अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

साहित्यकार रिता देवी प्रधान र “नदेखिने आँसुमा डुबुल्की “कविता सँग्रह एक अध्ययन विश्लेषण

रश्मि भट्ट २०८० वैशाख २७ गते २०:०० मा प्रकाशित

नेपाली साहित्य फाँटका अनगिन्ती साहित्यकारहरू मध्ये एक चिरपरिचित स्रष्टा, नारी हस्ताक्षर, साहित्यकार रितादेवी प्रधानको नेपाल भाषा र नेपाली भाषामा गरी झन्डै आधा दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् ।” नदेखिने आँसुमा डुबुल्की “कविता सँग्रह रिता देवीको प्रधानको सातौँ कृति हो । यो विशुद्ध गद्य कविता हो, स्वच्छन्द कविता हो । यस कविता सँग्रहमा जम्मा जम्मी तीस शीर्षकमा कविता र एक शीर्षकमा चारवटा मुक्तक छन् । मुक्तक चटक्क मीठो र थोरै चटनीको रूपमा छ । कविताहरू कुनै लामा कुनै छोटा छन् तर पढ्न झर्को नै लाग्ने खालका कुनै पनि लामा कविता यसमा छैनन् । कविताहरू सरल छन् सरस छन्, तर अर्थयुक्त र सबैका लागि बोधगम्य पनि छन् । एउटी नारी स्रष्टामा चाहेर वा नचाहेर पनि नारीका बिवन भोगाइका विषयमा कलम चलिहाल्छ, चलाउनुपर्छ । नारीका जीवनका सुख, दुःख र जीवन भोगाइका पाटाहरू उघार्दै नउघार्ने सायदै कुनै नारी लेखिका हुन सक्दैनन् होला, छैनन् होला कुनै पनि भाषा र यस धरतीमा ।

कविले कवितालाई जे जस्तो अर्थमा लेखेको भए पनि कविता पढ्ने हरेक पाठकको बुझाइको दृष्टिकोण फरक हुन्छ र फरक फरक तरीकाले बुझे पनि अर्थ वा चुरो एउटै रहन्छ । मन वचन कर्म, धर्म, मोक्ष, वरत्र, परत्र सबै सबैको ज्ञान सर्जकमा छ, ईश्वर भक्ति छ, वेद पुराण, महाभारत रामायणको ज्ञान छ । पढेर, सुनेर वा धार्मिक अनुष्ठानहरू जेबाट भए पनि सर्जकमा सांसारिक सुख दुःख, धर्म पाप, असल, कमसल सबै सबै कुराको ख्याल र ज्ञान छ । यी सबै असल भावहरू हुन् । कृतिका धेरै कविताहरूले यी भाव मुखरित गरेका छन् । नारी देवताको पालादेखि, वैदिक काल देखिनै अथवा हिजो, आज पनि शक्तिशाली छन्, मूल्यवान् छन् र पीडित पनि छन् । तापनि भोलि भोलि देखि अनन्त सम्म अस्तित्वमा रहिरहनेछन् । यसको लागि म नारी म नारी भन्दै कराउनै पर्दैन, बस राम्रो कर्म नै गर्दै जाऊ सफलताले बाटो आफै खोज्छ भन्ने आशय छ । सबैलाई यसो भनेर मात्रै त नपुग्ला, सबैलाई भाग्यले साथ पनि नदेला । धेरै नारीहरू असल कर्म, धर्म र कर्तव्य निर्वाह गर्दा गर्दै पनि अन्यायको मारमा परेका छन्, मारिएका छन्, लुटिएका छन् कुटिएका छन् दबाइएका छन् हेपिएका, चेपिएका छन् । हिंसा, हत्या र बलात्कारमा परेका छन्, उनीहरूका आवाजहरू ओझेलमा छन् । उनीहरूका लागि, समस्त नारी जागृतिको लागि, हामी आफ्नै लागि हामीले पुरातन शैलीको सहनशील सुशीला र कर्तव्य परायण भएर मात्र पुग्दैन । हामीले केही ठोस कदम र आवाजहरू उठाउनै पर्छ पिडितहरूका लागि ।

छोटो छरितो यस कविता कृतिमा लगभग भूमिका पनि आधा उधी नै छ, जो कोहीले यस कृतिलाई पढ्दै जाँदा भुमिकाबटै पनि कृतिको धेरैजसो मुख्य चुरोहरू सहजै पत्ता पाउन सकिनेछ । भूमिका लेखन सबैको सशक्त छ, महत्त्वपूर्ण छ । कवितामा घर देश, परदेश सबै ठाउँको सुख दुःख, पीडा वेदना, यथार्थता समेटिएको छ । आफ्नो देश छाडेर विदेश किन आउँछन् भन्ने कुरा नेताहरू कविताबाट प्रस्ट हुन्छ । इज्जत, प्रतिष्ठा सबैभन्दा ठुलो कुरा हो, पैसाले यसलाई किन्न सकिँदैन, खराब तरीकाले कमाएको पैसा पैसा नै हैन त्यसले कहिल्यै सुख दिँदैन भनिएको छ, जुन कुरा घाम जतिकै सत्य छ । यति हुँदा हुँदै पनि पैसा विना केही केही नहुने र बाॅच्न नसकिने कुरा फेरी पैसा कविताले उजागर गरेको छ । सत्य कर्म र परिश्रमबाट पैसा कमाउनु पर्छ । कृतिको पहिलो तराजु शीर्षकको कविता अत्यन्त मीठो छ । कविताको केही अंश—

“कर्मघरसँग माइतीघरको तराजु तल पर्ला कि भन्ने डर
माइतीघरसँग कर्म घरको तराजु तल पर्ला कि भन्ने डर
छोरा र छोरी बिच तराजु समान भयो भएन कि भन्ने पिर
मरेपछि पनि पृथ्वी र स्वर्ग बिच तराजु तल माथि होला कि भन्ने पिर”—।

कति मार्मिक र सत्य भाव ।

यसै गरी नारी, उदगार, सितैमा प्रेम हुन्न, तीज, आफैलाई हराएर, ध्रुव सत्य आदि कविता पनि मन छुने खालका छन्, राम्रा छन् र बाँकी सबै कविताहरू पठनीय छन् सबै,सबै कविताको स्वाद लिन इच्छुक पाठकहरूले वहाॅसॅग सम्पर्क गरेर पढेर नै रस स्वाद लिनु पर्ने हुन्छ । एक अर्काको कृतिहरू पढ्नु, मन लागेको, देखेका दुईचार सत्य लेखिदिनु हामी सबै साहित्यकारको धर्म भित्र पनि पर्न आउँछ ।

मीठो, मन छुने र नारीको वास्तविक भोगाइ र पीडाको सही भाव चित्रण छ यस कविता कृतिमा । जति जति कुरामा समानताको नारा लगाउदै र व्यवहारमा उतार्दै गए पनि नारी र पुरुष बिचको तराजु समान नभए सम्म नारी माथि हुने असमानता हट्दैन । आहा निकै सत्य बुँदा छ यो । त्यस्तै आगो कविताले आगोको महिमा र हानी, पानी कविताले पानी के हो सम्पूर्ण रूपमा निकै महत्त्वपूर्ण व्याख्या गरेको छ, तसर्थ आगो र पानी दुवैसँग जिस्कन खोजे विनष्ट हुनु पर्ने र सही ढङ्गले चले मात्र सहज हुने स्पष्ट पारिएको छ । आगो र पानी एक अर्काका विपर्याय हुन, तापनि यी दुवै बिना हामी मनुष्य र कुनै पनि प्राणीको अस्तित्व छैन । सबै सबै कविता पठनीय छन्, मार्मिक र मर्मस्पर्शी छन् । फेरी एउटी आमालाई त आफ्ना सन्तान जति भए पनि उति नै प्यारा मायालु र महत्त्वपूर्ण हुन्छन् । अरूले नै भन्ने हो माहिलो यस कारणले राम्रो, कान्छो अर्को कारणले राम्रो वा जेठो राम्रो । घटी बढी अङ्क दिने काम त कविता पढ्ने, बुझ्ने, कवि र कविताहरूलाई माया गर्ने पाठकको काम हो ।पैसा, जाँगर, मन आदि कविताले साँचो र सरल भाव व्यक्त गरेका छन् । मन बुढो नभए कहिल्यै बुढो होइन्न भने जस्तै एक पटक प्रत्यक्ष भेट्ने अवसर समेत मलाई मिलेकोले मैले हेर्दा रिता देवी प्रधान तन, मन, विचार कुनै कुराले पनि साँच्चै वय ढल्केको अवस्थामा देखिनु नै हुन्न, सशक्त युवा वर्ग जस्तै पो देखिनुहुन्छ । कविता भन्दा जे- जसरी भए पनि म्सलाई ध्यान केन्द्रित गराएरै छाड्न सक्नुहुन्छ, फिटिक्क हल्ला गर्नै नसक्ने गरी । कस्तो खुसी र सत्य कुरा । म एउटी नारीलाई, एक अग्रज, आदरणीय नारी स्रष्टाकै र प्रिय दिदीको उपहार स्वरूपको यो कविता कृति पनि ।

यसरी समष्टिमा नदेखिने आँसुमा डुबुल्की नामक सिङ्गो कविता कृतिलाई अक्षरशः पढेर हेर्दा बनावटको ढाँचाले पनि हलुको छरितो, ठिक्क सँख्यामा कविताहरू, विषयवस्तुमा देश, परदेश, नारी मन र जिन्दगीका भोगाइहरू, धार्मिक पक्ष, नैतिक चेतना, सत्य पक्षको खोजी, असल कर्म, असल विचार छन् । नेपाल भाषामा पनि विशेष कलम चलाउने हुँदा ठाउँ ठाउँमा त्यसको लवज , तथा थोरै प्रभाव भाषा शैलीमा छ । समयकै गहिराइमा घोत्लिएर नभै ठीकैसॅग हिजो, आज र भविष्य सम्मको चिन्तन मनन छ । कुनै पनि कृतिमा लेखक भित्र जे आवाज छ, जे कुरालाई महत्त्व दिन खोजिएको हो, प्रत्यक्ष, परोक्ष निस्कन्छ, धेरै वा थोरैमा हुन्छ । सर्जकको असल विचारहरू कविता मार्फत प्रकट भएका छन् ।शीर्षक पनि सबै कृतिमा सार्थक हुनै पर्छ भन्ने मान्यता पनि छैन र सबै सर्जकको सोही चाहना हुँदैन, प्रत्येक कविताले शीर्षकलाई नै फलीभुत गरोस् । यस कृतिमा पनि यस्तो सार्थकता सीधै नभएर लाक्षणिक रूपले पो राखिएको हो कि भन्ने लाग्छ । कतिपय नारीका पीडाहरू देखिने गरी ऑसुमा डुबुल्की मार्छन् भने, कतिका नदेखिने ऑसुमा । फरक यति नै हो अझै पनि नारी भित्र वेदना र पीडाका आँसुहरू समाप्त भएका भने छैनन् । सायद हामी सबैकी सर्जक रिता देवी प्रधान यही भन्न खोजी राख्नुभएको छ यस कविता कृति मार्फत । आहिलेलाई यस कृति बारे यति नै ।

रश्मि भट्ट न्यु योर्क, अमेरिका ।