अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

‘नेपाली लोकनाचको विगत र वर्तमान’ गोष्ठी सम्पन्न

डब्बु क्षेत्री २०८० जेठ २७ गते १९:२९ मा प्रकाशित

काठमाडौँ, कार्यपत्र प्रस्तुति र त्यसमाथि टिप्पणीसँगै ‘नेपाली लोकनाचको विगत र वर्तमान’ शीर्षकको कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । सो गोष्ठीमा नेपाली लोक नृत्यको संरक्षणमा राज्य पक्षबाटै पहल गरिनु पर्ने सम्बन्धी कलाकारहरूले बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली लोकनाचको विगत र वर्तमान’ शीर्षकको सो कार्यक्रममा स्वागत मन्तव्य सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सभा सदस्य शान्ति कठायतले लोक नृत्यमा नेपाल धनी भएको बताइन् ।

आयोजित नृत्य सम्बन्धी गोष्ठी कार्यक्रममा पश्चिमा नृत्यले हाम्रो लोकनृत्यलाई अतिक्रमण गरिरहेका पनि उनीहरूले बताएका छन् । गोष्ठीको आयोजना नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागले गरेका हो ।

नेपाली लोक नाचको विगत र वर्तमान शीर्षकमा सो समारोहमा वरिष्ठ नृत्य निर्देशक केपी पौडेलले कार्यपत्र पेस गरेका थिए । उनको कार्यपत्रमाथि टिप्पणी गर्दै नृत्य निर्देशक रमेश थापाले कार्यपत्रमा धेरै कुरा समेटिएको बताए । लोकसंस्कृति विद् रामप्रसाद कँडेलले कार्यपत्रमा टिप्पणी गर्दै त्यसमा छुटेको कुराहरू औँल्याइ दिए । सो कार्यक्रमको सहजीकरण गरेका प्राज्ञ सभा सदस्य महेश गोदारले कार्यपत्रको बारे चर्चा गरे ।

प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा नृत्य विभाग प्रमुख बखत बहादुर हमाल (सुवर्ण)ले आफूहरूले नेपाल लोक नृत्य संरक्षण र प्रवर्धनमा सक्दो काम गर्ने प्रतिबद्धता जनाए । नृत्यमा पनि लोक तथा मौलिक नृत्य छायामा रहेकाले यसको प्रवर्धन गर्नकै लागि आफूहरूले विभिन्न कार्यक्रम गर्दै आएको पनि उनले बताए ।

नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापाले गाउँ गाउँमा पुगेर आफूले विभिन्न लोक नृत्यहरू ल्याएर त्यो नृत्य अरूलाई प्रशिक्षण दिँदै नेपाली लोक नृत्यको संरक्षण गर्दै आएको बताए ।

नृत्यबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुस्मा महराले नेपालमा नृत्यको अवस्थाबारे प्रकाश पारे ।

वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधान, नारायणदेवी प्रधान, नेपाल सङ्गीत तथा नृत्य निर्देशक सङ्घका महासचिव नृप ध्वज खत्रीले पनि नेपालमा लोकनृत्यको अवस्थाबारे सो कार्यक्रममा आफ्नो भनाई राखे ।

प्राज्ञ परिषद् सदस्य सुवर्णको संयोजकत्वमा आयोजित सो कार्यक्रममा सो प्रतिष्ठानकी कुलपति निशा शर्माले नृत्यको महत्त्वबारे प्रकाश पारिन् । आफ्नो कार्यकालमा धेरै भन्दा धेरै काम हुने पनि उनले बताइन् ।

समारोहमा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख हिसन बहादुर मगर , परम्परागत तथा शास्त्रीय विभाग प्रमुख डाक्टर किरात, लोक सङ्गीत विभाग प्रमुख टीका पुनलगायतका उपस्थिति थियो ।