अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

अविश्वसनीय अनुराधा

लीला लुइटेल २०७७ भदौ १ गते १०:१२ मा प्रकाशित

विजय मल्लले ‘गोठाले’ द्वारा प्रवर्तन गरिएको मनोविश्लेषणात्मक प्रवृत्तिलाई अनुसरण गरी नेपाली उपन्यासको मनोविश्लेषणात्मक धारालाई निरन्तरता दिएका छन् । क्षीण कथानकमा सीमित घटनाको प्रस्तुति पाइने यिनको अनुराधा उपन्यासमा जीवनलाई निस्सार र निरर्थक ठानी नारीप्रति पुरै बिरक्तिएको कोमलमान अनुराधाको रूप सौन्दर्यबाट मोहित हुन पुगेको र नारीप्रति रहेको उसको वितृष्णा परिवर्तन भएको छ । अनुराधालाई पत्तै नदिई षड्यन्त्रपूर्ण ढङ्गले बिहे गराउने कार्य गरिएको यस उपन्यासमा उसले विवाह मण्डपमै वरमाला छिनाएर विद्रोह गरेकी छे । लोग्ने रत्नमानसँग बदला लिन देवर समुद्रमानसँग लहसिएको अभिनय गर्दागर्दै मानसिक सन्तुलन गुमाएर विक्षिप्त हुन पुगेकी अनुराधाका यी सब क्रियाकलाप लोग्नसँग बदला लिने अभीष्टका साथ अचेतनमा रहेको यौनेच्छाको परितृप्तिको लागि गरिएका हुन् भनेर व्याख्या गर्ने प्रचलन रहेको छ । सिर्जनात्मक दृष्टिले अतिवादको पराकाष्ठा देखिने अनुराधा उपन्यास अनुराधा उपन्यास समालोचनात्मक दृष्टिले पनि अतिवादको चेपमा परेको छ । अनुराधा उपन्यासको सिर्जनात्मक पक्षमा देखिएको अतिवादलाई देखाउनु यस लेखको अभीष्ट रहेको छ ।

समग्रमा भन्दा अनुराधा उपन्यास सिर्जनाको मूल अभीष्ट सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित वैचारिकताको प्रयोग हो । फ्रायडले आफ्नो भौतिक एवं मानसिक परिवेशअनुरूप प्रतिपादन गरेका कतिपय सैद्धान्तिक मान्यताहरू हाम्रो सन्दर्भमा अस्वाभाविक देखिन्छन् । अर्कोतर्फ पश्चिमी सामाजिक एवं मनोवैज्ञानिक परिवेशमै पनि उनका ‘शिश्न ईर्ष्या’ (Penis envy), ‘पितृ रति ग्रन्थि’ (Oedipal Complex), ‘मातृरति ग्रन्थि’ (Electra complex) जस्ता कतिपय सैद्धान्तिक मान्यताहरू मानवीय एवं व्यावहारिक दृष्टिले मात्र नभई मनोविज्ञानकै दृष्टिले पनि त्रुटिपूर्ण, भ्रमपूर्ण मात्र नभई आपत्तिजनक पनि देखिन्छन्, त्यसका लागि बहस गर्ने ठाउँ प्रशस्त रहेको छ । यति हुँदाहुँदै पनि फ्रायडीय वैचारिकताको प्रयोगशाला बनाइएको यो उपन्यास मनोविश्लेषणकै दृष्टिले पनि धेरै ठाउँमा नराम्रोसँग चिप्लिएको छ ।

कुनै पनि कृतिको सफलता एवं विश्वसनीयताका लागि परिवेशले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । कृतिमा चित्रित समय, स्थान र वातावरण बुझाउने परिवेशगत सन्दर्भहरू विश्वसनीय भए मात्र कृति यथार्थ र विश्वसनीय हुन्छ । मनोविज्ञानको प्रस्तुति गर्ने मोहले कथानक, चरित्रचित्रण, परिवेश आदि पक्ष ओझेलमा पारिएकाले अनुराधा उपन्यास निकै शुष्क हुनाका साथै यसको औपन्यासिकता पनि पुरै खस्किएको छ ।

पहिलो कुरा अनुराधाको विवाह प्रसङ्गलाई नै लिऊँ—अनुराधाको बिहेको योजना बनाउँदा उसका बा र ठूल्दाइ ह्लासामा थिए, घरमा थिएनन् । त्रिदेशीय व्यापार भएको तथा समाजमा प्रतिष्ठित लोग्ने तथा उसको प्रतिनिधि एवं उत्तराधिकारीका रूपमा रहेको जेठो छोरोसमेत घरमा नभएका बेला बाबुकी सबैभन्दा प्रिय छोरीको बिहेका लागि मनोमानी पूर्ण ढङ्गले एक्लै निर्णय गर्न सक्ने स्थिति नेपाली महिलाको पटक्कै हुँदैन । अझ व्यावहारिक यथार्थलाई हेर्ने हो भने हुनेखाने कतिपय नेपाली परिवारमा आफ्नो प्रतिष्ठाको हवाला दिएर छोरीको बिहे निर्णय गर्दा बाबु केही हदसम्म कठोर हुन्छन् तर आमा कहिल्यै कुनै हालतमा पनि यति बिघ्न कठोर हुनै सक्दैनन् । यसरी हेर्दा अनुराधाको आमाको व्यवहार सिङ्गो सृष्टि तथा मानवीय संवेदनाका विपरीत देखिन्छ ।

‘तार खोलेर हेरेँ, आमा सिकिस्त बिरामी हुनुहुँदो रहेछ, … म त्यहीँ दिन रातको ट्रेनबाट नेपाल फर्केँ … बा र ठूल्दाइ ह्लासामा हुनुहुन्थ्यो म त्यसैले हाम फालेर काठमाडौँ आएकी थिएँ, बिरामी आमालाई हेर्न’ (७८) । बजार घुमी सिनेमा हेरी मस्तीको मुडमा कोठामा आइपुग्दा आमा बिरामी भएको खबर पाउनासाथ विना सोचविचार रातको ट्रेनबाट एक्लै नेपालसम्मको यात्रा तय गर्न सक्ने एउटी चलाख युवतीले आफ्नो घरमा हुन लागेको विवाहको त्यत्रो चहलपहल पनि पत्तो नपाउनु अत्यन्त अस्वाभाविक देखिन्छ, किनकि यो बिहे सामान्य ढङ्गको पक्कै थिएन । यो बिहे त्रिदेशीय व्यापार भएको एउटा हुनेखाने परिवारकी विदेशमा पढ्न बसेकी एउटी प्यारी छोरी र डाइरेक्टरसम्म भएर समाजमा प्रतिष्ठित व्यक्तिका बिचमा हुँदै थियो ।

आफ्नो बिहेबारे घरमा खासखुस कुरा चलाइएको बारेमा निरक्षर सोझी नेपाली किशोरीले त पत्तो पाउँछे भने एउटी शिक्षित एवं स्मार्ट युवतीले आफ्नै बिहेको लागि घरमा गरिएको त्यत्रो भव्य तयारी थाहा नपाउनु नै अत्यन्त अस्वाभाविक देखिन्छ । अझ त्यत्रो तामझामका साथ गरिएको स्वयंवरकै घडीमा पुगेर हातमा वरमाला लिइसक्दासमेत पत्तो नपाएको देखाउनुले यो उपन्यास यथार्थको धरातलबाट नराम्रैसँग चिप्लिएको स्पष्टै देखिन्छ ।

नेवारी संस्कारमा स्वयंवर गर्नुअगि पनि थुप्रै विधि विधान हुन्छन् । ‘मेरो र उसको बिहे भएको असन्दिग्ध हो भन्ने कुरालाई साबित गर्न मेरो घरबाट विवाहमा गर्नुपर्ने रीतिथिति पूरा गरेका रहेछन् र रत्नमानसिंहकहाँबाट पनि’ (९३) भन्ने अनुराधाको भनाइले बिहेअगिका विधि विधान पूरा गरिएको भनिएको छ । यीमध्ये दुलाहाका तर्पmबाट ल्याइएको सुपारी दुलहीका हातले नै विधिविधानपूर्वक ग्रहण गर्नुपर्छ तर त्यति बेलासमेत अनुराधाले थाहा नपाएको देखाउनुले व्यावहारिक यथार्थकै धज्जी उडाएको छ । अर्कोतर्फ त्यस बेलाको कट्टर पितृसत्तात्मक समाजमा हुनेखाने परिवारको, डाइरेक्टरसम्म भई प्रतिष्ठा हासिल गरेको व्यक्तिको विवाहमा गरिने विधि विधानमा कन्याको अनुपस्थितिलाई अनुराधाका छिमेकी, इष्टमित्रलगायत रत्नमानको परिवारले सहज रूपमा लिनु पनि अविश्वसनीय नै देखिन्छ । अझ नेवारी संस्कारमा त बिहेअगि गरिने कतिपय क्रियाकलाप पनि साइत हेरेर विधि विधानअनुरूप नै गर्नु अनिवार्य भएको मेरो पुस्तासम्मले देखे भोगेकै हुनुपर्छ, अझ यो त मेरो पुस्ता जन्मनुभन्दा पनि अगि प्रकाशन भएको उपन्यास हो ।

गुह्येश्वरीमा गरिन लागेको स्वयंवरकै बेलामा पनि कन्याका हातबाट गरिनुपर्ने सामान्य विधि विधान पनि गरिएको देखिँदैन, ‘पूजाका प्रबन्धहरू हुँदै थिए, म एक्लै गुह्येश्वरीमा जङ्गलमा घुम्न निस्किएँ’ (८१) भन्ने अनुराधाको भनाइले स्वयंवरकै बेला गरिनुपर्ने विधि विधान उसकै अनुपस्थितिमा गरिएको देखिन्छ । स्वयंवरअगि गरिने विधि विधानका लागि पूजा स्थलमा पुरोहितले दुलहीको खोजी नगर्नु, त्यहाँ अनुराधा संलग्न नहुनुलाई पनि उपस्थित निम्तारुहरूले स्वाभाविक रूपमा लिन सक्ने स्थिति नेपाली समाजका लागि यथार्थ होइन । अझ बिहेका निम्ता मान्न आउने आफन्त तथा केटाकेटीहरू दुलहीको वरिपरि नै झुम्मिएर बस्न खोज्नु, ख्यालठट्टा गर्नु नेपाली सामाजिक यथार्थ हो । त्यसमा पनि हुनेखाने प्रतिष्ठित परिवारकी, विदेशमा पढेकी, बिहेका लागि भर्खरै बाहिरबाट बोलाइएकी स्मार्ट अनुराधाको बिहेप्रति सबैको उत्सुकता रहनु स्वाभाविकै हो, तर त्यहाँ निम्तारु कसैले पनि यसतर्फm ध्यान नदिनु पनि अस्वाभाविक नै देखिन्छ । किनकि यो बिहेमा केही सीमित व्यक्ति मात्र नभएर अनुराधाका ‘अधिकांश कुटुम्बहरू र इष्टमित्रहरूसमेत आमन्त्रित गरिएको रहेछ । सबजना ठाँटिएर आएका थिए’ (८०) ।

‘मलाई खोज्दै मेरा भाइहरू र अरू मानिसहरू आएका रहेछन् । म भागिछु भन्ने तिनीहरूलाई त्यस बेला लागेको थियो होला । म त्यस बखत उपेक्षा भावले उठेर सोधेँ, पूजा सिद्धियो ? र बिस्तारै उनीहरूका साथसाथै गुह्येश्वरीको मन्दिरतिर आएँ । अगाडिको सत्तलमा खाने पिउने सब कुराको बन्दोबस्त भएको थियो, त्यसैमा सरासर पसेँ’ (८१) । यसरी पूजा समाप्त भइसक्दा पनि आफन्त, पुरोहित तथा दुलाहा पक्षबाट समेत अनुराधाको खोजी नहुनुले पनि यस उपन्यासमा यथार्थको हत्या भएको देखिन्छ ।

अनुराधाको हातमा एकै पटक स्वयंवरको माला थमाइएको छ । स्वयंवर गर्ने बेलामा अनुराधाकी आमा, केही प्रौढा आइमाईहरू र तीन जना पुरुष मात्र कोठामा पसेको देखाइएको छ । ….पृ स्वयंवर हेर्ने उत्सुकता निम्तारु सबैलाई हुन्छ । त्यस बेला त्यहाँ निम्तारु अन्य युवती, केटाकेटी तथा जन्ती पक्षका अन्य व्यक्ति उपस्थित नहुनुलाई कुनै दृष्टिले पनि स्वाभाविक मान्न सकिँदैन ।

आमा बिरामी भएको खबर पाउनासाथ आफ्नो सुरक्षाको समेत बेवास्ता गर्दै कतै केही विचार नगरी आमाकै लागि मरिमेटेर रातको ट्रेनबाट एक्लै आउने एउटी युवतीले घरमा भएको त्यत्रो चहलपहलमा उत्सुकता नदेखाउनु र अझ पत्तै नपाउनु पनि अस्वाभाविक नै देखिन्छ । आमा र परिवारप्रति ऊ यति उदासीन एवं लापरवाह थिई भने आमा बिरामी भएको सुन्ने बित्तिकै विना सोचविचार तुरुन्तै नेपाल आउने निर्णय नै गर्ने थिइन ।

घटनावलीको विकास हुँदै जाँदा अनुराधाले बिहेमा देखाएको विद्रोहका कारणबारे आमा र दिदीहरूले एक पटक पनि अनुराधासँग नसोध्नु, उसलाई फकाउने प्रयास पनि नगर्नु, इज्जत र आमाको मायाको हवाला दिएर इमोस्नल ब्ल्याकमेल गरेर उसलाई बिहे स्वीकार गर्नाका लागि सम्झाउनुको साटो उल्टै उसैलाई धम्कीपूर्ण व्यवहार गर्नु पनि मानवीय दृष्टिले समेत कतैबाट पनि विश्वास गर्ने आधार भेटिँदैन । एउटी आमा आफ्नो मुटुको टुक्राप्रति यति विघ्न त्रूmर कुनै हालतमा पनि हुनै सक्तिन । अझ कतिपय अवस्थामा सन्ताले आमाका विरुद्ध जघन्य एवं अक्षम्य अपराध गर्दा पनि आमाको हृदयले तुरुन्तै सन्तानलाई क्षमा गर्नु शाश्वत प्रवृत्ति हो तर आमाप्रति अनुरक्त अनुराधाको त्यस्तो हालत हुँदासम्म पनि ऊप्रति आमाले सहानुभूतिसमेत नदेखाई त्रूmर एवं अमानवीय व्यवहार देखाउनुले पनि यो उपन्यास सिङ्गो मानवीय संवेदना एवं व्यवहारका दृष्टिले पनि दुर्घटित देखिन्छ, अझ भनौँ सिङ्गो सृष्टिलाई कलङ्कित बनाएको छ । अर्कोतर्फm विदेशमा पढेलेखेकी विद्रोही स्वभावकी अनुराधाले आफ्नो जबरजस्ती बिहे गराउन खोजेको सन्दर्भलाई लिएर आफ्नी आमासँग एउटा पनि प्रश्न नगर्नुलाई पनि स्वाभाविक मान्न सकिन्न ।

प्रस्तुत उपन्यासको अर्को पात्र रत्नमानका विभिन्न क्रियाकलाप र अन्य कतिपय सहभागीका बानी व्यवहार पनि अस्वाभाविक र अपत्यारिला खालकै छन् । डाइरेक्टरसम्म भएको तत्कालीन नेपाली पुरुषले विवाह मण्डपमा भएको त्यत्रो अपमान तथा बिहे भोजमा भएको अनुराधाको अनुपस्थितिबाट उत्पन्न घोर बेइज्जतीलाई सहेर पनि अनुराधातिर त्यति विघ्न अनुरक्त हुनु पनि पुरुषोचित अहंका दृष्टिले कुनै हालतमा पनि स्वाभाविक देखिँदैन । आफ्नो घर आएकी विवाहिता पत्नीसँग आफ्नो कोठाभित्र जबरजस्ती पाशविक व्यवहार गर्दा पनि व्यक्तिगत, पारिवारिक, सांस्कारिक एवं सामाजिक दृष्टिले उसको दोष कुनै हालतमा पनि देखिने थिएन, उसको हककै रूपमा व्याख्या गरिन्थ्यो । अनुराधाको शरीरमाथि उसको कथित अधिकार समाजमा औपचारिक ढङ्गबाट स्थापित भइसकेकै थियो । हरेक सन्दर्भबाट परिस्थिति आफ्नो अनुकूल हुँदाहुँदै अनुराधाको मन जित्नाका लागि उसले देखाएको अत्यन्त सद्भावपूर्ण व्यवहारलाई बाह्य एवं मनोवैज्ञानिक कुनै पनि दृष्टिले पुष्टि गर्न सकिँदैन ।

अझ अनेक ताडना दिई आफ्नो कुलकै बेइज्जत गरिदिँदा पनि अनुराधाप्रति रत्नमान अनुरक्त रहेको पुष्टि उपन्यासको यो अंशले गर्छ: ‘रत्नमानसिंहले मलाई बौह्लाउदा खेरि पनि मिल्काएको रहेनछ । मलाई हिन्दुस्थानमा औषधि गराउन लगेको रहेछ ।’

आफ्नो व्यक्तिगत एवं सामाजिक प्रतिष्ठामा आँच पु¥याउने, आफ्नो घर भाँडिदिने तथा आफ्नो ज्यानमै दागा धर्ने एउटी दुष्ट केटीलाई एउटा पुरुषले यसरी सद्भाव देखाएको छर्लङ्ग हुँदाहुँदै रत्मानलाई खलनायकका रूपमा चित्रण गर्ने जबरजस्ती प्रयास पनि अतिवादी विश्लेषणको पराकाष्ठा नै हो । संवेदनशील घडीमा सार्वजनिक रूपमा अपमान एवं बेइज्जत गरेर सामाजिक रूपमा निन्दनीय क्रियाकलाप गरेकी अनुराधालाई उसले तुरुन्तै सम्मानपूर्वक सहानुभूति देखाउनु मानवीय संवेदनाभन्दा निकै टाढाको कुरा हो । यसै गरी लोग्नेलाई मार्न भनी उसको घरमा पुगेकी अनुराधा र रत्नमानको भाइ समुद्रमानमा विकसित हुँदै गएको सम्बन्ध पनि अत्यन्त अपत्यारिलो एवं अस्वाभाविक नै देखिन्छ ।

सामाजिक रूपमा अत्यन्त प्रतिष्ठित आफ्नो अभिभावक दाजुको जीवनकै महत्त्वपूर्ण एवं संवेदनशील घडीमा सार्वजनिक रूपमा अपमान एवं बेइज्जत गरेर सामाजिक रूपमा निन्दनीय क्रियाकलाप गरेकी अनुराधालाई उसले तुरुन्तै सम्मानपूर्वक सहानुभूति देखाउनु मानवीय संवेदनाभन्दा निकै टाढाको कुरा हो । घरभित्र प्रवेश गरेपछि अनुराधाले रत्नमानको परिवारबाट पाएको सद्भावपूर्ण व्यवहार सामूहिक मनोवैज्ञानिक दृष्टिले पनि स्वाभाविक देखिँदैन । सामाजिक एवं आर्थिक दृष्टिले प्रतिष्ठित परिवारले सार्वजनिक रूपमा भोग्नुपरेको अकल्पनीय दुर्व्यवहार, अपमान एवं घोर बेइज्जतलाई तुरुन्तै बिर्सन कुनै हालतमा पनि सकिँदैन । अझ रत्नमानका आमा, काकीलगायत पूरा परिवारले नै अनुराधाप्रति स्वाभाविक आक्रोशसम्म व्यक्त नगरी घरभित्र पस्ने बित्तिकै उसलाई सद्भाव एवं सम्मान देखाइएको छ, जुन मनोविश्लेषणको कुनै सिद्धान्तले कतैबाट पनि पुष्टि गर्न सक्तैन । यसरी मनोविज्ञानको प्रयोगशाला बनाउने धुनमा निर्लिप्त हुँदाहुँदै मनोवैज्ञानिक यथार्थबाटै यो उपन्यास नराम्रैसँग चिप्लिएको छ ।

व्यक्ति मनोविज्ञानलाई अमूर्त मानेर व्याख्या गर्न नसक्ने भनी कसैले विश्लेषण गरे पनि सामाजिक मनोविज्ञान त अधिकांश स्थितिमा मूर्त खालको हुन्छ । प्रस्तुत उपन्यासमा चित्रित सामाजिक मनोविज्ञान पनि यथार्थबाट चिप्लिएको तथा त्रुटिपूर्ण नै देखिन्छ ।

‘मैले माला चुँडालेर फालेकी भनी खालि हल्लाखल्ला मच्चाइएको मेरो र रत्नमानसिंहको बदनामी गर्न केही व्यक्तिहरूले खोजेका मात्र हुन् । वास्तवमा मैले माला चुँडालेर फालिनँ, थाकेकी हुनाले माला लगाइदिँदा म उसको गलामा अँगाल्न पुगेछु रे… म चाँडै नै घर फर्केँ भनेको फगत मन गढन्त कुरा थियो । बरु दुवै जना एउटै मोटरमा पहिलो दिन नै साथसाथै फर्केका थिए रे । … यसरी जताततै व्यापक प्रचार गरी मेरो र उसको विवाह विधिवत् भएको हो भन्ने साबित गर्न धेरै किसिमको षड्यन्त्र गरिएको रहेछ । मेरी आमा र दिदीहरूले यसमा अत्यन्त उत्साहपूर्व क्रियाशीलता देखाएका रहेछन् र अधिकांशलाई आफ्नो पक्षमा लिएर ठाउँ ठाउँमा प्रचार गर्न लगाएका रहेछन् (९३) ।

कुनै व्यक्तिलाई कसैले केही लोभ देखाएर आफ्नो हात लिन खोजे पनि परिस्थिति उसले सोचे अनुकूल कहिल्यै पनि हुँदैन । यस्ता व्यक्तिले अगाडि लोलो पोतो पारे पनि त्यहाँबाट हिँडेपछि तिललाई पहाड बनाएर दुष्प्रचार गर्नु सामाजिक चरित्र एवं मनोविज्ञान हो । सिङ्गो समाजलाई आफ्नो अनुकूल सञ्चालन गर्ने चाहना राख्नु दिवास्वप्न मात्र हुन्छ । नजिकका आफन्त केही व्यक्तिले लोभमा परेर अनुराधाकी आमाले भनेअनुरूप गरेको मानिदिँदा पनि त्यहाँ उपस्थित सम्पूर्ण नातागोता, निम्तालु जति सबैले आमाकै निर्देशनमा बाँधिएर उसले चाहेअनुसार नै हल्ला फिँजाइदिनु समाज मनोविज्ञानका दृष्टिले कुनै हालतमा पनि सम्भव हुँदैन । अर्कोतर्फ त्यहाँ रत्नमानतर्फ्का जन्ती पनि थिए, उनीहरूबाट पनि त्यस्तो अपेक्षा हुनु सामाजिक यथार्थ एवं मनोवैज्ञानिक दृष्टिले समेत अत्यन्त अव्यवहारिक कोरा कल्पना मात्र हो ।

विजय मल्लको अर्को उपन्यास कुमारी शोभामा द्योमैजुका रूपमा रहेकी युवतीको मनोविश्लेषण सामाजिक–सांस्कृतिक सन्दर्भबाट गरिएको छ । मनोविश्लेषणात्मक ढङ्गले सामाजिक विकृतिका रूपमा रहेका अन्धविश्वासको विरोध गर्दै मानवीय संवेगात्मक असन्तुलनका कारण उत्पन्न अन्तर्द्वन्द्व उसका जीवनमा पार्नसक्ने दुष्प्रभाव र त्यसको निराकरणको उपाय पनि मनोविज्ञानकै सन्दर्भबाट खोज्ने प्रयत्न गरिएको कुमारी शोभामा गरिएको छ । मान्छेका यौनजन्य कुण्ठाको जीवन्त प्रस्तुति पाइने कुमारी शोभा उपन्यासमा असामान्य, उत्साहहीन र उदास नारी सहभागीका माध्यमबाट अतृप्त यौनेच्छा र सामाजिकताका बिचमा सघन द्वन्द्व पाइन्छ । परम्परागत रूढिवाद र आधुनिक चेतनाका बिचमा द्वन्द्व प्रस्तुत गर्दै समाज क्रमशः अगि बढेको देखाउन खोजिए पनि जरो गाडेर बसेको रूढिलाई सजिलै हटाउन नसकिने भाव यस उपन्यासमा अभिव्यञ्जित छ । अन्धविश्वासप्रति आस्था र अनास्थाका बिच द्वन्द्व पाइने यस उपन्यासमा अन्धविश्वासकै कारण मानव जीवन विकृत हुन पुगेको सन्दर्भलाई देखाइएको छ ।

अनुराधा विशुद्ध मनोविश्लेषणात्मक उपन्यास हो र मनोविश्लेषणका सिद्धान्तलाई प्रयोग गर्ने ध्याउन्नमा यो उपन्यास नैतिक मूल्य एवं स्वाभाविकताका दृष्टिबाट दुर्घटित पनि हुन पुगेको स्पष्टै देखिन्छ । मनोविश्लेषण नै मूल उद्देश्य भए पनि कुमारी शोभामा चाहिँ विशेष सावधानीका साथ स्वाभाविकतामा आँच आउन नदिई मनोवैज्ञानिक एवं नैतिक मूल्यहरूलाई स्थापना गरिएको छ । यस उपन्यासले जीवित देवी मानिने द्योमैजुको मन ग्रन्थि केलाउँदै नेवारी संस्कृतिको विस्तृत सेरोफेरो चाहारेको छ । मनोविश्लेषणलाई साध्य बनाउने क्रममा वस्तुको आवश्यकता र प्रसङ्गअनुसार साधनका रूपमा संस्कृतिको प्रस्तुति भएको यो उपन्यास मनोविज्ञान र संस्कृतिको उत्कृष्ट सङ्गम बन्न पुगेको छ । समग्रमा भन्नुपर्दा मनोविश्लेषणका साथै सांस्कृतिक प्रयोगका दृष्टिबाट कुमारी शोभा उपन्यास अत्यन्त स्वाभाविक एवं सबल देखा परेको छ ।

मनोविज्ञानको सैद्धान्तिक पक्षमा केन्द्रित रहेकाले अविश्वसनीय घटना प्रस्तुतिका कारण औपन्यासिकता शिथिल भई अनुराधा फितलो बन्न पुगेको छ । सामाजिक सांस्कृतिक सन्दर्भका साथ यौनजन्य मनोविश्लेषण गरिएको कुमारी शोभा उपन्यास निकै विश्वसनीय देखापर्छ । दुवैमा असामान्य मनोदशा भएका सहभागीको प्रयोग पाइए पनि मानवीय इच्छामाथि दमन गर्दा अनुराधा विद्रोही बन्न पुगेकी छ भने सामाजिक–सांस्कृतिक सन्दर्भले शोभा विद्रोही बन्नसकेकी छैन । दुवै उपन्यास पढ्दा अनुराधाका क्रियाकलाप जति कृत्रिम र अविश्वसनीय छन् शोभाका क्रियाकलाप त्यति नै सहज र विश्वसनीय छन् । दुवै उपन्यासको उद्देश्य मनोविश्लेषण नै भए पनि अनुराधाका तुलनामा कुमारी शोभा विशिष्ट छ ।

अनुराधाको आलोचना र कुमारी शोभाको प्रशंसा गर्नु यस लेखको अभीष्ट नभई नेपाली समालोचनामा देखा परेको हुइयाका भरमा विना अध्ययन लेखिने स्थितिलाई देखाउनु हो । अस्वाभाविक धरातलमा टेकेको शुष्क एवं फितलो उपन्यास अनुराधाको अत्यधिक प्रशंसा गर्ने समालोचकहरूका दृष्टिमा यसभन्दा निकै स्तरीय एवं परिपक्व उपन्यास कुमारी शोभा परेको पाइँदैन । यस सन्दर्भबाट हेर्दा समालोचकहरूले कृति गम्भीरतापूर्वक पढेर आफ्नो विवेक प्रयोग गर्नाको साटो हुइयाको पछि लागेर कपी–पेस्ट गर्नु नै सहज मानेको स्थिति छर्लङ्गै देखिन्छ । अझ मनोविश्लेषणको यति व्यापक र सुन्दर प्रयोग भएको अर्को नेपाली उपन्यास छैन’ भन्ने भनाइ अतिशयोक्तिपूर्ण मात्र नभएर त्रुटिपूर्णसमेत देखिन्छ र यसको मूल कारण कुमारी शोभा गम्भीर ढङ्गले नपढ्नु नै हो ।

निष्कर्षमा भन्दा कसैलाई कुनै बेला परेको प्रभावका कारण कुनै सर्जकलाई भिराइदिएको ट्यागलाई विना अध्ययन हुइयाकै भरमा अरूले पछ्याउँदै जाने नेपाली समालोचनामा देखा परेको चरमवादले अनुराधा ग्रसित हुन पुगेको छ भने कुमारी शोभाचाहिँ अन्यायमा परेको छ । यस प्रकारको निरर्थक अभिव्यक्तिले वस्तुगत मूल्याङ्कन हुनाको साटो सर्जक अन्यायमा पर्न सक्छ अनि साहित्यको इतिहास नै गलत हुनपुग्छ भन्नेतर्फ सम्बद्ध सबै सचेष्ट रहनुपर्छ ।

(मधुपर्कबाट साभार)