अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

डा. विकास शाक्यको अध्यक्षतामा एनसीएनसीको कार्यसमिति गठन

कृष्णराज खनाल २०८० पुष ३ गते १३:४९ मा प्रकाशित

राले, अमेरिका । डा. विकास शाक्यको अध्यक्षतामा नर्थ क्यारोलिनास्थित नेपालीहरूको जेठो संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यसमिति गठन भएको छ । डा.शाक्यले आफ्ना प्रतिद्वन्द्वी डा. चिरञ्जीवी भट्टराईलाई एक सय १४ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

निर्वाचन आयोगका अनुसार, नवगठित कार्यसमितिको महासचिवमा कल्पना भण्डारी निर्वाचित भएकी छन् भने वरिष्ठ उपाध्यक्षमा ददिन्द्र पाण्डे र उपाध्यक्षमा नारायण लुइँटेल विजयी भए । पाण्डे र लुइँटेलले क्रमशः कुलानन्द शर्मा र रचना सुवेदीलाई पराजित गरेका थिए । यस अघि डा. भोज गौतम सहसचिवमा र ईश्वर ढकाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । समितिका विजयी सदस्यहरूमा प्रियांशु नेपाल, रमेश ओली, निभिता शर्मा, तीलाकुमारी धमला, र कालिदास भण्डारी रहेका छन् ।

एक हजार २४ मतदाता रहेको एनसीएनसीको निर्वाचन डिसेम्बर १७ आइतबार साँझ सम्पन्न भएको थियो । प्रतिकुल मौसमका बाबजुद पनि सो निर्वाचनमा ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

डा. शाक्य र भट्टराईले आआफ्नो प्यानल खडा गरेर उम्मेदवारी दिएका थिए । विजयी भएपछि यस समाचारदातासँग कुरा गर्दै डा. शाक्यले नर्थ क्यारोलिनाका मतदाताहरूले समाज परिवर्तनको चाहना राखेको, विषय विज्ञता खोजेको र समाज बढी परिपक्व हुँदै गएको कारण आफ्नो प्यानलले जितेको दाबी गर्नुभयो । उहाँले मतदाताहरूले राजनीतिक भन्दा पनि अनुभवी, कार्यदक्षता, क्षमता र व्यावसायिक मानिसहरू आउन् भन्ने चाहना रहेको पाइएको जनाउँदै उहाँले विवेक प्रयोग गर्ने सबै मतदातालाई धन्यवाद दिँदै हिजोको प्रतिस्पर्धा सकिएको र आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।