अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

विषे नगर्ची र घाँसी—मोहन सिटौला

मोहन सिटौला २०७५ असार ३२ गते १६:०६ मा प्रकाशित


नेपाली नाम हाम्रो यस भुवन भरी गर्वले नाम लिन्छौँ
राजर्षी नेमुनीको करुणरसमयी भावनामा वहन्छौं
युगौँ बिते प्रशस्तै अरिहरुसवले खोस्न प्रयास गर्थे
हाम्रा अतीत प्यारो कल, छल, बलले वर्तमानै उधिन्थे ।

थिए विद्धान राजा शुरविर बहुतै दूर खेदे, लघारे
धेरै टुक्रा थिए ती जब पृथिविले एकतामा सह्यारे
विषे नगर्चि जसले जब धन सकियो देशबासी गुहार्न
दीक्षा दिन्थ्यो नि ठुलो अलिअलि सबमा माग्न खर्चै तमाम
रुपियाँ एक एकै घरघर घुम हे नृप ‘साना महान् ।

बन्यो नेपाल एकै तर अब कसरी लोलि बोली, मिलाऔँ ?
झुल्क्यो भानु —प्रभा त्यो अलमल कसरी वक्षकुण्ठा फुकाऊँ ?
घाँसीले ज्ञान हाल्यो पुलकित मनमा सत्य सन्देश ठुलो
देऊ नानी । खुलाई तममयमनमा ज्ञान, कीर्ति उज्यालो ।

पाई सङ्केत नौलो उरबिच खनियो रामको नाम, काम
उल्था गरे नि सारा जनबिच सबमा एक भाषा तमाम  ।
ऐले हामी सबैले सहजसित मिठो देश नेपाल भन्छौँ
नेपाली बोल बोल्छौँ सरलसित मिठो वक्षमावक्ष मिल्छौ ।
धन्यै छौँ । आज हामी परिचित भवमा गर्वमा, सानमा छौँ
नगर्ची, पृथ्वी, घाँसी सुझबुझ हृदयी भानु कहिल्यै नभूलौं ।
हाम्रो अतीत राम्रो उच्च मन सबमा गर्नु कल्याण, प्रेम
वेदान्त श्रेय, बुद्ध प्रिय सब जगमा सन्तती हौँ सुनाम ।

लम्कन्छौ नित्य नौलो पथ यस जगमा दूर क्षितिज पारी
पुग्छौ सारा मिलेरै नित नव पथका पन्थ आभा उघारी ।
फैलिन्छन् व्याप्त हाम्रा सुदुर दुर नयाँ सन्तती चेतवाला
लम्किन्छन्, योग्य बन्छन् तनमनहृदयी यात्री यात्रा निराला ।