अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)को सातौँ अधिवेशन हिजोबाट सुरु, आज निर्वाचन

विजय थापा २०७८ साउन १० गते ७:२१ मा प्रकाशित

डिसी महानगर क्षेत्र । नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)को सातौँ अधिवेशन तथा १४ औ साधारण सभाको उद्घाटन सुरु भएको छ । उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पानसमा बत्ती बाली उद्घाटन गरेका छन् भने उनी नै कार्यक्रमका प्रमुख अतिथि हुन् ।

नेजाको प्रचलन अनुसार नेपाल पत्रकार महासङ्घका अध्यक्ष नै अधिवेशनका प्रमुख अतिथि हुने गर्छन् ।

अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली सहरमा आयोजना हुने कार्यक्रम जुलाई २४ र २५ अर्थात् शनिवार र आइतबार हुनेछ । उद्घाटन कार्यक्रम साँझ ५ बजे सुरु भएको छ भने कार्यक्रम ८ बजे समाप्त भएको थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेल नेजाको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा अमेरिका आएका हुन् । हिजो अधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रम मात्र हुनेछ भने जुलाई २५ आइतबारका दिन बन्द सत्र र नयाँ कार्यकारी समितिको लागि निर्वाचन हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएका छन् त्यस्तै गरी राजदूत युवराज खतिवडा(विद्या वारिधि )पनि अन्य कार्यक्रममा व्यस्त भएकोले उद्घाटन समारोहमा सहभागी हुन् नसकेकोले शुभकामना सन्देश पठाएका छन् ।

कार्यकमको अध्यक्षता नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले गरेका छन् भने कार्यक्रमको लागि पत्रकार महासङ्घ तथा प्रेस काउन्सिलका पूर्व सभापति हरिहर विरही, महावाणिज्यदूत प्रेम राजा महत ,पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,वरिष्ठ पत्रकार तारा बराल, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी ,इन्जाका अध्यक्ष गुणराज लुइँटेल ,सङ्घका पूर्व अधिकारीहरू ,वरिष्ठ तथा अग्रज पत्रकारहरू लगायत विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रम सञ्चालन महा सचिव किरण मरहट्ठाले गरेका छन् भने स्वागत मन्तव्य अधिवेशन संयोजक लीला ओझा ढकालले गरेकी थिइन् ।

नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)मा चुनावको पनि माहौल सुरु भएको छ । अहिले सम्म सुनिएअनुसार अध्यक्षमा ६ जनाको दाबेदार रहेको छ जसमध्ये वर्तमान कार्यवाहक उपाध्यक्ष विकास राज न्यौपाने, किरण मरहट्ठा, गोकुल ढकाल, विष्णुहरि घिमिरे, अनुज थापा र निदेश अधिकारी रहेका छन् ।

प्रतिक्रिया