अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

लभ स्टेसनमा गीत गाउँदै प्रदीपले गरेका जसिताको प्रशंसा

डब्बु क्षेत्री २०७५ चैत ४ गते २१:३९ मा प्रकाशित

काठमाडौँ, नयाँ वर्षको अवसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेसन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो…को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युब च्यानलबाट सोमबार साँझ यो गीतको भिडियो रिलिज गरिएको हो । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनीत चलचित्र ‘लभ स्टेसन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाइएको छ ।

अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा एउटा लोक व्याण्डका भोक लिस्ट (गायक) हुन्छन् । यो गीतबारे उनले भने,‘लभ स्टेसन क्याफेमा म आफ्नो ब्यान्ड सहित गायनको तयारीमा हुन्छु । सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रशंसा यो गीत गाउँछु ।’ यो चलचित्रमा आफू कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् ।

वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वर रहेको छ । गीतलाई लभ स्टेसनका निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले अहिले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

चलचित्रमा यो गीत मार्फत अभिनेता प्रदीपलाई गायकको रूपमा स्थापित गराइको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आफूहरू प्रचार प्रसारमा व्यस्त रहेको पनि प्रस्तुतकर्ता शाहीले जानकारी गराए । उनका अनुसार लभ स्टेसन टिमले मङ्गलवारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ ।

यो चलचित्रमा प्रदीप र जस्तासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।