अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

नर्थक्यारोलिनामा नेपाल परेड डे सम्पन्न

कृष्णराज खनाल २०७९ वैशाख ५ गते १९:०८ मा प्रकाशित

नर्थ क्यारोलाइना, अमेरिका । नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार नेपाल परेड डे सम्पन्न भएको छ । नर्थक्यारोलिनामा गरिएको यो छैटौँ संस्करण हो ।
त्यस अवसरमा नेपाललाई चिनाउने सांस्कृतिक झलक, नेपालीचर्चित लोक गीत र सङ्गीत, पर्चा पम्प्लेट, नेपाली स्टल र मनोरञ्जनका विभिन्न साधनहरूले ससाना बालबालिका देखि बृद्धबृद्धासम्म रमेका देखिन्थे । सो अवसरमा नेपाली नयाँ वर्ष २०७९ को पनि शुभकामना आदान प्रदान गरिएको थियो ।

नेपालीहरूको बाक्लो बस्ती रहेको मोरिसभिलमा शनिवार बिहान ११ बजेदेखि साँझ चार बजेसम्म सञ्चालन भएको सो परेडमा करिब चार सय नेपालीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा अमेरिकाका स्थानीय प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

नर्थ क्यारोलिनास्थित नेपालीहरूको संस्था एनसीएनसी (नेपलिजकमिटी अफ नर्थ क्यारोलाइना) को आयोजनामा सम्पन्न सो कार्यक्रममा स्थानीय प्रतिनिधिहरूले नेपालको बारेमा आफूले धेरै कुरा सुनेको र कुनै दिन नेपालजान मन लागेको बताउँदै नेपालीहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गएकोमा खुसी व्यक्त गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल र अमेरिका बिच आपसी सम्बन्ध अझ प्रगाढ हुने कुरामा प्रकाश पार्नु भएको थियो ।

त्यस अवसरमा मोरिसभिलकापूर्व नगर प्रमुख मार्क स्टोल्ह्याम, वेक काउन्टीका कमिस्नर सिगहुचिन्सन, नर्थ क्यारोलिनाका सिनेटर विलीन केल, नर्थ क्यारोलिनाका स्टेट सेक्रेटरी इलेन मार्शल र मोरिसभिलका काउन्सिल म्यान स्टिभ राओ आदि वक्ताहरूले नयाँवर्षको शुभकामना समेत दिँदै कार्यक्रम आयोजना गरेकोमा एनसीएनसीलाई धन्यवाद दिनु भएको थियो ।

आजको परेडमा सहभागिताका लागि आउनु भएका एनआरएनका केन्द्रीय महासचिव डा. केशव पौडेलले यस्ता सांस्कृतिक कार्यक्रमले नेपालसँग जोडिन र यसको प्रवर्धन गर्न सहयोग मिल्ने कुराको जानकारी दिनुभयो । त्यस्तै, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले एनआरएनको उद्धेश्य पनि नेपाली संस्कृतिको वृद्धि नै हो र यस्ता कार्यक्रमलाई सबैले प्रवर्धन गर्नुपर्छ भन्नुभयो । उहाँले डलरको तरलता घटेकोले नेपालमा डलर खाता खोलेर नेपाल सरकारलाई सहयोग गर्नुपर्ने खाँचो पनि औँल्याउनुभयो । त्यस्तै, एनआरएनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले पनि परेड डेको महत्त्व माथि प्रकाश पार्नुभएको थियो ।

नेपाल परेड डेको बारेमा संक्षिप्त चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली राजदूतावासका उप प्रमुख कुमार राज खरेलले नेपाल विविध कुराले अग्रणी रहेको बताउनुभयो । उहाँले नेपाल विभिन्न जातजाति, भाषा भाषी र विविधि सांस्कृतिक सम्पदाले धनी रहेको कुराको जानकारी दिनुभएको थियो । कार्यक्रममा कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली कम्युनिटीले आरटीपी क्षेत्रमा ठुलो योगदान दिएको छ भन्नुभयो । उहाँले नर्थ क्यारोलिनामा करिब सात हजार नेपाली रहेको जानकारी पनि दिनुभयो ।

सो अवसरमा सगरमाथा आरोही पत्रकार आङ छिरिङ शेर्पाले सगरमाथा आरोहणको अनुभव सुनाउँदै यो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो भन्नुभयो । यस्तै, युवा नेतृ दियामूलले पनि आफ्नो मन्तव्य राखेकी थिइन् । कार्यक्रममा कृष्ण नेपाल र सुजन न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा एनसीएनसीका अध्यक्ष आरपी (रामप्रसाद) पौडेलले कोरोनाका कारण विगत दुई वर्ष गर्न नसकिएको जानकारी दिँदै यस पटक विगतको भन्दा राम्रो भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले मोरिसभिलमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको मात्र होइन, यसले महत्त्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो । उहाँले यस्ता सांस्कृतिक कार्यक्रम हाम्रो पहिचान हो भन्नुभयो ।

तृप्ति स्वाँर र योगेन्द्र गौतमले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान बजाइएको थियो ।