अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

बेञ्जु शर्माका नाटक

लीला लुइटेल २०७७ माघ २० गते १३:२५ मा प्रकाशित

अभिनय गरिने वा अनुकरण गरिने रचनालाई बुझाउने नाटकलाई पूर्वीय साहित्यमा दृश्यकाव्यअन्तर्गत चर्चा गर्ने प्रचलन रहेको छ । मञ्चमा गरिने अभिनयले नै विशिष्ट स्वरूप प्राप्त गर्ने नाटक साहित्यको सबैभन्दा प्रभावशाली विधा हो । पूर्व र पश्चिम दुवैतिर पुरानो विधाका रूपमा सम्मानित नाटकको विकास नेपाली साहित्यमा चाहिँ निकै पछि मात्र भएको पाइन्छ । नेपालीमा साहित्यिक नाटकको क्रमबद्ध विकास मोतीराम भट्टदेखि भएको मानिन्छ । मोतीराम पूर्व केही नाटक अनुवाद भएको र राणा दरबारभित्र प्रदर्शन गर्न अनेकौँ नाटक लेखिएको पाइए पनि यस विधाको वास्तविक थालनी मोतीराम भट्टबाट नै भएको हो ।

नेपाली नाटकमा महिला लेखनको स्थिति निकै कम रहेको छ । नेपाली नाटकमा महिला सहभागिता अत्यन्त धीमा गतिमा भएको देखिए पनि निराशै हुनुपर्ने अवस्थाचाहिँ छैन । हालसम्म प्राप्त जानकारी अनुसार नेपाली एकाङ्की/नाटकमा महिलाको प्रवेश सन् १९५४ को भारती पत्रिकामा प्रकाशित राधिका रायाको ‘जीवनको इच्छा’ शीर्षक एकाङ्कीबाट भएको हो । मानव जीवनमा शिक्षाको आवश्यकतालाई देखाइएका यिनका एकाङ्कीमा पुस्तान्तरबाट उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । राधिका रायापछि मायादेवी सुब्बा, सुभद्रादेवी दङ्गालका नाट्यकृति प्रकाशन भएको देखिन्छ । यिनीहरूका नाटक रङ्गमञ्चमा मञ्चन भएको जानकारी पाइन्छ । यसै समयको हाराहारीतिर देखापरेकी शान्ता श्रेष्ठको विशेष सक्रियता ध्वनि नाटक अर्थात् रेडियो नाटकका क्षेत्रमा देखिएको छ ।

यसपछि अन्य महिला नाटककाकारका नाट्यकृतिहरू प्रकाशन भएको देखिन्छ । केही समययता नाटक रङ्गमञ्चमा मात्र सीमित नरही सडकमा समेत प्रदर्शन गर्न सकिने विधाका रूपमा स्थापित हुँदै गएको पाइए पनि सडक नाटकको लेखनतर्फ महिला साहित्यकारको ध्यान त्यति पुग्न सकेको देखिँदैन । समग्र नेपाली साहित्यमै अन्य विधाका तुलनामा अपेक्षाकृत नाटकको विकास कमै भएको स्थितिमा नाटक क्षेत्रमा महिला लेखनको स्थिति कम हुनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ ।

नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्ध आदि सबै विधामा सशक्त ढङ्गले कलम चलाउने बेञ्जु शर्मा गतिशील एवं प्रतिष्ठित साहित्यकारका रूपमा परिचित छन् । साहित्यका अन्य विधामा आफ्नो छुट्टै पहिचान बनाई नेपाली साहित्यमा विशेष स्थान निर्माण गर्न सफल उनले नाटक पनि लेखेकी छन् भन्ने यथार्थको जानकारी थोरै पाठकलाई मात्र छ । नेपाली महिला साहित्यकार (२०६९) शीर्षक पुस्तक तयार पार्ने सिलसिलामा पत्रपत्रिका खोजी गर्दै जाँदा विभिन्न पत्रिकामा प्रकाशित बेञ्जु शर्माका केही नाटक पढ्ने मौका मैले पाएकी थिएँ र उक्त पुस्तकमा अत्यन्त सङ्क्षेपमा चर्चासमेत गरेकी थिएँ । यसरी छरिएर रहेका नाटकहरूलाई पुस्तकाकार कृतिको रूप दिन त्यति बेलै अनुरोध पनि गरेकी थिएँ ।

उपलब्ध सामग्रीअनुसार बेञ्जु शर्मा २०२० सालको कस्तुरी पत्रिकामा प्रकाशित ‘विवाह’ शीर्षक एकाङ्कीका माध्यमबाट नेपाली नाटकका क्षेत्रमा देखापरेकी हुन् । यिनको यो नाटक सोही वर्ष पद्मकन्या कलेजका छात्राद्वारा मञ्चनसमेत भएको जानकारी पाइन्छ । लामो समयपछि विभिन्न पत्रपत्रिकामा छरिएर रहेका थुप्रै नाटक/एकाङ्कीबाट केही चयन गरी बेञ्जु शर्माको केवल एउटा कोठा शीर्षक पुस्तकको रूपमा अहिले प्रकाशन हुनलागेकोमा मलाई अत्यन्त हर्ष लागेको छ । केवल एउटा कोठा शीर्षक यस नाट्य कृतिमा ८ वटा नाटक समाविष्ट छन् । यीमध्ये कतिपय मञ्चन भइसकेका र कतिपय रेडियोबाट प्रसारण भइसकेका छन् ।

बेञ्जु शर्माका नाटकमा विभिन्न सन्दर्भका वैयक्तिक, पारिवारिक एवं सामाजिक विषयले प्रवेश पाएका छन् । सङ्कीर्ण स्वार्थका कारण खिइँदै मानवीय मूल्यका कारण गिर्दो संवेदना एवं मानसिकताको प्रस्तुति पाइने यिनका नाटकमा वर्तमानमा मानवता समाप्त भएको देखाइएको छ । वृद्धावस्थामा परिवारबाट अपहेलित भएर बाँच्नुपर्ने दुरावस्थाको चित्रण पाइने यिनका नाटकमा सन्तानले गर्ने पैतृक सम्पत्तिको लुछाचुँडीमा हुने टीठलाग्दो दृश्य पनि चित्रित छ । बिहे गरेकी चेलीको माइतीमा कुनै अस्तित्व र स्थान नदिइने सामाजिक दृष्टिकोणप्रति यिनले आक्रोश प्रकट गरेकी छन् । अधिकार र कर्तव्य नबुझेर रुमलिएको मानसिकताको प्रस्तुति पाइने यिनका नाटकमा कानुनभन्दा माथि कर्तव्य रहेको धारणा अभिव्यञ्जित छ । यिनले कथित नेताका भाषण र व्यवहारमा पाइने विपर्यास वृत्तिप्रति व्यङ्ग्य पनि प्रहार गरेकी छन् ।

वर्तमानमा मानवीय मूल्य र भावनाको ह्रास हुँदै गएकामा चिन्ता प्रकट गरिएका यिनका नाटकमा मानिसका स्वार्थी, कुटिल प्रवृत्तिप्रति आक्रोश प्रकट गरिएको छ । असमझदारी एवं असफल प्रेमबाट उत्पन्न विक्षिप्त एवं आपराधिक मानसिकतालाई पनि यिनका एकाङ्कीमा देखाइएको छ ।

पितृसत्तात्मक सङ्कीर्ण सोचले महिलालाई मानसिक रूपमै थिलथिलो पारेर अपाङ्ग बनाएको मार्मिक यथार्थको प्रस्तुति पाइने यिनका नाटकमा परालम्बी भएर बाँच्न बाध्य नेपाली महिलाका मानसिक स्थितिको विश्लेषण गरिएको छ । अति संरक्षणले नारीमा अन्तर्निहित आत्मविश्वासको हत्या भएर उनीहरू निरीह भइसकेको कटु यथार्थको भाव अभिव्यञ्जित यिनका नाटकमा घरपरिवार भन्दाभन्दै नेपाली महिलाको दिमाग र संवेदना नै भुत्ते भइसकेको यथार्थ प्रकट गरिएको छ । नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदको विरोध पाइने यिनका नाटकमा नारीहरूमा स्वतन्त्रता र आत्मविश्वासको चेतना जगाउनुपर्ने भावको प्रस्तुति पाइन्छ । नेपाली समाजमा व्याप्त बहुविवाहको विरोध गरिएका यिनका एकाङ्कीमा कानुन र मानवीय संवेदना प्रत्येक व्यक्तिका लागि बराबर हुनुपर्छ भनेर आवाज उठाइएको छ । नारीको शरीर र संवेदनालाई काबुमा राख्न खोज्ने सङ्कीर्ण दृष्टिकोणका विरोधमा विद्रोह पाइने यिनका नाटकमा समयक्रममा देखापर्दै गएको नारीको अस्तित्वचेतलाई देखाउँदै नारी अस्मिताको खोजी पनि गरिएको छ ।

युद्धका कारण उत्पन्न सन्त्रस्त लाहुरे परिवारको मानसिक स्थितिलाई पनि बेञ्जु शर्माले अत्यन्त मार्मिक पाराले नाट्यात्मक संरचना प्रदान गरेकी छन् । यिनका नाटकमा शारीरिक कमजोरीका कारण उत्पन्न विसङ्गति बोधको पनि प्रस्तुति पाइन्छ । समयमा साँचो माया चिन्न नसक्दा हुन गएको पश्चात्तापबाट उत्पन्न मानसिक विकृतिलाई पनि यिनमा नाटकमा देखाइएको छ । बेञ्जु शर्माले नाटकका माध्यमबाट नारीपुरुष दुवैको मनोविज्ञान केलाउने प्रयास गरेको देखिन्छ । नेपाली साहित्यकारमा देखिएका ईर्ष्या, द्वेष, अहँ आदि पनि यिनका नाटकमा सङ्केतित छन् । यिनले इतर भाषी अग्रज साहित्यकार रवीन्द्रनाथको उपन्यासलाई पनि नाटकीय संरचना प्रदान गरेकी छन् ।

आफ्नो पारिवारिक जीवनमा घटेको यथार्थ एवं मार्मिक घटनालाई पनि बेञ्जु शर्माले नाटकीय संरचना प्रदान गरेको देखिन्छ । २०२१ साल जेठ ३१ गते भीमनिधि तिवारीको मृत्यु भएको हल्ला सुनेर हडबडाउँदै उनको परिवारलाई समवेदना प्रकट गर्न पुगेका सम, तिवारी र स्वयं बेञ्जु बिच भएका छोटो मिठो संवादलाई ‘सत्य घटना’ शीर्षक नाटकमा प्रस्तुत गरिएको छ । सुप्रसिद्ध नाटककार बालकृष्ण सम, भीमनिधि तिवारीलगायत नाटककार स्वयं बेञ्जुसमेत प्रस्तुत नाटकमा पात्रका रूपमा चित्रित छन् ।

परिस्थितिजन्य कारणबाट आहत भएका मानिसका पीडा, वेदना र छटपटीको चित्रण पाइने. बेञ्जुका नाटकमा मानिसले जीवनमा भोग्नुपरेका विभिन्न खाले बाह्य तथा आन्तरिक विसङ्गतिले अभिव्यक्ति पाएका छन् । यिनका प्रायः सबै नाटकमा विसङ्गतिको प्रस्तुति भए पनि अधिकांशतः विसङ्गतिकै वृत्तमा रुग्ण नरहेर अस्तित्वतर्फ उन्मुख देखिन्छन् अर्थात् यिनका नाटकमा विसङ्गतिगत पलायन नभएर जीवनप्रति आशावादी दृष्टिकोण पनि अभिव्यञ्जित छन् ।

नाटकमा द्वन्द्वले विशेष भूमिका खेलेको हुन्छ । अन्य आख्यानात्मक संरचनाबाट नाटकलाई विभेद गराउने प्रमुख तत्त्व पनि द्वन्द्व नै हो । नाटकमा विरोधी पात्रहरूका बिचको सङ्घर्ष बाह्य द्वन्द्व हो भने कुनै एक पात्रका मनमा पाइने विरोधी भावहरूका बिचको सङ्घर्ष आन्तरिक द्वन्द्व हो । बेञ्जु शर्माका नाटकमा द्वन्द्वको संयोजन समुचित ढङ्गमा गरिएको छ । आन्तरिक र बाह्य दुवै प्रकारका द्वन्द्वका प्रयोग सहज रूपमा पाइने यिनका नाटकमा आन्तरिकभन्दा बाह्य द्वन्द्व प्रबल देखिन्छ । अझ त्यसमा पनि पुरानो पुस्ता र नयाँ पुस्ताका बिचको द्वन्द्वलाई यिनले विशेष रूपले प्रस्तुत गरेको पाइन्छ । यिनका नाटकमा नारी र पुरुषका बिच हुने लैङ्गिक विभेदबाट उत्पन्न द्वन्द्वलाई देखाइएको छ । बाह्य द्वन्द्वका अतिरिक्त यिनका नाटकमा आन्तरिक द्वन्द्वको प्रयोग पनि पाइन्छ । यसप्रकारको आन्तरिक द्वन्द्वको प्रस्तुतिमा व्यक्तिको मनोविज्ञान पनि चित्रित छ । यसरी हेर्दा यिनका नाटकमा व्यक्ति र व्यक्ति, व्यक्ति र परिस्थितिका बिच भएको सङ्घर्ष बाह्य द्वन्द्वका रूपमा तथा व्यक्तिको आन्तरिक मनस्थितिका बिचको सङ्घर्षचाहिँ आन्तरिक द्वन्द्वका रूपमा आएको देखिन्छ ।

बेञ्जु शर्माका नाटकमा प्रयुक्त पात्रहरूले प्रायः उच्च तथा मध्यमवर्गको प्रतिनिधित्व गरेका छन् । अधिकांशतः शिक्षित र बौद्धिक पात्रको प्रयोग गर्न रुचाउने बेञ्जुका केही नाटकमा अशिक्षित एवं श्रमिक वर्गका पात्रलाई पनि समावेश गरिएको छ । यिनका नाटकमा अधिकांशतः वर्गीयभन्दा व्यक्ति पात्रको बहुलता रहेको छ । काठमाडौँको सहरिया परिवेश चित्रित यिनका कतिपय नाटकमा स्थान र समयको सङ्केत गरिएको छैन । यिनका नाटकमा चित्रित वातावरण आन्तरिक एवं बाह्य दुवै रूपले शुष्क एवं दुखद रहेको छ । युगीन मानिसले व्यक्तिगत, पारिवारिक एवं सामाजिक क्षेत्रमा भोगिरहेका बाह्य र आन्तरिक विसङ्गतिलाई विविध सन्दर्भ र प्रसङ्गबाट प्रस्तुत गर्नु बेञ्जु शर्माका नाटक लेखनको अभीष्ट रहेको देखिन्छ ।

नाटक रङ्गमञ्चकै माध्यमबाट सफल हुने हुँदा नाटककारले मञ्चको पनि सङ्केत गर्नु उचित हुन्छ, तर ध्वनि नाटकमा यसको आवश्यकता पर्दैन । रङ्गमञ्चीय एवं ध्वनि दुवैखाले नाटकमा कलम चलाएकी बेञ्जु शर्माका नाटकमा मञ्चीय नाटकमा मञ्च व्यवस्थापनको सामान्य सङ्केत पाइन्छ भने ध्वनि नाटकमा मञ्च निर्देश आवश्यक नभएकाले गरिएको छैन । अधिकांशतः मानक नेपाली भाषाको प्रयोग पाइने यिनका नाटकमा कतैकतै बोलीचालीमा प्रयोग हुने कथ्यभाषा पनि प्रयुक्त देखिन्छ । पात्रको स्तर एवं मानसिक अवस्थाअनुरूप भाषाको प्रयोग पाइने यिनका नाटकमा प्रयुक्त संवाद परिष्कृत एवं परिमार्जित भइकन पनि सरल देखिन्छन् । सामाजिक क्षेत्रबाट टिपिएका बोधगम्य बिम्ब, प्रतीकको प्रयोगका साथ तार्किक अभिव्यक्तिको प्रयोगले यिनका नाटकमा प्रयुक्त भाषालाई कलात्मक तुल्याएका छन् । व्यक्तिको मनोदशालाई देखाउने अभीष्टले लेखिएका नाटकका संवाद तुलनात्मक रूपमा केही लामा देखिए पनि यिनका अधिकांश नाटकमा प्रयुक्त संवाद छोटाछरिता छन् ।

कथानक, सहभागी, परिवेश, उद्देश्य, द्वन्द्व आदि विभिन्न घटकहरूको संयोजनबाट नाटकले एउटा स्पष्ट संरचना प्राप्त गर्छ । सुस्पष्ट कथानकका साथ सहभागी र द्वन्द्वको सन्तुलित र समुचित संयोजन बेञ्जु शर्माका यस सङ्ग्रहमा समाविष्ट नाटकमा भएको देखिन्छ । यस सङ्ग्रहमा सङ्कलित सबै नाटक यिनको समग्र साहित्यिक लेखनयात्राको आभ्यासिक चरणकै सिर्जना भएकाले कतिपयमा आभ्यासिक चरणको झल्को पाइए पनि प्रायः नाटकहरू समय सापेक्षित रूपमा सशक्त नै देखिन्छन् ।

अन्त्यमा, नेपाली साहित्यका अन्य विधामा सक्रियताका साथ प्रतिष्ठा एवं सिद्धि हासिल गरिसकेकी सर्जक बेञ्जु शर्माले प्रस्तुत कृतिमार्पmत नाटक लेखनका क्षेत्रमा पुस्तैनी बिँडो थाम्नुका साथै आफ्नो स्थान सुरक्षित राखेकामा म हार्दिक बधाइज्ञापन गर्दछु साथै उनको सिर्जनात्मक सक्रियताका लागि हार्दिक शुभेच्छा प्रकट गर्दछु ।