अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

मुक्तकका ‘मणि’ तीर्थराज अधिकारी

कृष्णराज खनाल २०७८ साउन २७ गते ८:४४ मा प्रकाशित

पत्रमञ्जुषाम किताब! म दङ्ग परेँ । को होला मलाई यति माया गरेर किताब पठाउने भनेर एक छिन त अलमलमा परेँ । कोही पुस्तक प्रेमी त होला । त्यस बेला दुई तीन जनालाई सम्झेँ । किताब मोटो पनि छ, बाहिरको गातो पनि कडा छ । कसले होला ? यस्तै सोच्दै घरभित्र छिरेँ र गाता खोलेर हेरेँ–चिर परिचित साहित्यकार तीर्थराज अधिकारीको रहेछ । साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ शीर्षकमा लेखिएको रहेछ यो किताब । सरर पढेँ र त्यही पुस्तक पढेर आफूले प्राप्त गरेको पाठकीय दृष्टिकोण यहाँ राखेको छु ।

तीर्थराज अधिकारी ‘मुक्तकमणि’उपनामले चिनिनुहुन्छ । चोटिला मुक्तकका धनी भएरै त होला उहाँको उपनाम मुक्तकमणि राखिएको । नेपाली साहित्यका क्षेत्रमा लगातार लागिरहन भएका साहित्यकार अधिकारी मूलत सिर्जनाबाटै चिनिनुहुन्छ । उहाँले थुपै गीत, कविता, मुक्तक, कथा र निबन्ध पनि लेख्नुभएको छ । यसबाहेक समाजसेवी र संगठकका रूपमा पनि उहाँको पहिचान बनेको छ ।

मलाई लाग्छ, यो पुस्तकमा उहाँको सम्पूर्णता छ । तीर्थराजलाई चिन्न चिनाउन यो पुस्तक एक्लै काफी छ । उहाँसँग नजिकबाट जान पहिचान बनाएका, उहाँसँगै साहित्यिक गतिविधिमा संलग्न रहेका, उहाँलाई बुझेका र सान्निध्यमा रहेका मानिसहरूले अधिकारीका बारेमा लेखेको राम्रा लेखहरूको लेखोट हो यो पुस्तक । यसमा उहाँका खासै नराम्रो पक्षको भने कसैले पनि चर्चा गरेको पाइन । शायद नभएर हो कि ?

सामाजिक क्रान्ति र शैक्षिक चेतनाको उद्गम स्थल भनेर चिनिन्छ लम्जुंगको दूर डाँडा । त्यही दुराहरूको बाहुल्य रहेको दूर डाँडामा २००३ सालमा उहाँको जन्म भएको हो । यहीँदेखि यो किताब सरु भएर सामाजिक, साङ्गठनिक र साहित्यिक गतिविधिका विविध आयामका तस्बिरमा गएर यसको समाप्ति हुन्छ । ४८० पृष्ठ लामो यो पुस्तक शोध अनुसन्धान, जीवनी र व्यक्तित्व, कृति विवेचना र प्रवृत्ति, संवाद, अङ्ग्रेजी साधना र परिशिष्ट गरी छवटा खण्डमा विभक्त छ । यी लेखहरूमा उहाँको साहित्यिक साधना, सांस्कृतिक, साङ्गठनिक र पारिवारिक व्यक्तित्वको समग्रता छचल्किन्छ । साहित्यकार अधिकारीकारबारेमा आफ्ना अनुभूति लेख्ने लेखकहरू प्रायशः नेपाली साहित्यका विशिष्ट साधक, सर्जक वा प्राध्यापक हुनुहुन्छ, उहाँलाई नजिकबाट चिन्ने बालसखाहरु हुनुहुन्छ । यस अतिरिक्त अमेरिकामा गठित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र यसका चिर परिचित लेखक र साहित्यकारहरुंले यो पुस्तकमा अधिकारीको संक्षिप्त चर्चा गरेका छन् भने उहाँका पारिवारिक इष्टमित्र समेत कुल ९३ जनाले उहाँको व्यक्तित्व, उहाँको शालीनता र प्रतिभाका बारेमा कलम चलाएका छन् । पुस्तक पढेपछि उहाँको बहु आयामिक व्यक्तित्वका बारेमा जानकारी मिल्छ ।

उहाँ अमेरिकाका विभिन्न राज्यमा पुग्नुभएको छ र अमेरिकामा सम्पन्न विशिष्ट खाले साहित्यिक कार्यक्रममा उहाँको उपस्थिति हुने गरेको छ । विभिन्न साहित्यिक व्यक्तित्वसँग साक्षात्कार गर्नुभएको छ र नेपाली साहित्यको उन्नयनमा कसरी योगदान पुर्‍याउन सकिन्छ भनेर घोत्लि रहनुभएको छ । उहाँका करिब एक दर्जन पुस्तक प्रकाशित छन् । अधिकारीले साहित्य लेख्न थालेको पाँच दशक नाघिसकेको छ । यसैको सेरोफेरो भएरै अनेसासले यो पुस्तक प्रकाशनको जिम्मा लिएको मैले पाएको छु । नेपाली साहित्यकै अभिवृद्धिमा लगातार लाग्नु भएका अधिकारी ७५ वर्षको उमेरमा पनि तन्नेरी युवाझैँ यो पेसामा लागेर राजनीतिज्ञ प्रति यसरी झटारो हान्नुहुन्छ:
काले काले मिलेर नै
खाउँभाले बरु भनी
मुसो दली बने काले
सेता मान्छेहरू पनि ।
उहाँकाजुनकुनै रचना पढ्दा एक विशिष्ट साधकको शब्द र गन्ध भेटिन्छ ।

विदेशमा नेपाल भाषाको विकास र श्रीवृद्धि कसरी गर्न सकिन्छ भनेर अमेरिकामा रहेका साहित्यकार र साहित्यकर्मी बिच निरन्तर सम्पर्कमा रहनुभएका अधिकारीको यो पुस्तकले समग्र नेपाली साहित्यको इतिहासमा के कस्तो प्रभाव पार्छ त्यो त यसै भन्न सकिन्न तर पनि समग्र नेपाली साहित्यको एउटा इँटाका रूपमा रहने छ भन्न सकिन्छ ।

सामान्य पाठकका लागि तीर्थराज अधिकारी एक जना सामान्य साहित्यकार मात्र लाग्न सक्छ तर समग्रमा यो पुस्तकले तीर्थराज अधिकारीको सङ्घर्ष र उहाँले गरेको र पुर्‍याएको साहित्यिक योगदान भने सबैका लागि अनुकरणीय हुनसक्छ भन्ने लाग्छ । अस्तु ।’

सम्बन्धित सामग्रीहरू