अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

सरकार कहाँ छ ?

डा. किशोर सापकोटा २०७६ असार २८ गते १९:४९ मा प्रकाशित

खेतमा किसानले १० रुपियाँ किलोमा गोलभेँडा बेच्छ,
त्यही गोलभेँडा सहरमा उसैको छोराले किलोको डेढ सय तिर्छ ।
एउटा पम्पमा किनेको ४ लिटर पेट्रोल,
अर्कोमा गएर नाप्ने भने ५ लिटर हुन्छ ।
यही भएर मलाई सोध्न मन लाग्छ,
नेपाल सरकार कहाँ छ?

नेता उपचार गर्ने भनेर विदेश जान्छ,
व्याङकमा पैसा राखेर आउँछ ।
जनताको छोरो पैसा कमाउन विदेश जान्छ,
कोटि कोटि हन्डर खान्छ,
अनि काठको बाकसमा कोचिएर आउँछ ।
साहु समाजसेवा गर्छु भन्छ,
भ्याट फ्री उपकरण किनेर ल्याउँछ,
टन्न पैसा कमाउँछ,
अनि कर लगेर पाटी कार्यालयमा बुझाउँछ ।
यस्तै यस्तै भएर सोध्न मन लाग्छ,
नेपाल सरकार के गर्दै छ?

जसले समाजमा सकारात्मक काम गर्छ,
सरकार उसैलाई घोक्रे ठ्याक लगाउँछ ।
जसले सबैभन्दा अमानवीय काम गर्छ,
उसैले माननीयको दर्जा पाउँछ ।
देश विकास गर्ने नीति पारित गर्छ,
आफन्त पोस्ने नीति कार्यान्वयन गर्छ ।
चार किल्ला रक्षा गर्ने सिपाही,
सिपाही नै भएर अवकाश पाउँछ ।
नेताको जुत्ता पोलिस गर्ने सिपाही,
वर्षैपिच्छे तक्मा लाउँछ ।
यस्तै यस्तै भएर मलाई सोध्न मन लाग्छ,
सरकार, नेपाल कता जाँदै छ?

दुइसय वर्ष पहिले बनाएको धरहरा ढल्यो,
सरकार तीन वर्षमा जग खन्न पनि सक्दैन ।
तीन सय वर्ष पहिले बनेको रानी पोखरी भत्कियो,
तीन वर्ष सम्म कसरी बनाउने योजना बनाउन सक्दैन ।
खाने पानी नपाएर जनता काकाकुल भएको देख्दैन,
अरबमा पानी निर्यात गर्छु भन्छ ।
बाटोको खाल्डाखुल्डी पुरिदेऊ सरकार भन्दा,
पहिले चन्द्रमामा रकेट पठाउँछु भन्छ ।
झोलुङ्गे पुल बनाइदेऊ सरकार भन्दा,
पहिला पानी जहाज ल्याउँछु भन्छ ।
यस्तै यस्तै भएर मलाई बुझ्न मन लाग्छ,
नेपाल सरकार के गर्दै छ?

देशमै उद्योग खोलौँ भन्यो,
पैसा सबै तलब भत्तामा सकाउँछ ,
अरबको उद्योगमा काम गर्न जाऊ भन्छ,
र, ती देश सँग नयाँ दौत्य सम्बन्ध गर्छ ।
ज्डिबुटि घाँसको भाउमा विदेशमा बेच्छ,
अनि उसैको औषधी सुनको मूल्यमा किन्छ ।
फेसबुकमा मार्दीम्ला भन्नेलाई समातेर जेल पठाउँछ,
बलात्कार गरेर मार्दिनेलाई चाहिँ उम्कन सघाउँछ ।
यस्तै यस्तै भएर मलाई सोध्न मन लाग्छ,
नेपाल सरकार कता जाँदै छ ?