अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

बर्मेली नेपाली साहित्यको रूपरेखा

लीला लुइटेल २०७७ फागुन १४ गते ८:५० मा प्रकाशित

१. आमुख
नेपाल, भारत र भुटानबाहेक नेपाली जातिको अधिक बसोबास रहेको क्षेत्र बर्मा पनि हो । यसलाई म्यान्मा वा म्यान्मार पनि भनिन्छ । यस देशको पश्चिम सीमाना भारत र बङ्गलादेशसँग जोडिएको छ भने पूर्वी सीमानामा थाइल्यान्ड र लाओस रहेका छन् । यसैगरी यो देश उत्तरमा चीनसँग जोडिएको छ भने यसको दक्षिणमा बङ्गालको खाडी र अन्डमान सागर रहेको छ । ईशाको अठारौँ शताब्दीको दोस्रो दशकतिरदेखि ब्रिटिस साम्राज्यवादको प्रभाव परेको यो देश सन् १८८५ मा पूर्णतः ब्रिटिस अधीनमा पर्यो । सन् १९४८ मा ब्रिटिस शासनबाट मुक्त भएको बर्मा हाल स्वतन्त्र राष्ट्रको रूपमा रहेको छ ।

बर्माका नब्बे प्रतिशतभन्दा बढी मानिसहरू बौद्ध धर्ममा आस्था राख्छन् । यहाँ अनगिन्ती चैत्य र स्तुपहरू रहेकाले यसलाई चैत्य र स्तुपहरूको देश पनि भनिन्छ । यस देशका पहाडी क्षेत्रहरूमा रुबी, नीलम, जेड, स्पिनल, पेरीडोट, पोखराज, गोमेधजस्ता अमूल्य रत्न, मणि एवं सुन, चाँदी, तामा पित्तल आदि धातुका खानी यत्रतत्र रहेका छन् । यसैले बर्मालाई रुबील्यान्ड भनिएको पनि पाइन्छ ।
बर्मामा नेपालीहरूको आगमन कहिलेदेखि भएको हो भन्ने यकिन गर्न नसकिए पनि ‘बर्मा गए कर्म सँगै’ भन्ने उखानको आधारमा प्राचीन कालदेखि नै यहाँ नेपालीहरूको बसोबास रहेको बुझिन्छ । गौतम बुद्धको समयभन्दा अगिदेखि नै यस क्षेत्रमा नेपालीहरूको बसोबास रहेको अनुमान गरिएको छ । अङ्गे्रजहरूले आफ्नो उपनिवेश कायम गरेदेखि यहाँ नेपालीहरूको बाक्लो उपस्थिति हुन थालेको हो । अहिले बर्मामा करिब ३५० को हाराहारीमा नेपाली गाउँहरू रहेको जानकारी पाइन्छ । बर्माका सरकारी स्कुलमा म्यान्माली र अङ्ग्रेजी भाषामा मात्र पढाइ हुन्छ । बर्मामा सरकारी स्कूल तीन महिना बिदा भएका समयमा त्यहाँका नेपालीहरूले नेपाली भाषाको पनि पठनपाठन गरिरहेका छन् । अहिले त्यहाँ २२७ वटा नेपाली पाठशाला भएको जानकारी पाइन्छ । तिनै पाठशालामा नेपाली भाषा, साहित्य र संस्कृतिको अध्ययन अध्यापन हुनेगर्छ ।

२. बर्मेली नेपाली साहित्यको सर्वेक्षण
सन् १९८२ पछि मात्र नेपाली भाषा सङ्गठित रूपमा अध्ययन–अध्यापन हुन थालेको बर्मामा नवयुवक, हिमाली, ऐरावती, धर्मवाणी, धर्माेदय, नेपाल दर्पण, नेपाल समाचार, गोमा नदीको छेउ, प्रेमोपवन, कोसेलीजस्ता पत्रिकाको प्रकाशित भएको पाइन्छ । नेपाली गोर्खा छात्र मण्डली, पिउँडाउँसु गोर्खा सङ्घ, गोर्खा हिन्दु धर्मसेवक सङ्घ, हिन्दु नारी कर्तव्य शिक्षा सत्र, अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक सङ्घ, नेपाली नवयुवक समिति, नेपाली हिन्दु धार्मिक हिन्दु शिक्षण समिति, सनातन धर्म स्वयंसेवक सङ्घ, संस्कृक स्नातक सेवा मण्डलीजस्ता विभिन्न सङ्घसंस्थाहरू बर्मामा नेपाली भाषा एवं संस्कृतिको संरक्षण एवं सम्बर्धन गर्न सक्रिय रहेका छन् । बर्मामा रहेका नेपालीहरूका विभिन्न विधाका साहित्यिक कृति पनि प्रकाशन भएको देखिन्छ । बर्मेली नेपाली साहित्यकारद्वारा लिखित नेपाली साहित्यको सर्वेक्षण विधागत आधारमा तल प्रस्तुत गरिन्छ:

२.१ कविता
बर्मेली नेपाली कविता विधामा प्रकाशित पुस्तकाकार कृतिहरूको विवरण तल दिइन्छ:
पं. शोभाकर शर्मा: ऐरावती भक्तिमाला (सन् १९२७ तिर, काव्य)
भीमबहादुर क्षेत्री: ऐरावती बाढको सवाई (सन् १९५२)

गोपीनाथ कोइराला: उपदेश खण्ड (सन् १९५२ तिर), जुवालटरी, स्त्री शिक्षा, मनोरञ्जन

शालिग्राम शर्मा: मोची पूर्णपात्रम् (काव्य)
भीमलाल पौडेल: नवीन नीति दर्पण (सन् १९६० तिर)
लक्ष्मण न्यौपाने: मौन संगीत (सन् १९९९, सह)
रेशमलाल अधिकारी: शिक्षा विनोद (सन् २००४)
पुण्यशील जगन्नाथ आनन्द: जीवनमाला याने श्रद्धाञ्जली (काव्य)

पं. पुण्यशील भण्डारी: बर्माको सङ्क्षिप्त इतिहास, टिपटाप, उर्मिला (काव्य)

ठाकुरप्रसाद गुरागाईं: गुरागाईंका गीत (२०६५), चौरासी थुँगा (भजन), जीवनधारा, गुरागाईंका मुक्तक, तरङ्ग

विष्णुप्रसाद पन्थी: तरङ्ग लहरी
बालकृष्ण रिजाल: म्यान्माली आँगनमा दुबसुका पाइला
ठाकुरप्रसाद अधिकारी: विद्यामहिमा

दशरथ घिमिरे:  दुई पाइला अघि एक पाइला पछि (सन् २००८), चराहरूको हाँच
शान्तिराम पौडेल: वेदना,
रेशमलाल अधिकारी: शिक्षा विनोद, दीक्षा दर्पण (२०६६, निबन्धसहित)
चूडामणि पौडेल: भजन सङ्ग्रह
टेकनारायण रिमाल: छतिवनको रुख (२०६६), घामका रङ्गहरू (२०७३, मुक्तक)
अशोक घिमिरे: थाइल्याण्डको प्रशस्ति (२०६६, काव्य)
मोहनराज खनाल: बिर्सन नसकेका पलहरू (२०७१), चट्टानिलो मन (२०७५, तान्का), हृदयको झङ्कार (२०७६, मुक्तक), मेरो प्रतिबिम्ब (हाइकु र कविता)
पदम गुरागाईं: हराएको अनुहारहरू (२०७२)
अमित घिमिरे: सिमानाको घाम (सन् २०१६)
नन्दलाल रिमाल: मेरो जन्मभूमि
कुसुम गौतम: सल्बलाएका सपनाहरू

माथि उल्लेख गरिएका पुस्तकाकार कृतिका अतिरिक्त बर्मामा जन्मिएर उतै शिक्षादीक्षा प्राप्त गरेकी पुनम क्षेत्रीका नेपाल प्रवेश गरेपछि अविरल आस्था (२०६२) नामक भजन सङ्ग्रह तथा पलपल पग्लेको परेली शीर्षक गीत सङ्ग्रह प्रकाशित भएको पाइन्छ । यसका साथै दुबसु क्षेत्रीको सम्पादनमा म्यान्माली नेपाली कविता तथा दुबसु क्षेत्री, पुनम सुवेदी, कृसु क्षेत्रीको सहसम्पादनमा प्रतिनिधि नेपाली म्यान्माली कविताजस्ता पुस्तकाकार कृति पनि प्रकाशित छन् । यसबाहेक टेकनारायण रिमालको सम्पादनमा साधना गीत नामक सङ्ग्रह तथा लक्ष्मण न्यौपानेको सम्पादनमा जीवनदेखि जिवन्त (सन् २००३) शीर्षक गजल सङ्ग्रह पनि प्रकाशन भएको जानकारी पाइन्छ ।

माथि उल्लेख गरिएबाहेक अशोक घिमिरे, आनन्दकुमार नेपाली, इच्छाराम गुरागाईं, इन्द्रबहादुर लिम्बू, इन्द्रमणि पोखरेल, इमा चम्लागाईं, ऋषिराम ज्ञवाली, कमलादेवी धिताल, काशीराम सुवेदी, किशन कोइराला, कुलदीप कु“वर, कुन्ती सापकोटा, कुमार मनोरथ रिजाल, कुलबहादुर थापा, कृष्णदेव भण्डारी, गंगाप्रसाद पोखरेल, चन्द्रमाया, जीवन गौतम, जीवनहरि प्रधान, तारादेवी शर्मा, थानबहादुर रावल, धनबहादुर थापा, धानी गौतम, नारायण पन्थी, नीलकमल, पदम खडका, पदम थापा मगर, प्रतिभा घिमिरे, प्रीतम पाण्डे, बिन्दु पन्थी, मधु घर्ती, मधु पन्थी, मायादेवी कटुवाल, मीरा पन्थी, मीरा बन्जाडे, यशोदा ढकाल, यामबहादुर पोखरेल, रायन शर्मा, रीता भट्टराई, रूपा सापकोटा, विष्णु पन्थी, शंकर गुरागाईं, शान्तिदेवी कार्की, शान्ति सुब्बा, शिवमाया भण्डारी, सङ्गीता पन्थी, सरस्वती अर्याल, सावित्रीदेवी, सुकुमाया कु“वर, हुताशन पोखरेल आदि थुप्रै कविका कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित हुनुका साथै कतिपय पुस्तकाकार कृतिमा पनि सङ्कलित छन् ।

बर्मेली नेपाली कविताको इतिहासमा पहिलो कविता कृति मानिने शोभाकर शर्माको ऐरावती भक्तिमाला सन् १९३० तिर प्रकाशन भएको मानिन्छ । बर्माको प्रसिद्ध नदी ऐरावतीको स्तुतिगानमा आधारित यस काव्यमा जातीय सुधारको चेत अभिव्यञ्जित छ । ईश्वरको भक्तिभावका साथ प्रकृति चित्रण गरिएको यस काव्यमा शृङ्गार, भक्ति, शान्त, अद्भुत आदि रसका कविता समेटिएका छन् । विभिन्न प्रकारका शास्त्रीय छन्द प्रयुक्त यो कृति सरल भाषामा लेखिएको छ । बर्मेली नेपाली कविताको इतिहासमा यसलाई उल्लेखनीय कृतिका रूपमा संस्मरण गरिन्छ । गोपीनाथ कोइरालाको उपदेश खण्ड नामक कृति उपदेशात्मक पद्यहरूको सँगालो हो । यिनकोे मनोरञ्जनचाहिँ प्रश्नोत्तरका रूपमा रहेको छ भने जुवालटरीमा मेलाहरूमा राखिने विभिन्न प्रकारका खेलमध्ये एक प्रकारको जुवाजस्तै लाग्ने खेलको चर्चा गर्दै जुवाले कसैको भलो नगर्ने भाव अभिव्यक्त गरिएको छ । बलिप्रथाको विरोध पाइने यिनका कवितामा पशुलाई मारेर खानु अमानवीयता हो भन्ने भाव मुखरित छ । आफ्नो परिचय पनि कवितामै दिन सिपालु गोपीनाथ आफन्तलाई चिठी पनि पद्यमै पठाउँथे भन्ने कुराको जानकारी पाइन्छ । भीमलाल पौडेलको नवीन नीति दर्पणमा समाजमा व्याप्त वलिप्रथा, धामी तथा बोक्सी प्रथाजस्ता विविध खाले अन्धविश्वास, रुढीवादी परम्परा, मद्यपान, विवेकहीनता आदिको चर्काे विरोध गर्दै बोक्सी भनेर ताडित तथा उत्पीडित महिलाप्रति सहानुभूति व्यक्त गरिएको छ ।

बर्मामा बसोबास गर्ने अधिकांश कविका कविताकृतिमा आफ्नो जन्मथलो र कर्मथलो बर्मा भए पनि पितृभूमि नेपालप्रति अगाध आस्था र श्रद्धाको भाव अभिव्यञ्जित छ । भौतिक रूपमा नेपालमा पाइलै हाल्न नपाएका नेपालीहरूमा पनि यसप्रकारको श्रद्धा र आस्थाको भाव रहेको देखिन्छ । कहिल्यै नेपाल नटेकेका बर्मेली नेपाली कविहरूले नेपालको प्राकृतिक सुन्दरताको चित्रण गर्दै कविताको रचना गरेका छन् । उनीहरूका कवितामा पितृभूमि नेपालको उन्नति एवं प्रगतिको कामना पनि गरिएको पाइन्छ । नेपालका नेपालीहरू भेट्दा बर्मामा बसोबास गर्ने नेपालीहरू असाध्यै खुसी हुने भाव पनि यिनका कवितामा समेटिएका छन् ।

विदेशमा बस्दा त्यहाँको रहनसहन, भाषाभेष आदिबाट प्रभावित भई नेपालीत्व ओझेलमा पर्नसक्ने सम्भावना रहन्छ । यसले नेपाली हृदयलाई चोट पुर्याउन सक्छ । त्यसैले जहाँ रहेबसे पनि नेपाली संस्कृतिलाई नबिर्सिन आह्वान गर्दै यिनका कवितामा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सधैं नेपाली भाषा बोल्न आग्रह गरिएको छ । नेपाली संस्कृति बिर्सेर आफुखुसी गर्नेहरूलाई समाजबाटै वहिष्कार गर्नुपर्ने भावना बर्मेली नेपाली कविका कवितामा अभिव्यञ्जित छ । बर्मेली नेपाली कविद्वारा लिखित कतिपय कवितामा आमाको सम्झनामा छट्पटाएका सन्ततिको पीडा अभिव्यञ्जित छ । यसप्रकारका कवितामा अभिव्यञ्जित भावहरू नितान्त वैयक्तिक भए पनि यिनको साधारणीकरण भई यी शाश्वत एवं जीवन्त बन्न पुगेका छन् । आमाले सन्ततिका लागि गर्ने क्रियाकलापको सम्झना गर्दै सन्ततिले आमाबाट जीवनका हरेक क्षणमा भावात्मक संरक्षण तथा ममत्वको आश गर्दै आफ्ना हात फैलाइरहेका हुन्छन् भन्ने कुराको अभिव्यक्ति यिनका कविताहरूमा भएको छ ।

मानवजीवन रहस्यमय छ । यसको परिभाषा र व्याख्या सबैले आआफ्नै प्रकारले गरेको पाइन्छ । यसको ठीक परिभाषा आजसम्म कसैले गर्न सकेको छैन । यस्तो रहस्यपूर्ण जीवनको परिभाषा पनि बर्मेली नेपाली कविका कवितामा पाइन्छ । मानवजीवन एउटा मृगतृष्णा हो, भ्रम मात्र हो । आफ्नो सुखका लागि आफैले सृष्टि गरेका वस्तुहरूले पनि कतिपय अवस्थामा मानवलाई पीडा दिइरहेका हुन्छन् भन्ने भाव बर्मेली नेपाली कविका कवितामा अभिव्यञ्जित छन् ।

सेवाजस्तो ठूलो कर्म र धर्म अरू केही छैन । मानिसले कुकर्म र रिस त्यागेर परसेवामा आपूmलाई लगाउनु पर्ने भाव यी कविका कवितामा मुखरित छ । श्रम र पसिना मानवको सबभन्दा ठूलो सम्पत्ति हो । संसारमा कर्म नै सबभन्दा ठूलो चिज हो । कर्म गर्ने मानिसका लागि यो संसार अत्यन्त सुन्दर भएको भावको अभिव्यक्ति यी कविका कवितामा भएको छ । नारी शिक्षित हुँदा सम्पूर्ण राष्ट्र नै अग्रगतितर्फ लम्कन्छ । यसैले शिक्षा लिएर आफ्नो जीवन सार्थक पार्न नारीलाई आह्वान पनि यी कविका कवितामा गरिएको पाइन्छ । हिन्दुहरूको आदि ग्रन्थ वेदको प्रशंसा गरेर यिनीहरूले कविता लेखेका छन् । बर्मेली नेपाली कविका कतिपय कवितामा मानवीय प्रणयका सन्दर्भ पनि अत्यन्त शालीन ढङ्गमा समेटिएका छन् । बर्मेली नेपाली कविका कवितामा प्रयुक्त भाषिक विन्यास सरल एवं सहज रहेको छ । यिनका कतिपय कवितामा कवित्वको अभाव रहेको स्थिति पनि भेटिन्छ । जे होस् पितृभूमिसँग सम्पर्कको अभाव, औपचारिक रूपमा नेपाली भाषामा लेखपढको अभावजस्ता विविध खाले विषम परिस्थितिका माझबाट यत्तिका कविता लेखेर प्रकाशन गर्नु नै यी कविहरूको वैशिष्ट्य हो ।

२.२ कथा
बर्मेली नेपाली साहित्यमा देखापरेका कथाकार र तिनका कथात्मक कृतिको उल्लेख तल गरिन्छ:
टङ्कध्वज नेपाल: कथा सङ्ग्रह (२०६०)
नरहरि पोखरेल: सिन्दुर
ज्ञानबहादुर थापा बगाले: भ्रम र यथार्थ, मान्छे नम्बर ००९ (सन् २००९), नाताभित्र लुकेका कथाहरू (सन् २००९), रित्तो आकाश

उल्लिखित कथा सङ्ग्रहका अतिरिक्त ज्ञानबहादुर थापा बगालेद्वारा सम्पादित पल्लव (२०६५) शीर्षक कथा सङ्ग्रहमा बर्मेली नेपालीद्वारा लिखित नौजना कथाकारका बीसवटा कथाहरू समाविष्ट छन् । माथि उल्लेख गरिएबाहेक अनुराग, अनुज पौडेल, ंअमित घिमिरे, आश्चर्य घिमिरे, जीवन पाण्डे, नन्दराम रिमाल, प्रीतम पाण्डे, वसन्त पौडेल, वेदप्रकाश प्याकु¥याल आदिका फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । यसैगरी बर्मामा जन्मेर नेपाललाई कर्मथलो बनाएका भूवन (सुब्बा) खरेलको सेती नदी (२०६७) शीर्षक कथा सङ्ग्रह तथा कमला कुँवरको चराहरूको मेलमिलाप (२०६०) शीर्षक बालकथा प्रकाशित छन् ।

२.३ उपन्यास
बर्मेली नेपाली साहित्यमा देखापरेका उपन्यासकार र तिनका तिनका औपन्यासिक कृति यसप्रकार छन् ः
ठाकुरप्रसाद गुरागाईं: गङ्गा (२०५४), प्रभुदेवा (२०६५), भूतबङ्गला (सन् २००९), घाइते मुटु, धर्मसङ्कट, कसम ऐरावतीको
नरहरि पोखरेल: प्रेरणा (सन् २००९), संगम (सन् २०१०), वनमा फुलेका पूम्ल, जमुना

खिमबहादुर बुढाथोकी: अतीतका पाइला, तेस्रो गुराँस, ज्योति, संघर्ष, कुमारी

माथि उल्लेख गरिएबाहेक बर्मामा जन्मेर हाल नेपाललाई कर्मथलो बनाएकी कमला कुंवरको लाइकाको आत्मकथा (२०६२) शीर्षक बालउपन्यास प्रकाशित छ । बर्मेली नेपाली साहित्यमा देखापरेका कथा तथा उपन्यासका कृतिहरू प्राप्त हुन नसकेकाले तिनका बारेमा केही लेख्न सकिएन ।

२.४ निबन्ध
बर्मेली नेपाली साहित्यमा देखापरेका निबन्धकार र तिनका निबन्धात्मक कृतिको उल्लेख तल गरिन्छ:
ठाकुरप्रसाद गुरागाईं: जगदम्बाश्री पुरस्कार र मेरो नेपाल यात्रा (सन् २००९), म्यान्माको नेपाली जनजीवन एक झलक (२०६५), रामचन्द्र मन्दिर मोगोकको इतिहास, चौतारी
पद्मप्रसाद गुरागाईं: चोइटिएका चेतनाहरू (सह)
टङ्कध्वज नेपाल: इन्द्रेनी (२०६०), हराएको आँसु (सन् २००६, आत्मकथा)
मधुकर प्रधान: नेपाली राजदूतावासमा बितेका मेरा चार दशकहरू: एक सेरोफेरो (२०६४)
लक्ष्मण न्यौपाने: चोइटिएको चेतना (२००६, सह.), पल्लव (२००७, सह)
नरहरि पोखरेल: एक्काइसौँ शताब्दीको चिन्तन, विभूति
विष्णु पन्थी: पं. यज्ञनाथ शास्त्री भट्टराईको जीवनयात्रा (२००५, सम्पा।), नेपाल राष्ट्र एवं नेपाली साहित्यक्षेत्रको परिचय
बगाले: प्रथमं दुर्जनं वन्दे (२०६५, हास्यव्यङ्ग्य)

खिमबहादुर बुढाथोकी: बाध्यता भनौँ कि वीरता (सन् २००८, संस्मरण), उच्च जीवन, उच्च विचार, जीवन दर्शन धारा, मनबहादुर लिम्बू प्रवासी

२.५ विविध
साहित्यका अन्य विधाका स्वतन्त्र कृतिबाहेक विविध समेटिएका कृति पनि बर्मेली नेपाली साहित्यमा देखिएका छन् । तिनमा एउटै विधा नभएर साहित्यका हरेक विधा समेटिएका छन् । त्यस्ता विविध विधा समेटिएका कृति यसप्रकार छन्:
कुसुम गौतम: गोमा नदीको छेउ (२०६५, लेख, कविता, इतिहास)
यामबहादुर पोख्रेल: उपहार

ठाकुरप्रसाद गुरागाईंको जगदम्बाश्री पुरस्कार र मेरो नेपाल यात्रा नामक कृतिमा मदन पुरस्कार गुठीद्वारा प्रदान गरिएको जगदम्बाश्री पुरस्कार ग्रहण गर्न नेपाल आएका बेलाको सन्दर्भ समेटिएको छ । यसैगरी मधुकर प्रधानको नेपाली राजदूतावासमा बितेका मेरा चार दशकहरू ः एक सेरोफेरो संस्मरणात्मक कृति हो । यस कृतिमा सन् १९६५ देखि २००३ सम्म बर्माको नेपाली राजदूतावासमा काम गर्दाको अनुभव, नेपालका विभिन्न व्यक्तिहरूले बर्मा भ्रमण गर्दाको सन्दर्भलाई सरल भाषामा अभिव्यक्ति दिइएको छ । टङ्कध्वज नेपालको इन्द्रेनी नामक निबन्ध सङ्ग्रहमा ३१ वटा निबन्ध नेपाली भाषामा लेखिएका छन् । नेपाली जनजीवनमा उल्लेखनीय महत्तव राख्ने विविध प्रकारका सांस्कृतिक विषय समेटिएका यिनका निबन्धमा मानव स्वास्थ्यसँग सम्बन्धित सन्दर्भको पनि उल्लेख पाइन्छ ।

माथि उल्लेख गरिएबाहेक उमानन्द कुइँकेल, कमल रिजाल, खिमबहादुर बुढाथोकी, तिलबहादुर अधिकारी, तुलसी थापा, देवी सिंखडा, नन्दलाल रिजाल, पूर्णबहादुर तिवारी, महानन्द भट्टराई, युवराज दाहाल, राजु पोखरेल, रेशमलाल अधिकारी, लक्ष्मी आचार्य, लक्ष्मी रिजाल, वसन्त पौडेल, विद्या आचार्य, शान्तिराम तिम्सिना आदि रचनाकारका फुटकर निबन्धहरू प्रकाशित भएका छन् ।
बर्मेली नेपाली साहित्यमा ठाकुरप्रसाद गुरागाईंको त्रिवेणी नामक समीक्षात्मक कृति पनि प्रकाशित भएको जानकारी पाइन्छ ।

२.६ वाङ्मयका अन्य स्वरूप
बर्मेली नेपाली वाङ्मयमा विभिन्न विधाका सिर्जनात्मक कृतिका अतिरिक्त अन्य विविध खाले कृतिहरू पनि देखापरेका छन् । यसप्रकारका कृतिहरूमा धर्म, कर्मकाण्ड, संस्कृति, इतिहासलगायत विविध क्षेत्र समेटिएका छन् । यस खालका कृतिको उल्लेख तल गरिन्छ:

ठाकुरप्रसाद गुरागाईं: धार्मिक नियममाला, श्रीरामचन्द्र मन्दिर मोगोकको इतिहास, सजिलो नवरात्र पूजाविधि, जीवनधारा, हिन्दु नारी, सरल अन्त्येष्टी संस्कार, कर्मकाण्ड प्रवेशिका, नारी कर्तव्य शिक्षा
यज्ञनाथ भट्टराई शास्त्री: ईश्वरदर्शन र स्मृतिमाला (२०४५)
प्रीतम पाण्डे: हाम्रा चाडपर्व र तिनको महत्तव (२०६८)
बालकृष्ण रिजाल: पंचायन देवता पूजा विधि (२००७)
टेकबहादुर कार्की: अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक सङ्घको संक्षिप्त इतिहास (सन् २००८)
खिमबहादुर बुढाथोकी: केही स्कोनको साहित्य, केही बौद्ध साहित्य
नवराज आचार्य: अष्टावक्र गीता
खीम कौशिक: पञ्चरत्न (२०७२)
ठाकुरप्रसाद गुरागाईं: छन्दवाटिका (व्याकरण)

बर्मेली नेपाली वाङ्मयमा विभिन्न व्यक्तिहरूले विभिन्न प्रकारका कृतिको अनुवाद पनि गरेको पाइन्छ । ती यसप्रकार छन् :
ठाकुरप्रसाद गुरागाईं: प्राणायाम रहस्य, मुक्तिरित्
विष्णु पन्थी: बेडा पथ (२०६७), महाकवि लक्ष्मीप्रसाद देवकोटाको पच्चीस प्रसिद्ध कविता

नेपालभन्दा धेरै टाढा विधर्मी एवं इतरभाषीका बीचमा बसेर औपचारिक रूपमा नेपाली भाषामा लेखपढ गर्न नपाए पनि कैयौँ बर्मेली नेपालीहरूले आफ्नो व्यक्तिगत प्रयासमा नेपाली भाषाप्रति देखाएको आस्था अत्यन्त सराहनीय छ । अझ त्यसमा पनि आफ्नो पितृदेशको भाषाप्रति ममता राखी अनौपचारिक रूपमै भए पनि पठनपाठन गर्नुगराउनु र नेपाली भाषामा विविध विधाका रचना गर्नुलाई सराहनीय कार्य मान्नुपर्छ । बर्मामा रहेका नेपालीहरूले आफ्नो लेखनीलाई विभिन्न विधाका माध्यमबाट प्रस्तुत गरेको कुरा माथिको सर्वेक्षणले स्पष्ट गरेको छ । विभिन्न भाव समेटिएका बर्मेली नेपाली कविका कतिपय कवितामा बर्मेली नेपाली परिवेश झझल्को पाइन्छ । बर्मेली नेपालीद्वारा रचित अधिकांश कविता अभिधेयार्थ खालका भएका हुनाले ती सहजग्रा≈य अर्थात् सबैले बुझ्नसक्ने खालका सरल छन् । यसरी नेपाली भाषा र साहित्यप्रति आस्था राखेर सजगताका साथ रचना गर्दै जाने हो भने बर्मेली नेपाली साहित्यको भविष्य समुज्ज्वल देखिन्छ ।

नेपालको काठमाडौँमा बसेर निकै पर रहेको बर्माको साहित्यिक सर्वेक्षण गर्नु निकै कठिन काम हुँदाहुँदै पनि नेपाली साहित्यको क्षेत्रीय अध्ययनमा रुचि भएकाले यस सर्वेक्षणका लागि प्रयास गरिएको छ । पङ्क्तिकारको निजी सङ्कलनमा सङ्कलित सीमित सामग्रीका आधारमा प्रस्तुत आलेख तयार पारिएको हो । उताका साहित्यकारसँगको सम्पर्क एवं सामग्रीको अभावका कारण कतिपय व्यक्तिसँग सम्बद्ध सन्दर्भहरू छुटफुट हुनसक्छन् र कतिपय लेखकका नाम, तिनका कृति र प्रकाशन मितिजस्ता तथ्याङ्क गलत पनि हुनसक्छन् । यसका लागि त्यस क्षेत्रका सम्बद्ध सबैबाट सुझाव र सामग्री प्राप्त हुने अपेक्षा गरिएको छ । सम्बद्ध व्यक्ति एवं सङ्घसंस्थाबाट आवश्यक सामग्री प्राप्त भएमा बर्मेली नेपाली साहित्यका विविध विधाको व्यवस्थित अध्ययनका साथ नेपाली साहित्यमा तिनको योगदान निरूपण गर्ने कुरा जानकारीका लागि अनुरोध छ ।

कीर्तिपुर, काठमाडौँ