अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

अमेरिकामा नेपाली नेपाली बिच मुद्दा दायर, नेपाली सङ्घ संस्थामा लाग्नु एक पटक सोच्ने कि ?

विजय थापा २०७४ पुष २९ गते १२:०० मा प्रकाशित

अमेरिकामा अब कुनै पनि राष्ट्रिय तथा क्षेत्रीय स्तरमा रहेका नेपालीहरूद्वारा खोलिएका/स्थापित मुनाफा रहित सामाजिक संस्था विवाद, झगडा तथा अदालतमा पुग्ने कुरा नयाँ र नौलो नरहने भएको छ । यसो भन्दैमा सबै सङ्घ/संस्था जुनै जोगी आए पनि कानै चिरेका भन्ने चाही हैनन् । विश्वकै सबै भन्दा ठुलो प्रजातन्त्रको देशमा न्याय माग्न पाइन्छ ।

आफूलाई राष्ट्रिय स्तरमा सर्वाधिक शक्तिशाली तथा हैसियत भएको सोचाई राख्ने र नेतृत्वमा गर्व गर्ने अधिकांश नेपाली गैर मुनाफा सामाजिक संस्था अछुतो नरहने भएका छन् । घर भित्रको विवाद बाहिर आउने, बाहिरबाट सामाजिक सञ्जालमा ब्यापकता पाउने र त्यति मात्र सीमित नभई पटक पटक अदालत धाउने अब सामान्य भई सकेको छ ।

यो सबै केवल कुर्सी प्राप्तको लागि नेपाली नेपाली बिच भई रहेको महाभारतको ज्वलन्त उदाहरण अमेरिकाको नर्थ क्यारोलिनामा स्थापित प्रख्यात नेप्लिज एसोसिएसन अफ साउथ इष्ट अमेरिका (नसा) यसको पछिल्लो भागिदार बनेको छ । कहिले विवादको ‘वि’ मा पनि नमुछिएको संस्था माथि व्यक्तिले मुद्दा दायर गरी अमेरिकामा नाम चलेका संस्थाहरू कै सूचीमा मुद्दा लागेको संस्थामा परेको छ ।

स्मरण रहोस्, अमेरिकामा सङ्घ/संस्था बिना मुखमा माड लगाउन पाईदैन भन्ने सोचाई पूर्ण गलत अदालती मुद्धाले प्रस्ट पारेको छ l अब अमेरिकामा नेपाली नेपाली बिच भाइचारा विदेशमा हरेक नेपाली १३ दिने दाजुभाइ जस्तै हुन् भन्ने अब कुनै एकादेशमा नेपालीहरू यस्ता थिए भन्ने मात्र रहने भएको छ । विडम्बनाको कुरा के छ भने हामीलाई परदेशी माटोमा पनि कुर्सीको चरम मोह रहेको यसले देखाएको छ l

नासामा हालिएको मुद्धाले अबका दिनमा सङ्घ/संस्थामा लाग्ने कि नलाग्ने भन्ने हामीलाई सोच्न बाध्य बनाई दिएको छ । अमेरिकामा सङ्घ/संस्था बिना हामीहरूको हातखुट्टा नै नचल्ने हो कि भन्ने हामीमा यस्तो विचार भएकोले त हैन भनी सवाल उब्जेको छ ? अवैतनिक तथा स्वयम् सेवक रूपमा व्यस्त समय निकाली नेपाली सङ्घ तथा संस्थामा समय दिनु भनेको पूर्ण गलत त हुने छैन ? के को लागि हामी समाज सेवा गर्ने ? अदालतमा तारिख धाउन को लागि समाज सेवा ? त्यसको बदलामा परिवार, आफ्नो जीवन विकास तथा वृद्धि गर्न ध्यान दिए हामी सबैको भलो हुने हैन ?

नेप्लिज एसोसिएसन अफ साउथ इष्ट अमेरिका (नसा ) का निष्कासित तथा पूर्व कार्यकारी उपाध्यक्ष सुशील नेपालले आफूलाई अन्याय परेको भन्दै न्याय पाऊ हानी संस्थालाई पुनर्बहाली गर्न र केही क्षति पूर्ति सहितको माग राख्दै डिसेम्बर २१ तारिख २०१७ का दिन मुद्दा दायर गरेका छन् l

उनलाई संस्थाको विधान अनुसार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो l नेपाललाई नेप्लिज एसोसिएसन अफ साउथ इष्ट अमेरिका (नसा )को विधानको धारा ५, परिच्छेद १ को उपधारा १ अनुसार कारबाई गर्दै निस्काशित गरेको हो l

उनले गत सेप्टेम्बर १ देखि ३, २०१७ मा नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नसा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको साङ्गीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि दुर्व्यहार गरी संस्थाको मान मर्यादा तथा छविमा आँच ल्याएको भन्दै कार्यकारी समितिको बैठकको बहुमतले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको थियो । निक्की कार्कीले पनि सामाजिक सञ्जालमा नेपालले के के गरे भनी प्रत्यक्ष प्रसारण गरेकी थिइन् l

विधानको साथै संस्था को छविलाई उच्छृङ्खल गतिबाट अहितकर बनाएकोले गत सेप्टेम्बर २३ तारिख शनिवार कै दिन देखि लागु हुने गरी निष्कासन गरेको निर्णय नेप्लिज एसोसिएसन अफ साउथ इष्ट अमेरिका (नसा )का अध्यक्ष माधव ढकाल तथा महा सचिव कृष्ण श्रेष्ठ द्वारा जारी छापा विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको थियो l

फाइल न १७ सियुसी २३३७६ रहेको उक्त मुद्दा सुशील नेपाल ले संस्थाका अध्यक्ष माधव ढकालको नाममा जारी गरेका छन् l वादी सुशील नेपाल २०१५ -२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ -२०१९ का लागि सेप्टेम्बर ३ तारिख कार्यकारी उपाध्यक्ष समेत रहेका थिए l

उक्त मुद्दा दायर पत्रको चौथो दाबीमा आफ्नो अधिवक्ताको कानुनी खर्च तथा आफ्नो ख्यातिको क्षति भएकोले दाबी गर्दै $ २५ हजार डलर भन्दा ज्यादा नर्थ क्यारोलिनाको कानुन अनुसार संस्थाले बेहोर्नु पर्ने उक्त कुरा लेखिएको छ l

पटक पटक नेपालको मुद्दा फिर्ता लिन संस्थाका पूर्व पदाधिकारीहरूले उनलाई निष्काशित गरेको विषयमा लिएर पुनर्बहाली गर्ने दबाब दिँदा अध्यक्ष माधव ढकालले संस्थाको छवि बिग्रिएको हुनाले कसैलाई दबाब नदिन सामाजिक सञ्जालमा लेखेका थिए l वादी सुशील नेपालले पनि आफू निर्वाचनमा शानदार विजयी भएकोले आफूले कुनै कसुर नगरेको भन्दै पुनर्बहालीको माग गर्दै आएका थिए l

अमेरिकामा यसरी विवाद, झगडा, मुद्दा मामिलामा चरम रूपमा मुछिने राष्ट्रिय स्तरका मुनाफारहित सामाजिक संस्थाहरूमा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए), एनआरएन, नेपाली जन सम्पर्क समिति अमेरिका, अमेरिकामा रहेका तराईवासिहरुका संस्था, नसा, जनजाति महासङ्घ अमेरिका (फिफना)आदिहरू पनि यस चपेटामा परि सकेका छन् l

स्मरण रहोस् अमेरिकामा रहेका सबै सघ/संस्थाका आफ्नै विधि विधान हुन्छन् l अन्याय परेको जो कसैले त्यही विधानको मातहतमा रहेर न्याय खोज्ने प्रस्ट अन्य विकल्प पनि हुन्छ l साधारण सभा तथा विशेष साधारण सभाले पनि यस्ता विषयलाई छलफल गरी निर्णयमा पुग्ने सकिने भएता पनि यसलाई बेवास्ता गर्दै सोझै अदालत जानु भनेको अमेरिकामा रहेका अमेरिकन वकिललाई पस्नु मात्र हुनु हुनेछ l यसले कसैलाई पनि फाइदा गर्ने छैन l समुदायहरू यस्ता विषयमा एकै ठाउँमा बसेर समाधान गर्ने मार्ग खोज्न चाहन्छन् l अमेरिकामा रहेका कुनै सङ्घ/संस्था तथा कुनै पनि व्यक्तिले यस्तो अपनाउनु नपरोस l

प्रतिक्रिया