अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

कलियुग (सवाई छन्द)

डा. किशोर सापकोटा २०७७ असार २९ गते १५:४४ मा प्रकाशित

कलियुग हो यो काल, जे नि हुनसक्छ,
विश्वास छैन कसैको, जे नि गर्न सक्छ ।
नौ कक्षामा फेल भको, डाक्टर बन्न सक्छ,
साइन्समा डिग्री वाला, खेत खन्न सक्छ ।

विदेश नीति पढ्नेहरू, कोरियाको मजदुर,
चम्चागीरी गर्नेहरू, विदेशको राजदूत ।
नेता गिरी गर्नेलाई, चिट्ठा पर्न सक्छ,
सत्य कर्म गर्नेको नै, दाँत झर्न सक्छ ।

झुटो प्रेम गर्ने वाला, दिलमा बस्न सक्छ,
राष्ट्र प्रेमको कुरा गर्ने, जेलमा फस्न सक्छ ।
खुट्टा मोल नेताज्यूको, चम्चा गिरी गर,
स्वाभिमानी बन्छु भन्ने, अल्पायु मै मर ।

आफ्नै मान्छे ठानेकोले, जालमा पार्न सक्छ,
जन्म दिई हुर्काउने, बाउले मार्न सक्छ ।
आँसु पुछ्ने वाहानामा, विष दिन सक्छ,
पुण्य कार्य गर्छु भन्दै, ज्यान लिन सक्छ ।

फल् पाक्ला वा काँचै झर्ला, कर्म गर्दै जाऊ,
पराइको भर छैन, आँफै भित्र रमाऊ ।
आफैलाई चिन्नलाई, वर्षौँ लाग्न सक्छ,
नचाहिने काम गर्दै, दिन बित्न सक्छ ।

पराइको इष्र्या गर्दै, जोवान् बिती जाला,
कमाएको आफ्नै भाग नि, पराइले खाला ।
देवताको मुकुन्डोमा, राक्षस आउला,
उसको कुरा नमानेमा, जिउँदै चपाउला ।

मान्छे चिन्न अति गाह्रो, के सजिलो छ र?
नचिनेको मान्छे सँग, टाढै बस्ने गर ।
सुरक्षा र शान्ति पनि, आँपै गर्नु पर्छ,
सरकारको भर परे, अकाल मर्न पर्छ ।