अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

लसएञ्जेलसका नेपाली विम्ब विधानहरू

मोहन सिटौला २०७५ वैशाख ६ गते ९:५३ मा प्रकाशित

पुनर्जागरणोन्मुखी सशक्त प्रश्न कारक
शोधान्मुखी भई नित्यै अग्रगामी सरासर
मानवी चिन्तनाशील, आविष्कारक, उत्सक
मीमांसादार, जिज्ञाषु, सर्जक, सृष्टि पालक ।

उसकै यानमा नौलो अत्याधुनिक देशमा
चढेर चार घण्टामा लसेञ्जल सुप्राङ्गण
पुगियो र भलो भैगो भेला खातिर हितका
चित्तका चञ्चला चाल चलचित्र सुमित्रका ।

शान्त भो, मनको मेरो अशान्ति पनि भित्रको
कहिले पुग्ने भन्ने ? उत्सुकातुर यात्रीको
सहसा मेल भो न्यानो सुपात्रप्रिय पत्रिका
सङ्गमालयमा सारा कार्य भए सुमित्रका ।

रचना, अर्चना नाना न्याना तर्क—वितर्कका
अतीत, वर्तमानैका, भविष्योन्मुख दूरका
अनेसास भरी व्याप्त परीदृश्य समग्रका
नेपालीका मिठा स्वप्ना, भाषा, साहित्य, संस्कृति

अस्मिता, बिपना राम्रा कल्पनामय सुकृति
संस्थाका सबला पक्ष वर्तमान, दुरान्विति
च्याप्टरहरूका चिन्ता नयाँ कार्य, नयाँ नीति
सबमा ध्यान औ ज्ञान पुर्‍याई मान, सानले

क्या राम्रो भव्य भो , दिव्य, सभ्यतामय मानले
वेदान्त, बुद्धका वाणी नेपाली दिलका खुला
पारेर पावनी स्थान प्रतिष्ठान सुवासका
सङ्गठित भई बस्छन् विद्वान मित्र कीर्तिका

कामका कामना गर्छन् उदार हात चित्तका
घुमाउन जसै लान्छन् खुवाउँछन् मिठा दिल
परिकार मृदु स्वादू रसपावक सल्बल,
वेटर र बेरा प्यारा, शुभसौन्दर्य चालका,

प्रकृतिका विधा नाना, नयाँ दृश्य अचम्मका
जलेन्दु , विन्दु , सिन्धूका सागरालयका सिपी
किनार सुन्दराकार कला र सीप नै खिपी
बनाएका, उता दूर पहाड ती नेपालका

भनेजस्तै गरी चुमी बस्छन् क्षितिज—व्योमका
ओठ औ वायवीपन्थी आकार र प्रकारका
पत्रपत्रिकाका साथी किन छाड्थे स्पर्शमा
लागेर कान, आँखामा, मुखारविन्दमा लिन ।

विभिन्न कामले नाम राखेर नव्य चालमा
चलेका छन् मिठा मित्र लसेञ्जल—अकाशमा
धरत्रीमा, दिलै भित्र, सिर्जनामयलोकमा
उदाहरण यो बन्ला नवगन्तव्यमार्गमा ।