अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

तिहार आयो सखी

रश्मि भट्ट २०७८ कार्तिक १६ गते १६:४६ मा प्रकाशित

कविता
आयो चाड तिहार देश घरमा, आएछ देशान्तर
नेपाली, जति छौँ विदेश जगमा फर्केर जाऊ घर
चेली ती कतिका र बन्धु कतिका पर्खी बसेका हुनन्
माला फूल, सबै दुबो मखमली, फिक्री गरेका हुनन् ।।

केही यो दिन हो, सधैँ त कसरी यी चाड पर्नेछ र ?
पैसा प्यास बनी दिदैछ भुमरी हामी भयौँ नोकर
कस्तो दास भएछ जीवन हरे, खाली सधैँ काम छ
छैनन् दाम भने, परिश्रम सरी, रित्तो सधैँ हात छ ।।

देऊ हे सहजै अवश्य सुविधा भन्दै छ जो मालिक
रोजी रोटी निमित्त हाड सहजै घोटी रहेछौ सब
सक्छौ दाम, बिदा, दुवै दिन सके राम्रो भयो सुन्दर
सक्दैनौ त बिदा अवश्य म लिए, फिर्नेछु भेटी सब ।।

तारा, दीप सरी, सफा झलमली उल्लासको चाड हो
सारा बन्धु सबै, दिदी र बहिनी यो प्रेम सद्भाब हो
भेट्छन् रे नि यमराजले त सहजै बैनी यमुना पनि
हामी मानवको हवोस् मिलन यो राम्रो हवोस् है सबै ।।।

हासून् दिव्य सुखी, मुहार सबको आत्मीय यो भेटले
नाचुन् पीङ र मालश्री छ धुन जो हाम्रो कला पर्वले
सझें है घर गाउँ, पीङ सब यी सम्झे सबै ती सखी
आयो चाड जहाँ तिहार रसिलो, गर्नेछु दीपावली ।।