त संख्या भने पुर्याइसकेको अवस्था छैन ।

निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ एक करोड बढी मतगणना भइसकेको छ । दुवै निर्वाचन प्रणालीअन्र्तगत कुनैपनि दलको स्पष्ट बहुमत आउन नसकेको अवस्थामा सत्ता गठबन्धन र एमाले गठबन्धन दुवै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको कसरतमा देखिएका हुन् ।

हाल सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । यी मध्ये कांग्रेसले प्रत्यक्षमा ५५ (१ क्षेत्र गणनामा अघि रहेकासहित ) सिट जितेको छ । त्यस्तै हालसम्म समानुपातिकतर्फ १ करोड १ लाख मत गनिसक्दाको अवस्थामा कांग्रेसले ३२ सिट सुनिश्चित गरेको छ । यसरी हेर्दा कांग्रेसको दुवैतर्फको सिट ५५ र ३२ जोड्दा ८७ सिट हुन आउँछ ।

त्यसैगरी अर्को दल नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ जितेको छ भने अहिलेकै अवस्थामा समानुपातिकतर्फ १४ सिट सुनिश्चित गरेका छ । यो हिसावमा उसको ३१ सिट हुने देखिन्छ । सत्ता गठबन्धनमा रहेको तेस्रो दल नेकपा एकीकृत समाजवादीले तीन प्रतिशत मत (थ्रेसहोल्ड) कटाइनसकेका कारण उसले प्रत्यक्षतर्फ जितेका १० सांसदको मात्रै हिसाव रहेको छ । बुधबार अपरान्हसम्म यो पार्टीलाई थ्रेसहोल्ड कटाउन र समानुपातिक सांसद थपिन १६ हजार बढी मत आवश्यक देखिन्छ ।

त्यस्तै सत्ता गठबन्धनमा रहेको अर्को दल लोसपाले प्रत्यक्षतर्फ ४ सिट जितेको छ भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेको अवस्था छैन । पाँचौ दल राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ १ सिट मात्र जितेको छ । यसरी सत्ता गठबन्धनमा रहेका ५ दलले पाएको सिट संख्या हिसाव गर्दा १३३ सिटमात्र पुग्छ । जवकी नयाँ सरकार बनाउन २७५ को बहुमत अर्थात १३८ सिट आवश्यक पर्छ ।

मतगणना र निर्वाचन हुने क्षेत्रको समेत नतिजा गठबन्धनको पक्षमा आएपनि उनीहरुलाई ३ सिट थपिन्छ । यस्तो हुँदा जम्मा १३६ सिट हुन पुग्छ । बाँकी २ सिट बहुमतका लागि अपुग हुने देखिन्छ । तर स्वतन्त्र सांसद ५ जना छन् । तीमध्ये प्रभु साहसहित २ जना सत्तारुढ दल माओवादीसँग नजिक भएकाले सत्ता गठबन्धनको पक्षमा जान सक्ने सम्भावना कायमै छ । त्यस्तै अमरेश कुमार सिह पनि गठबन्धनकै पक्षमा जानसक्ने सम्भावना रहेकाले यी सांसदले समेत सहयोग गरे गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ । तर उनीहरुले अहिलेसम्म कसलाई साथ दिने भन्ने प्रस्ट खुलाइसकेका छैनन् ।

एमाले गठबन्धनको कति ?
अब एमाले गठबन्धनको हिसाव गरौँ । एमाले गठबन्धनमा एमालेसहित जसपा र राप्रपा छन् । नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । त्यस्तै उसको समानुपातिकतर्फको हिसाब गर्दा ३४ सिट सुनिश्चित गरिसकेको अवस्था छ । यसरी हेर्दा उसको ७८ सिट पुगेको छ । यो गठबन्धनमा रहेको अर्को जसपाले प्रत्यक्षमा ७ सिट जितेको छ भने समानुपातिकमा ५ सिट जोड्दा उसको १२ सिट हुन आउछ । त्यस्तै राप्रपाले ७ सिट प्रत्यक्षमा जितेको र ७ सिट समानुपातिक जोड्दा १४ सिट हुने देखिन्छ । यसरी यी तीन दलको कुल सांसद संख्या जोड्दा १०४ सिट हुन पुग्छ । यो हिसाबमा सत्ता गठबन्धनलाई रोक्दै एमालेलाई सरकार बनाउन थप ३४ सिट आवश्यक पर्ने देखिन्छ । यो भनेको सरकार बनाउन एमालेलाई हाल सत्ता गठबन्धनमा कायम रहेका दल बाहेकका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रको सबैको साथ चाहिने हुन्छ । तर, यो समीकरण जुटाउन एमालेका लागि फलामको च्युरा चपाएसरह हुने देखिन्छ । यसमा एक स्वतन्त्र सांसद भने एमालेकै बागी भएकाले उनले एमालेलाई समर्थन गर्नसक्ने सम्भावना छ ।

राष्ट्रिय स्वतन्त्रसहित साना दल
यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि संसदको हिस्सेदार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने जनमत पार्टी १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । उनीहरुको प्रत्यक्षतर्फको ११ सिट हुन आउछ । समानुपातिकतर्फ भने रास्वपाले १४, जनमतले ४ सिट सुनिश्चित गरेको छ । नागरिक उन्मुक्ति पार्टीले भने थ्रेसहोल्ड कटाउने सम्भावना कम रहेकाले उसको समानुपातिकबाट सांसद बन्ने सम्भावना लगभग सकिएको छ । तर उसको एक स्वतन्त्र सांसद समेत भएकाले संसदीय हिसावमा त्यो पनि हिसावमा जोड्न सकिन्छ । यसरी हेर्दा अहिलेसम्म कतैपनि खुलिनसकेका यी तीन दलसँग २९ र १ जोड्दा ३० सांसद हुने देखिन्छ । यस्तै सदाबहार प्रतिपक्षी नेमकिपाले पनि १ सिट जितेको छ । उसले कसैलाई पनि समर्थन गर्ने सम्भावना छैन ।

अहिलेसम्मको नतिजाले नयाँ सरकार बनाउन कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको दुवै गठबन्धन कायमै राखेर हेर्दा नयाँ दल र स्वतन्त्रको भर पर्नुपर्ने देखिन्छ । यद्यपि दलहरुले पहिलो चरणमा साना र स्वतन्त्र दलहरुलाई भन्दा प्रमुख दलहरुबीच नै सहमति जुटाउने र सरकार बनाउने प्रयास गर्ने निश्चित छ ।

राताेपाटीबाट

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू