अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 11:18

म चाकरी गर्दिन

रश्मि भट्ट २०७८ फागुन ८ गते २०:३६ मा प्रकाशित

कविता

ठुलो बडो,धनी र सम्पन्न
राजा ,महाराजा
अनि तिनीहरूका
हरुवा ,चरुवा ,भरौटे र
सात पुस्तालाई देखे भने पनि
म बिस हात परै देखी
धनुष्टङ्कार गर्दै हिँड्छु
नमस्कार गर्दै गर्दिन
किनकि म चाप्लुसी र
चाकरी गर्नै जान्दिन ।।

पद तथा कुर्सीमा बसेका
मन्त्री, नेता, हाकिम
बाडा हाकिम देखे भने
फुल माला, अवीर र खादा
लिएर सबैभन्दा चाँडै पुग्छु म
शुभ कार्यमा ढिला गर्नै हुन्न
उच्च मान्यता राख्छु म
जसले जे सुकै भनोस्
वास्ता हुँदै हुन्न मलाई
किनकि म चाप्लुसी र
चाकरी त गर्नै जान्दिन ।।

म अति विनीत पनि छु
सबैलाई मित्र मान्छु
तर मलाई खासै काम नआउनेहरूलाई
सजिलै पाखा लगाउन सक्छु म
चाल पाउँदा हुन् कि नपाउँदा हुन्
ती सोझा र गँवारहरू
मेरा कुचाल र यी षडयन्त्रहरू?
उनीहरूसँग राम्रो बोल्न
खोज्दा खोज्दै पनि
कहा जान्छ जान्छ
त्यो मेरो मृदु भाषा ?।
सबैलाई समान ठान्छु
पक्षपात गर्दै गर्दिन
किनकि म चाकरी र
चाप्लुसी गर्नै जान्दिन ।।

राजनीतिमा मात्र हो र ?
समाजका सबै पक्षमा
अझै साहित्यमा मलाई
मान र स्थान दिनेहरूलाई
सीधै पुरस्कार दिनेलाई त
म यति उपनामले पुष्पित गर्छु कि
सायद शब्द कोषमा थपेर
राख्नुपर्ला, यी मायावी शब्दहरू
कसैलाई काम नलागे पनि
म जस्तै भावी पुस्तालाई त ।
अवश्य काम लाग्ला
मेरो सद्भाव, सद्ज्ञान
च्यात्न र फाल्न मान्दिन
किनकि म चाप्लुसी र
चाकरी गर्नै जान्दिन ।।