अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

१६ कात्तिकबाट ३ दिन नेपाल अफ्रिका फिल्म फेस्टिभल

डब्बु क्षेत्री २०७६ कार्तिक ११ गते १०:५० मा प्रकाशित

काठमाडौँ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले नेपला र अफ्रिकाको चलचित्र संस्कृति आदान प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ आयोजना गर्दै आएको छ ।

यसै क्रममा कात्तिकको तेस्रो सातामा सातौँ संस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव–२०१९’ आयोजना हुने भएको छ । यो पटक यो महोत्सव तीन दिनसम्म आयोजना हुने महोत्सव अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष मञ्ज मिश्रले बताएकी छिन् ।

‘सांस्कृतिक संस्थान जमलको सहकार्यमा यो महोत्सव यस पटक यही १६ कात्तिक देखि १८ कात्तिकसम्म काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि नेपाल र अफ्रिकाबाट प्राप्त चलचित्रहरूबाट आबस्य चलचित्र चयन गरिसकिएको छ ।’ अहिले आफूहरू महोत्सवको तयारीमा जुटेको महोत्सव अध्यक्ष मिश्रले बताइन् ।

स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एसियाकै यो पहिलो फिल्म महोत्सव हो । अफ्रिकाका कतिपय विपन्न मुलुक नेपालको अवस्था उस्तै रहेको, जीवन शैली र फिल्म निर्माणको अवस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिभल सुरु गरिएको पनि अध्यक्ष मिश्रले बताइन् । अफ्रिकालाई उनीहरूकै लेन्सबाट उनीहरूको चलचित्र मार्फत हेर्ने नेपालीहरूका लागि यो एउटा अवसर भएको पनि उनले जानकारी गराएकी छिन् ।

महोत्सव अध्यक्ष मिश्रका अनुसार यस पटक नेपाल र अफ्रिका गरेर महोत्सवका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, वृत्तचित्र एवम् कार्टु फिल्म चयन गरिएको छ । जसमा नेपालबाट १३ ओटा सिनेमा रहेका छन् । बाँकी १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेको पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

यस पटक अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सवमा नेपाल सहित १२ देशका फिल्महरू प्रदर्शन गरिने भएको छ ।

चलचित्र महोत्सव निर्देशकको रूपमा यस पटक चलचित्र कर्मी एवम् सञ्चार कर्मी डब्बु क्षत्रीरहेका छन् । निर्देशक क्षेत्रीका अनुसार महोत्सवको तीन दिन चलचित्र प्रदर्शन गरिने छ । १६ गते उद्घाटन पछि १८ कात्तिकमा महोत्सव समापन हुनेछ । १९ कात्तिकमा नेपाल अफ्रिका चलचित्र कार्यशाला पनि राखिएको निर्देशक क्षेत्रीले जानकारी गराएका छन् । चलचित्र विकाश बोर्डको विशेष सहयोगमा आयोजना हुने यस महोत्सवमा प्रदर्शन हुने चलचित्रमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको पनि निर्देशक क्षेत्रीले जानकारी गराए ।