अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

उत्तरी रेल र रेसम मार्ग हाम्रो सपना

मोहन सिटौला २०७५ मंसिर १४ गते १६:२० मा प्रकाशित

पश्चिम तमोर, मेवा र मैयाँ, दक्षिण काबेली
बिचमा पर्ने ताप्लेजुङ जिल्ला सुन्दर मनोहर
खोला, खहरे, झोरा र पशु, पन्छी र मान्छेले
प्रकृतिसाथ संस्कृति मिली गाएका भाकाले
सङ्गीत गीत, जडी र बुटी, बनाउँछन् कोसेली
कन्दरा, खोल्सा, भिर र तीर हाल्दछन् सुसेली
त्यो कुम्भकर्ण टल्किन्छ सेतो, स्वर्णिम हिमचुली
बन्दछ कैले रक्तिम आहा ।  चित्रित रङ्गेली
सजाउँछ सारा तिरी र मिरि विचित्र तरेली ।

ताप्लेजुङ भित्र उत्तरी भेग त्रिवेणी आठराई
पर्दछ साथी ।  बाँडियो च्वाट्टै दुई भयो आठराई ।
छन् शेर्पा दाइ चराई गाई चौँरी र जङ्गल
गाउँ र बस्ती, दोभान बजार, खोलाका मङ्गल
पाखी र काम्लो, दोखु र दोचा, गलैँचा, भकारी
अनन्त घरबूना र चित्रा छैन क्यै सर्कारी
शेर्पिनी दिदी, फुरुवा बैनी तानमा मस्त छन्
भोटिया चिया दिएर जाडो फाल्नमा व्यस्त छन् ।
‘स्कुल टाढा लुकेर बस्छ हूस्सु र कुइरोमा’
जमेको ऐना, कपटी चिसो उन्दछ सुइरोमा
चढाई चढ्छन् चाला र चुली चुचुरा चढेर
विश्वमा नाम फैलाए खुबै हिउँमा खेलेर
भई गए शक्तिशाली ती हिउँमा लडेर, भिडेर ।

मेवा र मैयाँ नदी छन्, धेर झोरा र खहरे
छाँगा र झील, आकाश निल झल्केर बस्छन् रे ।
उत्तर तर्फ झन् उच्च शिर हिमाली चचुरा
पशु र पन्छी, हिमाली बुटी, चौँरी र कन्दरा
सुन र चाँदी भएर टल्की रहन्छन् टाकुरा
हंस झैँ सेतो दिलको भाव बन्दछ सरर ।

पर्खेर सबै बसेका छन् है ।  उत्तरी रेललाई
खेलमा ल्याई जीवन लीला, मेलामा रमाई
बाँचौँला हामी पनि यो जुनी सुखमा सजाई
आशा छ त्यही रेलमा चढ्ने यै जुनी बेलामा
यी पाखा भरी, पखेरा चारी सरर रेलमा ।

वास्तव यस्तो नेपाल देश, नेपालवासीको
उत्कट इच्छा ।  समूच्चा देश र देशवासीको
विकल्प यौटै छ मेरो यात्री ।  सपना खुसीको
रेसम मार्ग, पुरानो गाथा नयाँमा मिसाई
विकाश गर म सघाउँला भन्दछ चिनी दाइ ।