अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

प्रवासका पीडा

रश्मि भट्ट २०७८ मंसिर १५ गते १९:२७ मा प्रकाशित

कविता

साँचो हैन कठै विदेश जगमा पाइन्छ सारा सुख
खाँचो मात्र सँधै छ द्रव्य घरमा रोएर खाने मुख
खोजेँ जागिर राष्टको सबैतिरै मिल्दैन केही गरी
थाकेँ आजित भई विदेश म हिँडे ,जे जे त पर्ला भनी ।।

पैसा फल्छ भनी हजार भ्रमका सुन्थे म चर्चाहरू
देख्थेँ व्यर्थ सरी बजार भर नै पम्लेट पर्चाहरू
कस्तो यो ठगको कुकर्म तिनको कालो छ धन्दाहरू
धेरै छन् यसरी परेर भ्रममा पर्देश भाग्नेहरू ।।

छाला हाड सरी भएर श्रममा मेसिन बन्दा पनि
खाने गाँस कपास बास सब यो जोडिन्न राम्रो पनि
काटी ॠण हजार लाख सबको तिर्नै छ रे ब्याज नि
सारा खेत छ बन्धकी र घरको भर्नै छ रे पेट नि ।।

प्यारीका पनि छन् अमूल्य सपना, माता पिताका पनि
रून्छन् प्राण सरी, बसेर मुटुमा सन्तान प्यारा पनि
यी साना सपना पुरा म कसरी ? कैले गरूला बरु
मेरा निम्ति यही छ भार अति नै, सोचूँ म खै के अरू ?

हे ! सरकार तिमी, कुनै त अव ता आधार देऊ हेर
रोजी रोटी मिले अवश्य म छिटै फर्कन्छु हाँस्दै घर
फर्कौँ आज भने सवाल छ उही बेहाल उस्तै घर
बाँकी यो सब जिन्दगी पनि यतै बित्ला कि भन्ने डर ।।

***********
छन्द — शार्दूल