अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 23:54

प्रधानन्यायाधीशलाई खुलापत्र

लीला लुइटेल २०७७ भदौ ११ गते ९:०५ मा प्रकाशित

सम्माननीय प्रधानन्याधीशज्यू,
तपाईंसहितको संवैधानिक इजलासले गरेको इम्बोस्ड नम्बर अङ्ग्रेजीमा राख्नुपर्ने भन्ने फैसलाले सम्पूर्ण नेपालीको भावनामा चोट पुगेको छ । अझ इम्बोस्ड नम्बर अङ्ग्रेजीमै राख्नुपर्ने विषयमा तपाईंहरूले उल्लेख गरेका बुँदाहरू नेपालको संविधान एवं कानुन बुझ्नेहरूको त कुरै छोडौँ, केही नबुझ्ने सामान्य नागरिकहरूका लागि पनि अत्यन्त विवेकहीन एवं हास्यास्पद देखिन्छन् । तिनलाई म यहाँ बुँदागत रूपमा उल्लेख गर्दैछु ।

१. ‘नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानोठूलो हुने भएकोले नम्बर प्लेटको साइज एउटै हुन नसक्ने भएकोले एउटै साइजको नम्बर प्लेट जडान गरी एकरूपता कायम गर्न तथा अन्य देशहरूमा समेत प्रचलनमा रहेका इम्बोस्ड नम्बर प्लेटमा लेखिएका अक्षरहरूसमेतलाई आधार मानेर सहजताका लागि मात्र अङ्ग्रेजी भाषाको प्रयोग भएको’ भन्ने फैसला हेर्दा केही कुरा भन्न मनलाग्यो ।

पहिलो कुरा देवनागरी लिपिलाई प्रविधिमा उपयोग गर्न सकिन्न भन्नु सरासर गलत हो । प्रविधि भनेको मानिसले आफ्नो सुविधाअनुसार निर्माण गर्ने वस्तु हो । त्यसमा पनि देवनागरी लिपिलाई प्रविधिमैत्री बनाउन ठुलो सङ्ख्याको जनशक्ति नेपालमै सक्षम भइसकेका छन् ।

मात्राको कारण अक्षरको आकार सानोठूलो हुने भएकोले नम्बर प्लेटको साइज एउटै हुन नसक्ने भएकोले अङ्ग्रेजीमा लेखिएको एउटै साइजको नम्बर प्लेट जडान गरी एकरूपता कायम गर्ने भन्ने पैmसला अत्यन्त गैर जिम्मेवार एवं हास्यास्पद देखियो । अहिलेको विद्युतीय सञ्चारको युगमा पनि तपाईंहरूलाई लिपिसम्बन्धी ज्ञान तथा समसामयिकताको जानकारी नभएको हो कि ज्ञान भएर पनि बुझ पचाउन खोज्नुभएको बुझ्न सकिएन । आकार, इकार, उकार, ओकारजस्ता मात्राको व्यवस्था नेपाली भाषामा प्रयोग गरिने देवनागरी लिपिमा मात्र नभएर विश्वका अनेक लिपिमा प्रचलित छन् । धेरै पर नजाऊँ, नजिकको छिमेकी देश भुटानमा इम्बोस्ड नम्बर प्रचलनमा भएको यथार्थ तपाईंहरूलाई जानकारी नै होला । अनि भुटानको नम्बर प्लेटमा सम्भोट लिपिमा लेखिने जोङ्खा भाषा प्रयोग गरिएको पनि थाहा छ नै होला । सम्भोट लिपिमा लेखिने जोङ्खा भाषामा इकार, उकार, एकार, ओकारको व्यवस्था रहेको थाहा पाउनुभएको छैन भने तपाइहरूको जानकारीका लागि केही अक्षर यहाँ उदाहरण दिइन्छ:
कि — ཀི
कु — ཀུ
के — ཀེ
को — ཀོ

मात्राकै कारणले एकरूपता कायम गर्न नसकिने भन्ने हो भने सम्भोट लिपि प्रयुक्त जोङ्खा भाषामा भएका यी मात्राहरूको स्वरूप हेर्दा देवनागरी लिपिका तुलनामा अझ बढी असहज हुने स्पष्टै देखिन्छ । भुटानले आफ्नो भाषा र लिपि नमासीकन इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्नसक्ने तर देवनागरी लिपिमा लेखिएको नेपालीमा नसकिने भन्नुको कारण के ? यसर्थ मात्राकै कारण देखाएर तपाइहरूले गरेको फैसला हास्यास्पद एवं अविवेकी पुष्टि गर्न यो एउटा उदाहरण नै पर्याप्त रहेको छ ।

प्रविधिले मान्छेलाई नभएर मान्छेले प्रविधिलाई बनाएको हुँदा अहिलेको विद्युतीय सञ्चारको युगमा प्रविधिको हाउगुजी देखाएर यथार्थलाई ढाकछोप गर्ने प्रयास अपरिपक्व एवं अविवेकी मानसिकताको सङ्केत हो । त्यसैले प्रविधिको हाउगुजी देखाएर प्रचलित वर्णलाई मास्ने होइन, त्यसै अनुरूपको प्रविधि निर्माण गरी प्रयोग गर्नुपर्छ । यस काममा प्रयोग हुने प्रविधिका लागि विदेशीको मुख ताक्नै पर्दैन, यस प्रविधिलाई सहजतापूर्वक निर्माण एवं सञ्चालन गर्न नेपाली जनशक्ति सक्षम भइसकेको छ । अर्कोतिर तपाइहरूले गरेको यो निर्णयले वृद्धावस्थामा पुगेका आमाबालाई घरमा कोठा नपुगेर घरबाट निकालेजस्तो भएन र ?

२. ‘नेपाली भाषा सरकारी कामकाजको भाषा हुने संवैधानिक व्यवस्था हुँदाहुँदै अहिले पनि नेपाल सरकारले सम्पादन गरेका कतिपय कामहरूमा अङ्ग्रेजी भाषाको प्रयोग अनिवार्य रूपमा गरिनुपर्ने यथार्थ हाम्रासामु रहेको छ । परराष्ट्र मन्त्रालयबाट सम्पादित हुने कार्यमा तथा यातायात व्यवस्था विभागबाट जारी गरिने स्मार्ट अनुमतिपत्रमा अङ्ग्रेजी भाषा प्रयोग भइरहेको देखिन्छ भने नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्रमा नेपाली भाषाको साथसाथै अङ्ग्रेजी भाषाको पनि प्रयोग भइरहेको देखिन्छ । नेपालमा विश्वविद्यालयद्वारा अङ्ग्रेजी भाषामै प्रमाणपत्र जारी गरिएको छ ।’

फैसलामा उल्लिखित यो बुँदा हेर्दा तपाईंहरू देशभित्रै हुने सरकारी कामकारबाहीमा समेत अद्यावधिक नभएको पुष्टि हुन्छ किनकि परराष्ट्र मन्त्रालयबाट विदेशी निकायहरूमा हुने पत्राचारको माध्यम अङ्ग्रेजी भए पनि परराष्ट्र मन्त्रालयबाट स्वदेशमा गरिने सम्पूर्ण पत्राचार नेपाली माध्यममै हुने गरेको तथ्य तपाईँलाई अहिलेसम्म जानकारी नभएकै हो त ? जानकारी नभए एक पटक परराष्ट्र मन्त्रालयमा फोन गरेर बुझ्ने प्रयास गर्नुहुन्छ कि ? अनि नेपाली राहदानी र नेपाली नागरिकताको प्रमाणपत्रमा पनि नेपाली र अङ्ग्रेजी दुवै भाषाको प्रयोग गरिएको छ भने इम्बोस्ड नम्बर प्लेटमा चाहिँ नेपाली राख्न नमिल्ने भन्नुले के बुझाउँछ ?

नेपालमा विश्वविद्यालयद्वारा अङ्ग्रेजी भाषामै प्रमाणपत्र जारी गरिएको छ भन्ने सन्दर्भमा तपाईँले आफ्नै प्रमाणपत्र हेर्नुहोला । तपाईँको प्रमाणपत्र नेपालका विश्वविद्यालयबाट जारी गरिएको नभए त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने सबै तहका प्रमाणपत्रमा माथि ठूला अक्षरमा नेपाली र तल साना अक्षरमा अङ्ग्रेजी लेखिएको यथार्थ तपाईँलाई जानकारी गराउँछु ।

अर्को कुरा वर्तमान विश्व परिवेशसँग समन्वय राख्नुपर्ने कतिपय सन्दर्भका सरकारी कामकाज अङ्ग्रेजीमा भयो भन्दैमा इम्बोस्ड नम्बर पनि अङ्ग्रेजीमा मात्र राख्नुपर्छ भन्ने भनाइ कति ठिक हो ?

३. ‘नेपालमा सञ्चालित सवारी साधनहरूमा तिनको चोरी, राजस्व छली तथा अन्य आपराधिक क्रियाकलाप रोक्ने, सवारीसाधनको व्यवस्थापनलाई आधुनिक एवं वैज्ञानिक बनाउने उद्देश्यले उच्च सुरक्षायुक्त डिजिटल इम्बोस्ड नम्बर प्लेट लागु गर्दा यातायात व्यवस्थापनलाई वैज्ञानिक बनाउने, सुरक्षा प्रबन्ध, चोरी पैठारी नियन्त्रण, कर असुलीसमेतलाई सहज बनाउने’ भनेर उल्लेख गरिएको रहेछ । उसो भए अहिलेसम्म नेपालमा चलाइएका गाडीहरू सबै चोरीकै हुन् त ? अहिलेसम्म कसैले पनि कर तिरेकै छैनन् त ?

यस्ता अनेक सन्दर्भलाई सहज बनाउन देवनागरी लिपिमा सम्भव हुँदैन र ? यस विषयमा प्राविधिकहरूको राय बुझ्नु पर्छ कि पर्दैन ? विद्युतीय सञ्चारको एउटा सशक्त माध्यम अन्तर्राष्ट्रिय स्तरको गुगलले समेत मान्यता दिइसकेको र सहज रूपमा प्रयोग भइरहेको नेपाली भाषा देशभित्रका जनताका लागि असहज र असम्भव देख्नु प्रविधिसँग अद्यावधिक नहुनु तथा विवेकहीनताको पराकाष्ठा होइन र ?

४. ‘इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याएका भारत, चीन, भुटानलगायतका मुलुकमा समेत अङ्ग्रेजी अक्षर प्रयोग भएको छ ।’
यस बुँदाका सन्दर्भमा भुटानको उल्लेख माथि नै गरिसकिएको छ । यहाँ भारतको सन्दर्भमा चाहिँ केही भन्नु जरुरी हुन्छ । भारतमा राज्यैपिच्छे बेग्लाबेग्लै भाषा र लिपिको प्रयोग हुने यथार्थ त तपाईंहरूलाई जानकारी हुनुपर्ने हो । त्यहाँ एउटा राज्यमा प्रयोग गरिने भाषा र लिपि अर्को राज्यमा बस्ने व्यक्तिले नबुझ्ने स्थिति रहेको छ । अधिक भाषा प्रयोग गरिने मुलुक भारतका संविधानको आठौँ अनुसूचीमा नेपालीलगायत २२ वटा भाषालाई संवैधानिक मान्यता प्रदान गरिसकिएको छ । यसले गर्दा भारतका हरेक राज्यमा माध्यम भाषा तथा सरकारी कामकाजका लागि एउटा मुख्य भाषाका रूपमा अङ्ग्रेजी भाषालाई तोकिएको छ । यी विविध कारणले भारतका सवारीसाधनमा अङ्ग्रेजीको प्रयोग गर्नुपरेको यथार्थलाई गलत ढङ्गले व्याख्या गरिएको किन होला ?

बङ्गलादेश र चीनका सवारीसाधनको नम्बर प्लेटमा सम्बन्धित देशको सरकारी कामकाजको भाषा र अङ्ग्रेजी दुवै भाषाका लिपिको प्रयोग गरिएको स्पष्ट देख्दादेख्दै यसको भ्रमपूर्ण अपव्याख्या गरिने कारण के होला ?

५. ‘नेपाल, भारत, भुटान र बङ्गलादेशबिच अन्तर्देशीय पारवहन सम्झौता भइसकेको सन्दर्भमा नेपालमा दर्ता भएका सवारीसाधनहरूको आवतजावत अन्य मुलुकमा समेत हुने हुँदा अङ्ग्रेजी लिपिमा नम्बर प्लेट जारी हुँदा अन्तर्देशीय आवतजावतलाई समेत सहज हुने देखिने’ भन्ने सन्दर्भमा अन्तर्देशीय पारवहन सम्झौता भइसकेपछि पनि नेपालका सवारीसाधन यी देशमा जान नपाएको यथार्थ छर्लङ्गै छ ।

६. नेपालका सवारीसाधनमा प्रयोग हुने भाषा विदेशीहरूका लागि नभएर मूलतः नेपालीहरूका लागि हो भन्ने कुरामा दुई मत छैन । नेपालमा चल्ने सवारीसाधनमा प्रत्यक्षतः नेपाली नै संलग्न हुने भएकाले अङ्ग्रेजी भाषामा मात्र नम्बर प्लेट राख्दा दुर्घटना गरेर, गराएर भाग्ने चालकको सङ्ख्या अत्यधिक बढ्ने देखिन्छ । अहिले नम्बर प्लेट नेपालीमै हुँदा त नियतवश दुर्घटना गराएर चालक फरार भइरहेका छन् भने अधिकांश नेपालीले अङ्ग्रेजी अक्षर नबुझ्ने स्थिति स्पष्ट हुँदाहुँदै अङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्दा त्यसको परिणाम के हुन्छ ? नेपालीमा हुँदा कुनै सवारीसाधनले कसैलाई ठक्कर दिई भागेमा त्यहाँ वरिपरि रहेका सामान्य साक्षर व्यक्तिले पनि नम्बर टिपेर ट्राफिकलाई खबर गर्नसक्ने स्थिति रहेको छ तर अङ्ग्रेजीमा लेखिएको नम्बर प्लेट सामान्य साक्षरको त के कुरा, उच्च शिक्षितलाई समेत हेर्ने बित्तिकै तत्काल बुझ्न र टिप्न कठिन हुन्छ । यसर्थ यसले दुर्घटनाजन्य अपराधको ग्राफ बढाउने निश्चित छ ।

सम्माननीय प्रधानन्यायाधीशज्यू,
सिङ्गो राष्ट्रको पहिचान बोक्ने भाषा राष्ट्रियता अस्मितासँग गाँसिएको विषय पनि हो । यहाँ यति उल्लेख गर्नुको तात्पर्य अङ्ग्रेजी भाषाको विरोध होइन । एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा अङ्ग्रेजी भाषालाई प्रतिबन्ध नै लगाउनुपर्छ भन्ने आशय पनि होइन । अर्कोतिर नेपालको संविधानको धारा ७ (१) मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने स्पष्ट व्यवस्थालाई कुल्चिएर नेपाली भाषालाई पूर्णतया बन्देज लगाउने नियतबाट प्रेरित भई गरिएको गैर संवैधानिक फैसलामा तपाईंहरूको के स्वार्थ लुकेको छ ?

तसर्थ नेपाली भाषालाई पूर्ण निषेध नगरी नेपाली राहदानी, नेपाली नागरिकता, विश्वविद्यालयका प्रमाणपत्रहरूका माथि नेपाली र तल अङ्ग्रेजी लेखिने व्यवस्था भएजस्तै नेपालमा चल्ने सवारीसाधनमा पनि वर्तमान विश्व परिवेशअनुरूप पहिला नेपाली र त्यसपछि अङ्ग्रेजी लेख्ने व्यवस्था गरियोस् भन्ने आग्रह गर्नु यस पत्र लेखनको अभीष्ट हो । त्यसैले अब जारी गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्ने व्यवस्था गर्दा हुने अप्ठ्यारो के ?

सम्माननीय प्रधानन्यायाधीशज्यू,
नेपाली भाषाका वर्ण लेखनमा जटिलता रहेको भनी प्रविधिको हाउगुजी देखाएर सर्वोच्च अदालतका न्यायधीशहरूले नेपाली भाषाको घोर अपमान गरी अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने भनी गरिएको फैसला घोर निन्दनीय र अत्यन्त आपत्तिजनक देखिन्छ । नेपालको राष्ट्रभाषा, माध्यमभाषा र सरकारी कामकाजको भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गर्ने यस प्रकारको दुष्कार्य कुनै पनि नेपालीलाई सह्य नभएको कुरा जानकारी गराउँछु । यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याएर नेपाली अङ्ग्रेजी दुवै भाषामा राख्दा कसलाई के आपत्ति हुन्छ ?

अन्त्यमा,
सर्वोच्च अदालत राष्ट्रकै न्यायपालिकाको प्रमुख निकाय भएकाले यसप्रति सदा आस्था र सम्मान राख्नु एउटा नागरिकको दायित्व हो भन्ने कुरामा म सदैव सचेत छु तर न्यायालय र न्यायाधीश एउटै होइनन् भन्ने मेरो बुझाइ रहेको छ । न्यायाधीश भनेको व्यक्ति भएकाले एउटा व्यक्तिबाट गल्ती हुँदैन भन्नु सिङ्गो सृष्टिका विपरीत हुन्छ । सत्य तथ्यलाई ढाकछोप गर्दै गोलमटोल अभिव्यक्ति दिएर व्यक्ति न्यायधीशहरूले निहित स्वार्थवश गरेका यस्ता फैसलामा सहमति जनाउन एउटा सचेत नागरिकको विवेकले मलाई पटक्कै दिएन । तसर्थ यो फैसलालाई सच्याएर नेपाली र अङ्ग्रेजी दुवै भाषामा राख्ने व्यवस्था गरियोस् भन्ने आग्रह गर्दछु । यदि कसैले यसलाई बङ्ग्याएर सर्वोच्च अदालतको मानहानिका रूपमा व्याख्या गर्छ भने त्यसबापत सजाय भोग्न म मात्र होइन, राष्ट्र एवं भाषाप्रति आस्था राख्ने हरेक नेपाली तयार छन् भन्ने कुरा सम्माननीय प्रधानन्यायाधीशलाई जानकारी गराउँछु ।

मिति : २०७७–५–९

लीला लुइटेल
नेपाली भाषाप्रेमी सचेत नेपाली नागरिक
कीर्तिपुर, काठमाडौँ