अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

पत्रकार शर्माको तेस्रो कृति सार्वजनिक

कृष्णराज खनाल २०७६ कार्तिक १९ गते १०:०९ मा प्रकाशित

वोस्टन । लामो समयदेखि वोस्टनमा बसोबास गर्दै आउनुभएका पत्रकार तथा लेखक रमेश शर्माको तेस्रो कृति ‘अमेरिका दाइ सिमरिंग एगोनी’ अर्थात् ‘अमेरिका तेरो सल्कँदो वेदना’ प्रकाशित भएको छ ।

औपनिषदिक पूर्वीय दर्शनलाई मूल आधार बनाएर रचना गरिएको यो कृतिमा समावेश गरिएका कविताहरू गद्यात्मक छन् । कृतिमा केही लामा तथा छोटा गरी ६६ वटा कविता सङ्गृहीत छन् ।

संग्रहमा समाविष्ट कविताहरूले वर्तमान समयमा अमेरिकी राजनीतिले भोग्नुपरेको दुख, पीडा र वेदनालाई काव्यात्मक शैलीमा मुखरित गरेका छन् ।
यस समाचारदातासँग कुरा गर्दै शर्माले भन्नुभयो –म उपनिषदको उपासक हुँ र मलाई स्वतन्त्रता र स्वाधीनता अति प्रिय लाग्छ । अमेरिका पनि त्यही मूलभूत सिद्धान्त बोकेर हिँडेको र कथंकदाचित त्यसमा आँच आयो भने मलाई दुख लाग्छ । यही मूल सन्देशलाई बोकेर यो कृति प्रकाशित गरेको हुँ ।’

वर्तमानमा अमेरिकाको स्वतन्त्रता र स्वाधीनतामा आँच आएको आफूले पाएको बताउँदै पत्रकार शर्माले भन्नुभयो ‘यो कृतिले पनि पूर्ववर्ती कृति जस्तै उपनिषदको विश्वात्मवादी स्वरलाई नै बोकेर हिँडेको र अमेरिका हिन्दु राष्ट्र नै हो र हिन्दु राष्ट्र घोषित हुनुपर्छ ।’ कृतिमा समावेश करिब ८५ प्रतिशत कविताहरू प्रजातन्त्र, स्वतन्त्रता, स्वाधीनता, कानुनी राज्य र अमेरिकाको शक्तिका बारेमा लेखिएको छ ।

शर्माका अनुसार, अमेरिकाको राजनीति यतिखेर दुई शक्तिहरू रिपब्लिकन र डेमोक्रेटको द्वन्द्वमा अल्झिएको छ र यसो हुनु अमेरिकाको दुर्भाग्य हो । उहाँले कुनै पनि पार्टीको नाम नलिईकन एउटा शक्ति अमेरिकाको परम्परागत विश्वास र आस्था अनुकूल प्रजातन्त्र, स्वाधीनता र स्वतन्त्रताको पक्षधर देखिन्छ भने अर्को शक्ति संविधान र अमेरिकी स्वतन्त्रताको घोषणापत्रका मूलभूत आधारलाई खतम गरेर तथाकथित समाजवादमा आधारित शासन व्यवस्था लाद्न खोजेका छन्’ भन्नुभयो । उहाँले वर्तमान प्रशासनलाई निस्तेज र निष्क्रिय बनाउन प्रजातन्त्रका केही विरोधी अदृश्य तत्त्वहरू जानेर वा नजानेर लागिपरेको र यिनीहरू यो राष्ट्रको आधार स्तम्भलाई नै भत्काउन उद्यत छन्’ उहाँले भन्नुभयो ।

अमेरिकाको इन्डियानास्थित अथर हाउसले प्रकाशन गरेको यो कृति एक सय २८ पृष्ठको छ । यस अघि उहाँले अमेरिका तत्वमसि र अमेरिका अराइज एण्ड अवेक भन्ने दुई पुस्तक पनि प्रकाशित गर्नुभएको छ । यी तीनै कृति उपनिषदको विश्वात्मवादी दर्शनमा आधारित छन् ।