अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

वैज्ञानिक आविष्कारबाट उत्पन्न अन्योल : रोबोट जर्ज

लीला लुइटेल २०८१ असार १६ गते १६:५६ मा प्रकाशित

१. आरम्भ
विश्वका हरेक भागका थुप्रै मानिसहरू अनेक कारणले आफ्नो जन्मथलो छाडेर विदेसिने क्रम उहिलेदेखि अहिलेसम्म चलिरहेकै हो । प्रायः अविकसित मुलुकका नागरिकहरू विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम वर्तमानमा तीव्र रूपमा बढिरहेको छ । त्यसमा पनि कतिपय राजीखुसीले र कतिपय बाध्यात्मक रूपमा विदेसिएका हुन्छन् । व्यापारव्यवसाय, सैनिकमा भर्ती, अध्ययन, सुखसुविधाको खोजी, वैवाहिक सम्बन्धलगायत राजनैतिक उत्पीडन, धार्मिक हिंसा, प्राकृतिक प्रकोप आदि कारणले मानिसहरू विदेसिने गरिएको पाइन्छ । यसका साथै शरणार्थी एवं युद्धपीडित मानिसहरू पनि आफ्नो थातथलो छोडेर विदेसिन बाध्य हुन्छन् । अहिले कामको खोजी, व्यापारव्यवसाय एवं अध्ययनको सिलसिलामा असङ्ख्य नेपालीहरू विदेसिने क्रम निरन्तर रहेको छ । यसरी विदेसिने क्रममा विश्वका अधिकांश मुलुकका मानिसहरूको आकर्षणको केन्द्रबिन्दु अमेरिका रहेको छ ।

अहिले अमेरिकामा बसोबास गर्ने थुप्रै नेपालीहरूले आफ्नो पहिचान निर्माणका लागि साहित्य सिर्जनालाई पनि माध्यम बनाएको देखिन्छ । शरीरले थेग्न नसक्ने दौडधुप, आर्थिक स्थायित्वको खोजी, अनेक प्रकारका प्रशासनिक झमेला आदिलाई बेहोर्दै अमेरिकाजस्तो देशमा बसेर पनि नेपालीहरूले गरेको साहित्य सिर्जनाको प्रयास प्रशंसनीय छ ।

२. विषयप्रवेश: गीता खत्रीको छोटो चिनारी
वि.सं.२०२० सालमा कलंकी काठमाडौँमा जन्मी हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएकी गीता खत्री नेपाली अमेरिकी समाजमा परिचित व्यक्तित्व हुन् । लामो समयदेखि अमेरिकामा रहेकी गीता खत्रीले साहित्य, सङ्गीत, कला, संस्कृति, समाजसेवाजस्ता विविध क्षेत्रमा आफ्नो पहिचान निर्माण गरेकी छन् । यिनले साङ्गठनिक रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्कको च्याप्टर अध्यक्ष, केन्द्रीय अध्यक्षलगायत बोर्ड अफ ट्रस्टीको अध्यक्ष एवं सल्लाहकार रहेर आफ्नो सक्रियता देखाएकी छन् । साहित्य सिर्जनाका क्षेत्रमा गीत, गजल, कविता, कथा, उपन्यास, नियात्रा, नाटकजस्ता विभिन्न विधामा यिनको कलम चलेको पाइन्छ । यिनका हालसम्म ‘सिर्जना यात्रामा गीता, ‘सम्झनाका तरेली, ‘सपनाको धरहरा, ‘आमा हुन् आमा’ जस्ता कविता कृति लगायत ‘अन्त्यहीन इच्छा’ शीर्षक कथा सङ्ग्रह प्रकाशित छन् । यसका साथै यिनका ‘झोखाङदेखि मजलाटनसम्म र ‘उडेको आकाश डुलेको धर्ती’ शीर्षक नियात्रामूलक कृतिका अतिरिक्त ‘रोबोट जर्ज’ शीर्षक औपन्यासिक कृति प्रकाशित भइसकेका छन् ।

माथि उल्लेख गरिएबाहेक गीता खत्रीले गायनका माध्यमबाट पनि आफूलाई परिचित गराएकी छन् । यिनीद्वारा रचित गीतहरू स्वीकृति, दीप, मखमली शीर्षकका सिडी एलबम मार्फत प्रकाशमा आइसकेका छन् । तिनमा यिनको आफ्नै स्वरमा गाइएका गीत पनि समाविष्ट छन् । उल्लिखित कृतिहरूले यिनलाई बहुमुखी प्रतिभाका रूपमा देखाएका छन् ।

३. विषय विस्तार: ‘रोबोट जर्ज’ उपन्यासको अध्ययन
गीता खत्रीको ‘रोबोट जर्ज शीर्षक उपन्यास २०८० सालमा प्रकाशन भएको हो । विविध दृष्टिकोणबाट प्रस्तुत कृतिको अध्ययन विश्लेषण गर्नु यस लेखको अभीष्ट रहेको छ ।

शिल्प संरचना र शीर्षक
छोटाछोटा २७ परिच्छेदको संरचनामा आबद्ध गीता खत्रीको ‘रोबोट जर्ज’ उपन्यास १५६ पृष्ठमा विस्तारित छ । यस उपन्यासको परिच्छेद विभाजनले परम्परालाई नै आत्मसात् गरेको देखिन्छ । उल्लिखित घटना एवं सन्दर्भहरू क्रमिकताका साथ प्रस्तुत भएकाले क्रम भङ्ग नभई तिनका बिच अन्विति रहेको यस उपन्यासमा कथालाई एउटै सूत्रमा उनेर क्रमिकताका साथ प्रस्तुत गरी औपन्यासिक स्वरूपमा प्रस्तुत गर्नु गीता खत्रीको प्रस्तुत उपन्यासमा देखिने शिल्प संरचनागत वैशिष्ट्य हो । यस उपन्यासको शीर्षकका रूपमा प्रयुक्त ‘रोबोट जर्ज’ ले जर्ज नाम दिइएको रोबोटलाई बुझाएको छ । कथाको अन्त्यतिर उपस्थित गराइएको यस पात्रले उपन्यासकारको कथ्यअनुरूप मूल पात्रको स्थान ओगटेको छ । यसरी मूल पात्रको नामका आधारमा शीर्षक चयन गरिएको प्रस्तुत उपन्यासको शीर्षक अभिधामूलक एवं सामञ्जस्यमूलक देखिन्छ ।

कथ्य
‘रोबोट जर्ज’शीर्षक कृतिमा आख्यानकारले नेपाली र अमेरिकी नेपाली जीवनमा देखे भोगेका तथा अनुभव गरेका घटना र तिनबाट उत्पन्न क्रिया प्रतिक्रियाहरूलाई काल्पनिकताको रङ्ग दिएर आख्यानात्मक संरचना प्रदान गरिएको छ । व्यक्तिगत एवं पारिवारिक विषयमा आधारित यस कृतिमा अमेरिकामा लामो समय बिताएका विभिन्न नेपाली परिवारको सुख दुखका घटनाहरूलाई क्रमिक ढङ्गले प्रस्तुत गरिएको छ । विविध कारणले अमेरिका पुगेका अनेक पात्रको दिनचर्याका आधारमा उनीहरूको मनोविज्ञानका विभिन्न पाटाहरूलाई उधिन्ने प्रयास गरिएको यस उपन्यासमा अमेरिका पुगेका नेपालीको जीवनशैली, दृष्टिकोण आदि विविध सन्दर्भको यथार्थ चित्र खिचिएको छ । स्वदेश छोडेर उतैको नागरिक भइसकेपछि पनि यताको सङ्कीर्ण राजनीतिले छोड्न नसकेको मानसिकताको प्रस्तुतिका साथ यताका नेताका झोला बोक्नकै लागि विभिन्न प्रकारका भातृसङ्गठन खोल्ने प्रचलनप्रति आक्रोश प्रकट गरिएको यस उपन्यासमा खोल्ने अमेरिकी नेपाली जीवनशैलीको तुलना गर्दै तिनप्रति आफ्नो दृष्टिकोणसमेत प्रस्तुत गरिएको छ । केही समयअगि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिडबाट उत्पन्न त्रासद अवस्था पनि यस उपन्यासमा चित्रित छ । अमेरिका एवं नेपालमा रहेका नेपालीहरूले मनाउने विभिन्न प्रकारका चाडपर्वहरूको तुलनात्मक प्रस्तुतिका साथ पूर्वमा प्रचलित पौराणिक एवं किंवदन्तीमूलक आख्यानहरूमाथि तार्किक ढङ्गले प्रश्न उठाइएको यस कृतिमा नेपाली परम्परा एवं संस्कृतिमा युगानुकूल परिमार्जनको आवश्यकता पनि बोध गरिएको छ ।

नेपाली समाजमा व्याप्त लैङ्गिक विभेद विरुद्ध आवाज उठाइएको ‘रोबोट जर्ज’उपन्यासमा वर्तमानमा प्रचलनमा रहेको ‘सरोगेट मदर’ले उत्पन्न गर्नसक्ने मातृत्वको संवेदनामय सङ्कटलाई पनि देखाइएको छ । प्रविधिको अत्यधिक प्रयोगका कारण प्रकृति र मानव समाजबाटै वर्तमान मानिस एक्लिँदै गएको अवस्थाप्रति चिन्ता प्रकट गरिएको यस उपन्यासमा प्रविधि र सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै पाटा हुने हुनाले यिनको प्रयोग सकारात्मक सिर्जनाशीलताका लागि हुनुपर्ने अवधारणा व्यक्त गरिएको छ । यस उपन्यासमा गैरकानुनी ढङ्गले अमेरिका पस्नेका पीडालाई पनि केलाइएको छ ।

नेपाली राजनीतिमा व्याप्त विकृतिविसङ्गतिको विरोध पाइने प्रस्तुत उपन्यासमा नेपाली नेताप्रति आक्रोश प्रकट गर्दै दुखी, पीडित जनताप्रति सहानुभूति व्यक्त गरिएको छ । डायस्पोरामा बस्नेका मानसिक पीडालाई देखाइएको यस उपन्यासमा उनीहरू नेपालबाट टाढा रहे पनि नेपालप्रति अत्यन्त मोह हुने र नेपाललाई बिर्सन नसक्ने यथार्थलाई देखाइएको छ । एउटी महिलाले पति, उसका परिवार एवं सन्तानका लागि आफ्नो अस्तित्व नै दाउमा राख्नुपर्ने अवस्था चित्रित यस उपन्यासमा पुरुषले आफ्नो कथित अस्तित्व रक्षाका लागि महिलालाई बलिको बोको बनाउन पछि नपर्ने यथार्थलाई पनि यस उपन्यासले व्यङ्ग्य गरेको छ । रोबर्ट जर्जको सन्दर्भले यो कृतिमा विज्ञान उपन्यासको झझल्को पाइन्छ । रोबर्टको निर्माण र उसका क्रियाकलापमा स्वैरकल्पनाको प्रयोग पाइए पनि निकट भविष्यमा यसखाले स्वैरकाल्पनिकताले यथार्थको स्वरूप लिनसक्ने सम्भावनालाई पनि यस उपन्यासले औँल्याएको छ । यसले निकट भविष्यमै प्रविधि र मानवीय संवेदनाका बीच सङ्कट निम्त्याउनसक्नेतर्फ पनि यस उपन्यासमा सङ्केत गरिएको छ ।

‘रोबोट जर्ज’उपन्यासमा कथानकलाई सक्रिय रूपमा अगि बढाउने संरचक घटक द्वन्द्वको प्रयोग समुचित रूपमा भएको छ । यसमा बाह्य र आन्तरिक दुवैखाले द्वन्द्वको प्रयोग पाइन्छ । विभिन्न व्यक्तिका बीचमा भएको बाह्य द्वन्द्व, एउटै व्यक्तिको हृदयमा हुने आन्तरिक द्वन्द्वको प्रस्तुति पाइने यस उपन्यासको अन्तिम वाक्यका रूपमा “भन अब यो जर्जलाई कहाँ लैजाऊँ ? भन्ने प्रश्नले पनि एउटा द्वन्द्वकै सिर्जना गरेको देखिन्छ ।

‘रोबोट जर्ज’उपन्यासमा व्यक्तिगत एवं पारिवारिक जनजीवनका विविध पाटाहरू, नेपाली समाजमा व्याप्त लैङ्गिक विभेद, नारीको महत्ता, धर्म, परम्परा, संस्कृति, मातृभूमि आदि अनेक सन्दर्भमा उपन्यासकारको दृष्टिकोण यत्रतत्र देखिए पनि ती चिन्तनको बोझले किचिएको नभई स्वतःस्फूर्त रूपमा अभिव्यञ्जित छन् । यसरी विविध सन्दर्भबाट हेर्दा अमेरिकास्थित नेपाली समाजको यथार्थता देखाइएको यो उपन्यास सामाजिक यथार्थवादका निकट रहेको छ ।

परिवेश, उद्देश्य र दृष्टिबिन्दु
परिवेशअन्तर्गत स्थान, काल र वातावरण आउँछन् । प्रस्तुत उपन्यासमा “स्वप्न नगरी अमेरिका नेपाली युवाका मनमस्तिष्कमा बसेको सपना हो”भन्ने ‘रोबोट जर्ज’उपन्यासको पहिलो वाक्यले परिवेशसूचक स्थानको सङ्केत स्पष्ट रूपमा गरेको देखिन्छ । अमेरिकाकै न्युयोर्क राज्यको प्राकृतिक एवं भौतिक वैभवको प्रस्तुति पाइने यस उपन्यासमा नेपालभित्रको परिवेश चित्रण पनि पाइन्छ । प्रत्यक्ष रूपमा तीनचार दशकको समयलाई समेटिएको भए पनि यसमा सिङ्गो जीवनको पर्यावलोकन गरिएको छ । केही समयअगि कोभिडले ल्याएको आतङ्ककारी परिवेश उल्लेख गरेका कारण यस उपन्यासमा चित्रित समय स्पष्ट हुन्छ । अमेरिकामा रहेका प्रवासी नेपालीको जीवनशैलीका माध्यमबाट यसमा मिश्रित संस्कार एवं संस्कृतिको पनि प्रस्तुति पाइन्छ । नेपाल र अमेरिका दुवैतिरका अनुकूल एवं प्रतिकूल परिवेशको चित्रण पाइने यस उपन्यासमा सुखदभन्दा दुखद परिवेशको चित्रण बढी मात्रामा भएको छ । यस उपन्यासमा चित्रित वातावरण सुखद भन्दा बढी दुखद र त्रासद रहेका छन् । परिवेश चित्रणको व्यापकताका साथ दुखद एवं त्रासद वातावरणको प्रस्तुति यस उपन्यासको परिवेशगत प्रवृत्ति हो ।

कुनै पनि कृतिमा अभिव्यक्त विचारबाट उद्देश्यको निरूपण गर्नुपर्ने हुन्छ । विज्ञान र प्रविधिको चरम विकासबाट उत्पन्न परिस्थितिले मानवीय संवेदनामा पार्नसक्ने संकटतर्फ सङ्केत गर्नु यस कृतिको मूल अभीष्ट रहेको छ । भुल मानिसबाटै हुने हुनाले त्यसलाई हार्दिकतापूर्वक स्वीकार गरे जीवन सुखी र खुसी हुने दृष्टिकोण अभिव्यञ्जित यस उपन्यासमा जस्तोसुकै परिस्थितिमा पनि मानिसले आपूmलाई समायोजन गर्नसक्नु पर्ने दृष्टिकोण पनि अभिव्यक्त छ । नितान्त पृथक् भूगोल तथा समाजमा पुगेपछि आइपर्ने अनेक प्रकारका सङ्घर्षलाई व्यक्तिले सहजतापूर्वक आत्मसात गरेर आशावादी दृष्टिकोणका साथ अगि बढ्नसके मात्र जीवन सफल हुन्छ भन्ने सकारात्मक दृष्टिकोणको प्रस्तुति पनि यस उपन्यासको उद्देश्य रहेको छ । उल्लिखित सन्दर्भका अतिरिक्त यस उपन्यासमा उपन्यासकारको पितृदेश, समाज, डायस्पोरा, धर्म, परम्परा एवं मानवजीवनप्रतिका दृष्टिकोण यत्रतत्र सल्बलाएका छन् ।

दृष्टिबिन्दुको प्रयोगका सन्दर्भबाट हेर्दा यस उपन्यासका पाठक कतिपय ठाउँमा अल्मलिन सक्ने स्थिति पनि रहेको छ । समाख्याताले प्रयोग गर्ने प्रथम पुरुष दृष्टिबिन्दु अर्थात् ‘म’ को प्रयोग एकभन्दा बढी पात्रद्वारा गराइएको हुनाले यस्तो स्थिति सिर्जना हुन पुगे पनि त्यो क्षणिक मात्र देखिन्छ । उपन्यास पढ्दैजाँदा प्रथम पुरुष दृष्टिबिन्दु प्रयोक्ता को हो भन्ने बारे कतै लेखक द्वारा सङ्केत गरिएको छ भने कतै पाठक स्वयंमा स्पष्ट हुने स्थिति रहेको छ ।

भाषाशैलीय विन्यास
प्रस्तुत उपन्यासमा प्रयुक्त भाषा सरल एवं बोधगम्य भएकाले सबै स्तरका पाठकका लागि सहज पठनीय रहेको देखिन्छ । तत्सम, तद्भव र आगन्तुक शब्दको उचित प्रयोग यस उपन्यासमा भएको पाइन्छ । जनजिब्रोमा सहज भइसकेका मर्निङ, ट्रेन स्टेसन, ब्रेकफास्ट जस्ता अङ्ग्रेजी शब्दको प्रयोगले यसको भाषालाई यथार्थमूलक बनाएको छ । ठाउँठाउँमा वर्णविन्यासगत एवं सङ्गतिगत असावधानी भेटिए पनि तिनले दाँतमा ढुङ्गा नै चाहिँ लाग्नदिएका छैनन् । अङ्ग्रेजीका शब्द, पदावली र वाक्यहरूका साथै नेपाली उखान, टुक्का, सूक्तिहरूको यथोचित प्रयोगले प्रस्तुत उपन्यासको भाषालाई यथार्थमूलक एवं आकर्षक बनाउन भूमिका खेलेका छन् ।

४. उपसंहार
अमेरिकी भूगोल एवं परिवेशमा बाँचेको नेपाली मानसिकता, आप्रवासमा पाइने दुख, कष्ट, सङ्घर्षलाई देखाइएको गीता खत्रीको ‘रोबोट जर्ज’शीर्षक उपन्यासमा कथ्यलाई सरल ढङ्गले प्रस्तुत गरिएको छ । विषयगत विविधता, चिन्तनमूलकता, डायस्पोरिक नेपाली पीडाको अभिव्यक्ति, यथार्थमूलक प्रस्तुतिका साथ सरलता एवं सहजता यस उपन्यासका विशेषता हुन् । विषम परिस्थितिमा पनि सहजतापूर्वक अगि बढ्नुपर्ने दृष्टिकोणका साथ आप्रवासी भावना व्यक्त गरिएको यो उपन्यास सोद्देश्यमूलक रहेको छ । तार्किकता एवं तुलनात्मकताको सहारा लिई स्पष्ट विचारका साथ प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित यस कृतिलाई सम्भावित वैज्ञानिक यथार्थको सङ्केत गर्ने सामाजिक यथार्थमा आधारित डायस्पोरा साहित्यको कृतिका रूपमा उल्लेख गर्न सकिन्छ ।