अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

केही मुक्तकहरु

तीर्थराज अधिकारी २०७४ कार्तिक ११ गते २१:२६ मा प्रकाशित

हरियो साग सब्जीमा कीटनाशीको कहर छ
दूधको भाउमा किनेको पानीमा जहर छ
हरेक वस्तुमा रसद्रव्य पाइन्छ प्रभु ! अचेल
निन्द्रामा शुद्ध सपना देख्न समेत रहर छ।

x
चौलानी जस्ता पनेला कुराहरू पानी सरी पिउनु पर्छ
उध्रिएका छेउ छाउ मनकै सियोले सिउनु पर्छ-
गृहस्थीको सुन्दर मन्दिर बादबिबादको केन्द्र होइन
आफ्नोलाई जित्नु छैन सँग सँगै जिउनु पर्छ।

x
कुनै,निदान बिनाको विधान लेखेर चिप्लिए
कुनै,बाह्रै महिना हरियो देखेर चिप्लिए
भाँती भाँतीका चिप्ल्याइ हुँदा रहेछन् यो लोकमा
बिचरो तीर्थे केराको बोक्रोमा टेकेर चिप्लिए!

x
साना तिना काँडे तार त बुट र लठ्ठीले फाल्ने थिएँ
जनताले पिच्च नथूक्ने भए एउटा कदम चाल्ने थिएँ
थूक-रक्षकको दरवन्दी छिट्टै सृजना हुन्छ भने ,साहेव!
म पनि ठुलै पदको लागि एउटा दरखास्त हाल्ने थिएँ।

x
न म कसैको थैलीमा छु ,न गोजीमा छु
जीवन्त जीवन आफैँ जिउने रोजीमा छु
खान तलासी लिएर कतै नखोज मलाई
म त एउटा मौलिक मनको खोजीमा छु।

 

नोट-
रचनाकार “मुक्तक मणि” उपाधिबाट विभुषित हुन।

Email-tsadhikari@yahoo.com
नाम-तीर्थराज अधिकारी ,
रामघाट, पोखरा -१०,

हाल अमेरिका ।