अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

आगामी महाधिवेशनमा पार्टीको आवश्यकता अनुसार कदम चाल्छु: गगन थापा

कृष्णराज खनाल २०७५ चैत २२ गते ९:५१ मा प्रकाशित

वोस्टन, अमेरिका । नेपाली काँग्रेसका प्रखर नेता, पूर्व मन्त्री तथा सांसद गगन कुमार थापाले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आवश्यकता परे आफू जुनसुकै पदमा पनि उम्मेदवार हुनसक्ने कुरा बताउनुभएको छ ।
जनसम्पर्क समिति वोस्टन च्याप्टरले उहाँको सम्मानमा हिमालयन विष्ट्रोमा आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद थापाले बुधवार साँझ सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो म अहिले नै यो वा त्यो पद भनेर भन्दिन तर पार्टीको आवश्यकता अनुसार कदम चाल्छु । पुरानो पुस्ताका नेताहरूले प्रजातन्त्रको प्राप्तिका लागि गर्नुभएको योगदान अतुलनीय छ, एउटा चिठी लेखेको भरमा मन्त्री हुन पाउने जमानामा उहाँहरूले बरु १० वर्ष जेल बस्छु चिठी लेखेर मन्त्री हुन्न भन्नुभयो । के त्यो प्रजातन्त्रको खातिर होइन र ? तर त्यसो भन्दैमा सदाकालका लागि उहाँहरूले पार्टीको नेतृत्वमा बसिरहन मिल्दैन, हामीलाई मार्ग निर्देश गरेर अलग रहनुपर्छ उहाँले भन्नुभयो ।

उहाँले त्यस अवसरमा नेपालको विभिन्न क्षेत्रमा संस्थागत सुधार र लोकतान्त्रिक संस्कृतिको विकास हुनुपर्ने कुरामा पनि जोड दिनुभएको छ । उहाँले कतिपय कुराहरू संविधानमा लेखेर मात्र नहुने रहेछ त्यसलाई सङ्घर्ष र सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प छैन, अब हामी सङ्घीयताबाट पछि हट्न सक्दैनौ भन्नुभयो । बरु यसका लागि सङ्घीय नेपाल चलाउन सक्ने सामर्थ्यको विकास गर्नुपर्छ भन्नुभयो ।

वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन विषयक दुई हप्ते कोर्सका लागि विश्वभरबाट आएका राजनीतिक, आर्थिक र सामाजिक व्यक्तित्वहरूसँगै कोर्स समापनको अन्ततिर पुग्नुभएका थापाले कोर्समा पूर्व प्रधानमन्त्री, राष्ट्रपतिका उम्मेदवार, मन्त्रीहरू, धनाढ्य व्यापारीहरूसँग भेटघाट, बहस र विमर्श भएको स्मरण गर्दै ज्यादा समय नेपालकै बारेमा बताउनुभयो । उहाँले भन्नुभयो हिजोको लोकतन्त्र र आजको लोकतन्त्रको विषयगत कुराहरूमा नै भिन्नता रहेको जनाउँदै देश बिग्रिएको, खत्तम भएको होइन यसलाई सकारात्मक वा नकारात्मक कुन कोणबाट हेर्ने हो त्यसमा भर पर्छ भन्नुभयो । उहाँले तीन तहको सरकार चलाउन परिरहेको छ तर त्यसका लागि हाम्रो सामर्थ्य विकास भइसकेको छैन, त्यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो । पञ्चायत र वर्तमान सरकारको आलोचना गर्दै स्थिरता नभएर विकास नभएको हो भन्ने कुरा नै गलत हो भन्नुभयो । 

स्वतन्त्रता र समानतासँग बाझिने गरी कुनै निष्कर्ष निकाल्न नहुने जनाउँदै उहाँले भन्नुभयो हाम्रो समृद्धिको मोडल के हो यस विषयमा गम्भीर बहस गर्नुपर्छ, हामीसँग थुप्रै चुनौती छन् तिनलाई पनि सम्बोधन गर्नुपर्छ भन्नुभयो । हाम्रो साझा कुरा के हो, हामीले हाम्रो उत्पादकत्व कसरी बढाउन सक्छौँ त्यसतर्फ ध्यान दिनुपर्छ उहाँले भन्नुभयो ।

दोहोरो नागरिकताका बारेमा राखिएको एक जिज्ञासामा सांसद थापाले भन्नुभयो तपाइहरू यो कुरामा ढुक्क हुनुहोस् । तपाइहरूले दोहोरो नागरिकता पाउनुहुन्छ । कालान्तरमा राजनीतिक अधिकार दिन पनि सकिन्छ, यसबारेमा बहस आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो ।

लगानी सम्मेलनका बारेमा प्रतिक्रिया व्यक्त गर्दै भन्नुभयो लगानी सम्मेलन गरेर मात्र हुँदैन, मुख्य कुरा डरबाट बाहिर निस्कनुपर्छ भन्नुभयो । च्याप्टरका सभापति ध्रुव घिमिरेको सभापतित्वमा आयोजित सो कार्यक्रममा अतिथिहरू विजय शर्मा, प्रल्हाद केसी, विष्णुमणि आचार्य, लोक लामा, अर्जुनजंग कुँवर, यादव दुलाल, सरिता ओली, राजेन्द्र थापा, दिनेश पाण्डे लगायतले संक्षिप्त मन्तव्य व्यक्त गर्दै सांसद थापालाई सुझाव पनि दिनुभएको थियो । यस अवसरमा उहाँलाई पशुपतिनाथ तथा बुद्ध स्तूपासहित वोस्टनमा निर्माण हुन लागेको सामुदायिक भवनको बारेमा पनि जानकारी दिइएको थियो ।

जनसम्पर्क समिति वोस्टन च्याप्टरकी महासचिव हरिप्रिया ढुङ्गेलले सञ्चालन गर्नुभएको सो कार्यक्रम अघि नेपाली राष्ट्रिय गान, विपी कोइरालाको तस्बिरमा माल्यार्पण र हालै बारा र पर्सामा गएको आँधी वेहरीबाट असामयिक मृत्युवरण गर्नुभएका महानुभावहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रमको अन्तमा सांसद थापालाई गणतन्त्र ल्याउन पुर्‍याउनुभएको उच्च योगदानको कदर गर्दै च्याप्टरका तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो । 

सम्बन्धित सामग्रीहरू