अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

हेलो सरकार

रश्मि भट्ट २०७८ असार १६ गते ७:१७ मा प्रकाशित

कविता
खड्कुँलोले अनुदान उभाएर
चम्चाले राहत बाॅडीरहेछ सरकार
साँच्चै घाइते र दुःखी गरिबलाई
आहत बाँडिरहेछ सरकार
अझै दुःख भयो रे उसैलाई
शासन व्यवस्था समायोजन गर्न
लाजै नमानी ढाँट्दै हिँडिरहेछ सरकार ।।

कहीँ नभएको जात्रा हाँडी गाउँमा
कहीँ नभएको दुरावस्था नेपालमा
कहीँ नजन्मिएका नेता हाम्रै देशमा
आहा !ब्रम्हलुट र भ्रष्टाचार
हत्या हिंसा र ब्याभिचार
गिनिज बुकमा नाम लेखाउन त काम लाग्ला
डम्फु त बजाउनै पर्छ सराकार ।।

एक क्रूर शासकको बदलामा
हजारौँ क्रूरहरू जन्माइरहेछ समय
सत्ताकै लुछाचुँडी र हानाथाप
महामारी आओस् कि बाढी पहिरो
खोप र औषधीको अभावमा हृदयभरि वेदना बोकेर
जिउँदै चिता चढ्दैछन् जनता
चित्कारको यो वलीवेदीमा
रोदन र क्रन्दनको आहालमा
कान थुनिरहेछ सरकार ।।

ऑखा बन्द गरेर राम्रैसँग
अट्टहास गरिरहेछ सरकार
नथाक्ने त एउटा मुख मात्रै रहेछ
अकणटक वाकयुद्ध छेडीरहेछ सरकार
अझै अचम्म त यो पो छ
आफ्नै घर झगडा आफै साम्य गर्न नसकेर
उही दुष्ट छिमेकी नै गुहारिरहेछ सरकार
आहा! हाम्रो सरकार
हेलो सरकार ।।