अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई खुलापत्र

लीला लुइटेल २०७७ असोज २२ गते १०:३२ मा प्रकाशित

कुलपति महोदय,
एउटा अनलाइनमा आएको एउटा समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।

‘त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको बौद्धिक चोरी भनी विभिन्न सञ्चार माध्यममा नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गत प्रा=डा= लुइटेलद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइटेलले आफ्नो विद्यावारिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ -२०५८_ बाट हुबहु सारेको र यसबाट उनले ‘बौद्धिक चोरी’ गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको तथा यसै गरी लुइटेलद्वारा नै लिखित र प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ -२०६९_ नामक अनुसन्धान विधिको प्रयोग नगरी उनले लेखेको पुस्तकलाई प्रज्ञा–प्रतिष्ठानले छापेको भनेर प्रज्ञा–प्रतिष्ठानप्रति समेत प्रश्न उठाइएको पाइएकाले सो सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ । प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित उक्त छानबिन समितिमा प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहनुभएको छ ।’

यदि यो समाचार सत्य हो भने केही उल्लेख गर्नु आवश्यक ठान्छु ।
१. नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली साहित्यलाई माया गर्ने सम्पूर्ण नेपालीको आस्थाको केन्द्र हो । नेपाली साहित्यसम्बन्धी कुनै द्विविधा उत्पन्न भएमा यस प्रतिष्ठानबाट प्रकाशित कृतिलाई आधिकारिक मान्ने गरिन्छ । यस्ता कृतिमा पाइने तथ्यगत त्रुटि एवं कसरमसरलाई हटाउने प्रयत्न गरौँ भनेर म स्वयंले बारम्बार तपाइसँग अनुरोध गरेकै हुँ तर तपाईँले मेरो कुरा बेवास्ता गर्नुभएको सम्झना होला । यदि सम्झना छैन भने पूर्व उपकुलपति विष्णुविभु घिमिरे, पूर्व सदस्यसचिव जीवेन्द्रदेव गिरीकै सामु यी कुरा भएका हुन्, उहाँहरूसँग सोधेर यकिन गर्नुहोला ।

२. व्यक्तिको चरित्रहत्या गर्ने बदनियतले कहिल्यै कतै नाम नसुनिएको एउटा अनलाइनमा आएको सामग्रीप्रति तपाईँहरू प्रभावित भएर रातारात बैठक बसी रातारात नै समाचार सेयर गरेको देखियो । यसअगि नै राष्ट्रिय स्तरका कान्तिपुर, अन्नपूर्ण पोस्ट, नेपाल साप्ताहिकलगायतका अनेक लोकप्रिय छापामा आएका नाम उल्लेख गरिएका सामग्रीप्रति ध्यान नजानु र नामै नसुनिएको एउटा अनलाइनमा रातारात तपाइहरूको ध्यानाकर्षण हुनुले तपाइहरूको सूक्ष्म दृष्टिमा विकास भएकै हो त ? होइन भने व्यक्तिप्रतिको ईर्ष्याले जलेर खाक भई एउटा व्यक्तिको चरित्रहत्या गर्ने दुराशयले जनताको करबाट सञ्चालित सरकारी स्तरको प्रतिष्ठित संस्था दुरुपयोग गर्न मिल्छ कि मिल्दैन ?

३. कान्तिपुर, अन्नपूर्ण पोस्ट र नेपाल साप्ताहिकलगायत अन्य थुप्रै छापामा तपाईँको मातहतमा रहेका प्राज्ञहरूबाटै गरिएका बौद्धिक चोरीबारे सप्रमाण सार्वजनिक भएको तपाईँलाई विदितै होला । यदि थाहा नपाएकै हो भने नेपाल साप्ताहिक (२०७५ माघ ६) मा राजकुमार बानियाद्वारा लिखित ‘एकेडेमीमा रमिता छ’ शीर्षक लेखकको एउटा अंश यस्तो छ :

‘‘एकेडेमी भनेको थेसिस चोर, किताब चोर, कविता चोर, गाइड लेखकको जमघट रहेछ ।’ प्राज्ञ सभाका खेम कोइराला ‘बन्धु’ लाई मन्जनकै थेसिस चोरेको बात छ भने सुभद्रा भट्टराईलाई साझा प्रकाशनबाट छापिएको घुम्ने मेचमाथि अन्धो मान्छेमा संगृहीत कविता सारेर साझाकै गरिमामा छापेको । हेमनाथ पौडेल, देवी नेपाल, गीता त्रिपाठी, रजनी ढकाल पनि किताब चोरीमा मुछिएका छन् ।’’ नेपाल साप्ताहिकमा उल्लिखित यी नामबाहेक अन्य प्राज्ञ पनि चोरीमा संलग्न भएको कुरा तपाईँलाई जानकारी गराउँछु र आवश्यक भए सप्रमाण पुष्टि गर्न म तयार छु ।

यसै गरी लीला लुइटेलको कान्तिपुर, अन्नपूर्ण पोस्ट, समकालीन साहित्य, प्रहरी, मूलबाटोजस्ताराष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लोकप्रिय छापा एवं अनलाइनमा तपाईँका प्राज्ञहरूद्वारा गरिएका बौद्धिक चोरीसम्बन्धी सामग्री प्रकाशित भएको नदेख्ने तर कहिल्यै नाम नसुनेको एउटा सामान्य अनलाइनमा चरित्रहत्या गर्ने दुराशयबाट अहिले आएको बेनामे सामग्रीचाहिँ तत्कालै देख्नुको रहस्य के हो ? तपाईँले पहिलेका सामग्री यदि नदेखेकै हो भने म उपलब्ध गराइदिनेछु र तपाईँले आवश्यक ठान्नुभयो भने सप्रमाण पुष्टि गर्न सहयोग गर्ने विश्वास दिलाउँछु ।

यसरी राष्ट्रिय स्तरका अनेकौँ लोकप्रिय छापामा सार्वजनिक भएका तथ्यलाई बेवास्ता गरेर तपाईँले पन्छिन मिल्दैन किनकि कुनै संस्थाको सदस्यद्वारा अनैतिक कार्य भएमा त्यसको नैतिक जिम्मेवारी सम्बद्ध नेतृत्वकर्ताले लिनुपर्ने विश्वव्यापी प्रचलन हो भन्ने कुरा लामो समयदेखि प्रज्ञा प्रतिष्ठानमै बिताएको तपाईँजस्तो अनुभवी व्यक्तिलाई विदितै हुनुपर्ने हो । यदि प्रज्ञा प्रतिष्ठानको स्वच्छ छवि कायम राख्ने तपाईँको अभीष्ट हो भने सर्वप्रथम चोरीमा मुछिएका सदस्यका बारेमा उनीहरूसँग स्पष्टीकरण लिई छानबिनसहित तपाईँको धारणा सार्वजनिक गर्नुहोस् ।

४. म लीला लुइटेलद्वारा तयार पारिएको अनुसन्धानात्मक कृतिको पाण्डुलिपिका सम्पूर्ण सामग्री दुरुपयोग गर्दै तपाईँकै कार्यकालको परियोजना पुस्तकाकार कृतिका रूपमा ज्ञानु पाण्डेका नाममा प्रकाशन भएको तपाईँलाई थाहै होला । यस्ता सामग्रीले प्रज्ञा प्रतिष्ठानको छविमा के कस्तो असर पार्छ ? यदि प्रज्ञा प्रतिष्ठानको स्वच्छ छवि कायम राख्ने तपाईँको अभीष्ट हो भने सर्वप्रथम उक्त कृति खारेज गरी सम्बन्धित लेखकलगायत चोरी गर्ने अर्का अभियुक्त प्राज्ञसभा सदस्य लक्ष्मी उप्रेतीलाई समेत कारबाही गरेको जानकारी सार्वजनिक गर्नुहोस् । यसबारे राष्ट्रिय स्तरको अत्यन्त लोकप्रिय छापा अन्नपूर्ण पोस्टमा आएको यो सामग्री तपाईँ र आम पाठकलाई जानकारीको लागि यहाँ प्रस्तुत गरिएको छ :

५. प्रज्ञा प्रतिष्ठानकै प्रकाशनमा भएका अनेक लज्जास्पद सामग्री हटाएर आधिकारिक इतिहास तयार पार्नुहोस् । तपाईँकै मातहतमा रहेका प्राज्ञले गरेका भाँडभैलाहरू राष्ट्रिय स्तरका लोकप्रिय छापामा पटक पटक सार्वजनिक हुँदा पनि त्यसलाई सच्याउनसमेत नसकी सीमित पारिश्रमिकको प्रलोभनमा बारम्बार प्रतिष्ठानकै प्रकाशनमा जस्ताको तस्तै पुनः प्रकाशन गर्ने कार्यलाई दुरुत्साहन गर्ने हो भने सम्बन्धित प्राज्ञलाई कारबाही गरेर देखाउनुहोस् । यसका लागि प्रमाणको आवश्यकता भए म उपलब्ध गराउन तयार छु ।

६. ‘शोधपत्र नभनी पुस्तक भनेर छाप्यो भने बढुवाका लागि काम दिन्छ’ भन्ने स्वजनले दिएको सल्लाहलाई बेवास्ता गर्दै शोधपत्रलाई बकाइदा शोधपत्र नै भनेर प्रकाशन गर्ने व्यक्ति हुन् लीला लुइटेल र खगेन्द्रप्रसाद लुइटेल, अरू मेरो जानकारीमा छैन । ‘सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ । प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित उक्त छानबिन समितिमा प्राज्ञ परिषद् सदस्यद्वय प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. गोपीन्द्र पौडेल सदस्य रहेको’ भन्ने जानकारी पाइयो । कुनै पनि छानबिन समितिमा राखिने सदस्यको छवि पनि स्वच्छ हुनुपर्ने विश्वव्यापी मान्यता तपाईँलाई विदितै होला । तसर्थ सर्वप्रथम छानबिन समितिमा रहेका सदस्यहरूले विद्यावारिधिको शोध प्रबन्धलाई शोधप्रबन्ध नभनी प्रत्येक परिच्छेदलाई बेग्लै अनुसन्धानात्मक कृतिको रूपमा प्रकाशन नगरेको भनेर प्रमाणित गराउनुहोस् र ‘हामीले शोध प्रबन्धलाई स्वतन्त्र अनुसन्धानका नाम दिई पुस्तकाकार कृतिका रूपमा प्रकाशन गरेका छैनौँ’ भन्ने प्रतिबद्धता निजहरूबाट सार्वजनिक गर्न लगाउनुहोस् । अन्यथा यस्तो कथित छानबिन समितिको हवाला दिएर व्यक्तिको चरित्रहत्या गर्ने दुराग्रहीपूर्ण नाटक मञ्चन गर्ने कार्य बन्द गर्नुहोस् ।

७. अहिले खगेन्द्र लुइटेलको निकटमा रहेका केही व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानद्वारा सञ्चालित परियोजनामा सामेल गराउने प्रलोभन दिएर उनका विरुद्ध दुरुपयोग गरिएको पुष्टि भइसकेको छ तर लीला लुइटेल विना प्रमाण नबोल्ने हुनाले प्रज्ञा प्रतिष्ठान र निजहरूका बिच परियोजनाबारे औपचारिक सम्झौता भएपछि मात्र सप्रमाण सार्वजनिक रूपमा पुष्टि गर्नेछु ।

प्रज्ञा प्रतिष्ठान सम्पूर्ण साहित्यप्रेमी नेपालीको आस्थाको केन्द्र हो, कसैको व्यक्तिगत सम्पत्ति होइन । साहित्यको उन्नयनका लागि स्थापित एउटा पवित्र संस्थालाई सीमित व्यक्तिहरूको उक्साहटमा लागेर यसरी दुरुपयोग गर्नु कत्तिको जायज हुन्छ ? यदि यसलाई व्यक्तिका विरुद्ध गरिएको दुरुपयोग होइन भनेर भन्नुहुन्छ भने राष्ट्रिय स्तरका छापामा आएका उल्लिखित बुँदाहरूलाई सम्बोधन गरेर तुरुन्त कार्यान्वयन गर्नुहोस् र त्यहाँबाट प्रकाशित सबै कृतिको छानबिन गर्नुहोस्, यसका लागि सबैभन्दा बढी सहयोग मेरै रहनेछ । यदि यी बुँदालाई सम्बोधन गर्नु भएन भने राष्ट्रको एउटा सम्मानित संस्था एक जना व्यक्तिको चरित्रहत्यामा खुलेर लागेको स्पष्ट हुन्छ । प्रज्ञा प्रतिष्ठानको स्वच्छ छवि कायम राख्ने तपाईँको प्रयास हो भने एउटा सचेत एवं गम्भीर पाठक तथा नेपाली साहित्यलाई अत्यन्त माया गर्ने व्यक्तिका नाताले तपाईँलाई सबैभन्दा बढी सहयोग र समर्थन मबाट प्राप्त हुने कुरा विश्वास दिलाउँछु । अन्यथा कसैको चरित्रहत्या गर्ने बदनियत राखी यस पवित्र संस्थाको दुरुपयोग कसैले पनि नगरोस् ।

यी सबै कुरालाई सम्बोधन गरेर तत्काल तपाईँका तर्फबाट प्रज्ञा प्रतिष्ठानको आधिकारिक धारणा नेपाली जनतासामु सार्वजनिक गर्नुहोस् ।

-क्रमशः)