अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

वोस्टनमा देउसी भैलोबाट ४६ हजार अमेरिकी डलर सङ्कलन

कृष्णराज खनाल २०७७ मंसिर १४ गते २१:२८ मा प्रकाशित

वोस्टन, अमेरिका । पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इङ्गल्यान्ड (प्याव्फोन) ले वोस्टन क्षेत्रमा देउसी भैलो खेली करिब ४६ हजार अमेरिकी डलर रकम सङ्कलन गरेको छ ।

पशुपतिनाथ र बुद्ध स्तूप सहितको सामुदायिक भवन निर्माण गर्ने योजनासहित अगाडि बढेको प्याव्फोनले तिहारको अवसर पारेर दुई हप्ता अघि भर्चुअल देउसी भैलो खेलेको थियो । सो देउसी भैलोबाट वोस्टन क्षेत्रमा बसोबास गर्ने करिब तीन सय व्यक्तिले आआफ्नो गच्छे अनुसार सहयोग गरेका थिए । प्याव्फोनले करिब दुई वर्ष अघि वोस्टनबाट दस माइल दक्षिणमा पर्ने व्रेनट्री भन्ने स्थानमा मन्दिर निर्माणका लागि भवन खरिद गरेको थियो । सो केन्द्रमा हाल मन्दिर र स्तूपा निर्माणको कार्य भइरहेको छ ।

आफ्नै सामुदायिक भवनबाट प्रसारण गरिएको भर्चुअल देउसी भैलोमा यस क्षेत्रका एभरेष्ट ब्यान्ड र सुसेली समूहका कलाकारहरूले प्रस्तुति गरेका थिए । कोरोनाको सङ्क्रमणलाई दृष्टिगत गरी सो टाउनले २५ जनाभन्दा बढी व्यक्तिलाई प्रवेशमा निषेध गरेको थियो भने आयोजकहरूले उपस्थित कलाकारहरूलाई सामाजिक दूरी कायम गर्न र अनिवार्य मास्क प्रयोगमा पूरापूर ध्यान दिएका थिए ।

विगत वर्षमा देउसी भैलोबाट तेह्र चौध हजार डलर रकम मात्र उठ्ने गरेकोमा यस पटक भने सो रकमभन्दा करिब तीन गुना बढी रकम उठेको हो । चन्दा रकम आउने क्रम अझै जारी रहेको बताइएको छ ।

मन्दिर निर्माणको कार्य भइरहेको कारण मानिसहरूले यसमा चासो मात्र दिएनन् चन्दा रकम पनि दिएर हामीलाई धेरै सहयोग गरेका हुन् प्याव्फोन बोर्ड अफ ट्रस्टीका अध्यक्ष सुशील चन्द्र पौडेलले भन्नुभयो । उहाँका अनुसार, यस पटक दायरा पनि अलिक फराकिलो बनाइएको र परिचालन पनि बढी गरिएको कारण यति धेरै रकम उठेको हो । उहाँले यो रकम मन्दिर निर्माणमा नै खर्च गरिने जानकारी दिनुभयो । कार्यक्रम करिब दुई घण्टा चलेको थियो ।