अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

विगतको बाडुली लाग्दा

लीला लुइटेल २०७७ असोज २६ गते १८:५८ मा प्रकाशित

कतिपयले संस्मरण एवं आत्मकथा शब्दलाई पर्यायवाचीकै रूपमा प्रयोग गरेको पाइए पनि यी दुईमा सूक्ष्म भिन्नता रहेको छ । तेस्रो व्यक्तिलाई केन्द्रमा राखेर लेखिने संस्मरणमा मूल सहभागीका रूपमा आफु तथा तेस्रो व्यक्ति जोसुकैलाई उपस्थित गराउन सकिन्छ भने आफैँलाई केन्द्रबिन्दुमा राखेर लेखिने आत्मकथामा मूल सहभागीका रूपमा लेखक स्वयं रहेको हुन्छ र अन्य सहभागीहरूको उपस्थिति सन्दर्भअनुसार हुनेगर्छ । संस्मरणमा प्रथम तथा तृतीय पुरुष दुवै दृष्टिबिन्दुको प्रयोग ऐच्छिक ढङ्गले गर्न सकिन्छ भने आत्मकथामा अनिवार्य रूपमा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गर्नुपर्ने हुन्छ । लेखकले देखेभोगेका घटना र वस्तुहरूको वर्णन यी दुवैको बाह्य पक्ष हो भने त्यस्ता घटना र वस्तुहरूले लेखकका मनमा परेको प्रभाव र प्रतिक्रियाहरूको भावनात्मक प्रस्तुतिलाई यिनको आन्तरिक पक्षका रूपमा चर्चा गर्नसकिन्छ । यी दुवैमा बाह्य एवं आन्तरिक पक्ष एकअर्कामा अन्तर्भूत हुनुपर्छ ।

आत्मकथा अथवा संस्मरण लेखन अत्यन्त कठिन कार्य भएकाले ठूलै आँट भएका लेखकले मात्र यिनको लेखन गर्नसक्छन् । यी दुवैमा लेखकको व्यक्तिगत सन्दर्भलाई प्रस्तुत गरिने भए पनि त्यसका सेरोफेरोमा आउने अन्य धेरै व्यक्तिहरूलाई यसले प्रभाव पार्ने स्थिति पनि त्यत्तिकै प्रबल हुन्छ । लेखकले आफुलाई केन्द्रबिन्दुमा राखेर अनेक घटना र परिवेशको यथार्थ चित्रण गर्नुपर्ने हुनाले आत्मकथा लेखनका लागि विभिन्न प्रकारका बाधाहरू पनि उत्पन्न हुनसक्छन् । व्यक्तिगत जीवनका गोपनीयता भङ्ग हुनेजस्ता विविध प्रकारका सङ्कोच, पारिवारिक, सामाजिक एवं नैतिक मर्यादामा त्यसले पार्नसक्ने असर तथा लेखनमा उपस्थित हुने अन्य सहभागीमार्फत उत्पन्न हुनसक्ने विविध प्रकारका दुर्घटनाका भय आदि आत्मकथा तथा संस्मरण लेखनका लागि बाधकका रूपमा उपस्थित हुन्छन् । यसैले नेपाली साहित्यमा आत्मकथा/संस्मरण अत्यन्त कम लेखिने उपविधामा पर्छ ।

यस्ता अनेक अप्ठ्यारा हुँदाहुँदै पनि वर्तमानमा आत्मकथा/संस्मरण लेख्ने लहर तथा होड नै चलेको छ अझ भनौँ यसले फेसनको रूपसमेत धारण गरिसकेको छ । अहिले आत्मकथा एवं संस्मरण भनेर प्रायोजित रूपमा लेखिएका÷लेखाइएका थुप्रै पुस्तकाकार कृति पनि प्रकाशन हुनथालेका छन् । प्रायोजित रूपमा लेखिएका यसखाले संस्मरण नितान्त ‘अहंपुराण’ मा रूपान्तरित भएको पनि पाइन्छ । यस खाले अहंपुराणमा सम्बन्धित व्यक्ति यथार्थको धरातलबाट चिप्लिएर निकै पर पुगेको सन्दर्भ पनि बेलाबेला सार्वजनिक भएकै हुन् । अझ कतिपय आत्मकथा एवं संस्मरण भनिएका कृति त ‘स्टन्ट’ का रूपमा मात्र देखापरेको तथ्य पनि कसैबाट छिपेको छैन । यस्ता व्यक्तिहरूले स्टन्टका रूपमा चर्चा गरेको विवरण अधिकांशतः दिवङ्गत भइसकेका व्यक्तिसँग सम्बन्धित रहेको पाइएको छ । यदि उनीहरूले यस्ता विवरण सम्बन्धित व्यक्तिको जीवनकालमै खुलासा गर्नसकेको भए उनीहरूको साहसलाई सलाम गरिन्थ्यो अनि यस्ता क्रियाकलापले समाजलाई केही मार्गदर्शन पनि गर्नसक्थ्यो तर व्यक्ति दिवङ्गत भइसकेपछि, खण्डन गर्ने कोही नभएपछि चर्चामा आउने अभीष्टले यस्ता स्टन्टकै लागि असफल प्रयास गर्ने दरिद्री एवं हुतिहाराका लागि प्रतिक्रिया व्यक्त गर्न कुनै पनि शब्द बाँकी रहँदैन ।

अर्काेतिर अहिले आत्मकथा एवं संस्मरण व्यक्ति स्वयंले नभई खेताला लगाएर लेख्न लगाउने प्रचलन पनि व्यापक रूपमा देखिएको छ । त्यसरी लेखाइएका अधिकांश पुस्तक सम्बन्धित व्यक्तिको भावात्मक अभिव्यक्ति नभएर विवरणमूलक टिपोट भएको अनुभव अधिकांश पाठकले गरेकै हुनुपर्छ । यसरी अहिले लेखाइएका आत्मकथा नामक लेखनहरूलाई नेपाली साहित्यमा ‘आत्मपुराण’, ‘अहंपुराण’, ‘आत्मप्रशंसा’, ‘आत्मश्लाघा’ जस्ता नामकरण गर्नुपर्ने हो कि ? यो मेरो जिज्ञासा मात्र हो । अर्काेतिर सार्वजनिक छवि बनाएका यसखाले संस्मरणले समाजमा निजको जीवनशैलीबारे जानकारी दिए पनि यिनको साहित्यिक मूल्य निर्धारण हुने कि नहुने गम्भीर भएर सोच्न ढिलो भइसकेको छ ।

आत्मकथा एवं संस्मरणमा व्यक्ति इमानदार भएर आफुले कुनै समयमा गरेका नकारात्मक क्रियाकलाप पनि इमानदारीपूर्वक लेख्ने साहस गर्ने हो भने यसले भावी पुस्तालाई मार्गदर्शन गर्नसक्ने सम्भावना पनि प्रबल रूपमा रहेको छ । यसो गर्दा उसका नकारात्मक क्रियाकलापलाई सम्झेर उसलाई सधैँ घृणाको दृष्टिले हेरिरहनुपर्छ भन्ने आशय होइन, किनकि कुनै बेलाको रत्नाकर डाँकु वाल्मीकिमा परिवर्तन भएर कालजयी कृति रामायणको सिर्जना गर्न पुगेको मिथमा विश्वास गर्ने हाम्रा लागि यस्ता स्वभाव परिवर्तनका कथाले भावी पुस्तालाई सकारात्मक प्रेरित गर्नसक्ने सम्भावना पनि त्यत्तिकै प्रबल रहनेतर्फ सङ्केत गर्न खोजिएको हो ।

नेपाली साहित्यमा आत्मकथा एवं संस्मरणलेखनतर्फ महिलाको कलम कमै चलेको देखिन्छ । व्यक्तिगत, पारिवारिक एवं सामाजिक स्तरमा आफुले प्राप्त गरेका अनुभवहरू अभिव्यक्त गर्न नेपाली महिला लेखकहरूलाई अझै पनि सहज वातावरण तयार नभइसकेको स्थिति व्याप्त रहेको सर्वविदितै छ । यदि सहज वातावरण हुँदो हो त उपन्यासमार्फत आफ्ना निजी अनुभवहरूलाई यथार्थ रूपमा अभिव्यक्त गरेकै कारण दुईजना नेपाली महिला उपन्यासकार परिवार तथा आफन्तजनबाट त्याज्य भई भूमिगत अवस्थामा रहनु पर्ने थिएन अनि यौन र अनुभूति लेखेकै कारण सीता पाण्डेले लेखकवर्गबाटै ‘फोहोरी आइमाई’ को संज्ञाबाट आलोचित पनि हुनु पर्ने थिएन । अझ हास्यास्पद कुरो सीता पाण्डेको यौन र अनुभूति पुस्तकको शीर्षक सुनेरै भद्रभलादमीहरू यस्तो आलोचना गर्न तम्सिएका हुन् पढेर होइन भन्ने कुरा प्रस्तुत पुस्तक पढेपछि छर्लङ्ग हुन्छ । प्रस्तुत कृतिमा सीता पाण्डेले घर, परिवार, समाज तथा कार्यक्षेत्रमा देखापर्ने विभिन्न सन्दर्भका महिला विरोधी गतिविधि र महिलाप्रति देखाइने सङ्कीर्ण मानसिकताको विरोध गर्दै तिनप्रति आफ्ना अनुभूति एवं दृष्टिकोण प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्यमा पुस्तकै नदेखी नपढी हावादारी विश्लेषण गर्दै अनुसन्धानको हवाला दिने प्रवृत्तिको बोलवाला रहेको स्थितिमा यस्ता मौखिक टिप्पणी हुनु कुनै नौलो कुरा पनि होइन तर कसैका बारेमा आलोचनात्मक टिप्पणी गर्नुभन्दा पहिले कृति गम्भीरतापूर्वक पढिदिए हुन्थ्यो भन्ने आग्रह मात्र हो । यी र यस्ता विविध कारणबाट नेपाली साहित्यमा आत्मकथा लेखनतर्फ महिला झुकाव कम देखिए पनि वर्तमानमा नेपाली महिलाहरु पनि आत्मकथा एवं संस्मरण लेख्न सक्रिय देखिन थालेका छन् । ।

खेताला लगाएर लेखिने आत्मकथाका सन्दर्भमा चाहिँ महिलाको उपस्थिति खेतालो र खेताला लगाउने दुवै स्थितिबाट न्यून देखिन्छ । यद्यपि नेपाली आत्मकथाको इतिहासमा महिलाका आत्मकथात्मक कृति तेस्रो व्यक्तिले लेखिदिएको स्थिति नपाइने भने होइन । नेपाली साहित्यमा देखिएको यस सन्दर्भमामा निरक्षर महिलाको अनुभूति लिपिबद्ध गरिएको छ ।

महिलाका लागि संस्मरण लेखन अत्यन्त कठिन कार्य भए पनि औपचारिकताको घेरालाई तोडेर चन्द्रकान्ता मल्ल, पारिजात, शान्ता श्रेष्ठ, झमक घिमिरे, कविता पौडेल, बीना घले, गौरा प्रसाईंजस्ता इमानदार एवं साहसी लेखक पनि नेपाली साहित्यमा देखापरेका छन् । उनीहरूको लेखन दिवङ्गत व्यक्तिलाई जोडेर आफुलाई चर्चामा ल्याउने, यथार्थबाट धेरै टाढा रही आफ्नो प्रशंसा गर्ने उद्देश्यले नभई जीवनमा आफूले भोगेका तितामिठा एवं त्रासद अनुभूतिलाई अभिव्यक्त गर्ने उद्देश्यले प्रेरित रहेको देखिन्छ ।

भारती गौतमसँग मेरो परिचय सुरुमा व्यक्तिगत रूपले नभई संस्मरण लेखककै रूपमा भएको हो । व्यक्तिगत रूपमा परिचित भएपछि यिनका भीमु एवं अमेरिकामा आमा नामक संस्मरणात्मक कृति प्रकाशन भएका हुन् । संस्मरणका अतिरिक्त यिनको आकाशमाथिको शहर शीर्षक कविता सङ्ग्रह पनि प्रकाशित छ ।

भारती गौतमको प्रस्तुत संस्मरणात्मक कृति मूलतः पारिवारिक संस्मरणमा आधारित छ । प्रस्तुत कृतिमा सङ्कलित ‘मेरो सर्वस्व, आफ्नै दन्त्यकथामा, सम्झनामा साहिँला काका, नउघ्रिएका झ्याल, पल्लाघरका ठूलामामा, सारीको पिङ, कुसमयको फोनको घन्टी, गाडीको समय भयो, मनको खत’ शीर्षक संस्मरणहरू लेखकको घरायसी एवं पारिवारिक विषयवस्तुमा आधारित छन् । आफुलाई अत्यन्त माया गर्ने र आफुले अगाध आस्था राखेका अग्रज व्यक्ति तथा आफुले ज्यादै माया गरेको अनुज व्यक्तिको मृत्युबाट उत्पन्न पीडाको प्रस्तुति मार्मिक ढङ्गमा गरिएका यी रचनामा ग्रामीण क्षेत्रमा बसोबास गर्ने परिवारको दैनन्दिन जीवनको झझल्को पाइन्छ । यिनमा एउटा शिक्षित एवं जिम्मेवार व्यक्तिले निर्वाह गर्ने आफ्नो पारिवारिक जिम्मेवारी एवं वात्सल्यलाई आफ्ना बा, आमा, काका, मामा आदिका माध्यमबाट समाज सापेक्ष ढङ्गले चित्रण गरिएको छ । यिनमा चित्रित घटना र सन्दर्भ झट्ट हेर्दा परिवारविशेषमा केन्द्रितजस्तो देखिए पनि ती अधिकांश नेपाली पारिवारिक क्रियाकलापमा आधारित छन् । लेखकको व्यक्तिगत एवं पारिवारिक परिवेशमा लेखिएका यी संस्मरणमा उनको पारिवारिक जीवनका अधिकांश पाटाहरू समेटिएका छन् । लेखकले आफ्नो जीवनमा भोग्नुपरेका दुखदपूर्ण स्थितिबाट उत्पन्न मानसिक कष्टलाई यिनमा यथार्थमूलक ढङ्गमा प्रस्तुत गरिएको छ । यस कृतिमा समाविष्ट ‘त्यो दर खाने दिन, महाष्टमीको बिहान’ जस्ता लेखमा सांस्कृतिक सन्दर्भबाट बाल्यकालीन पारिवारिक अवस्थाको सम्झना गरिएको छ । आफ्ना अग्रजहरूको महिमागान गरिएका यिनका संस्मरणमा अनुज पुस्ताप्रति स्नेह दर्साइएको छ ।

बिहे गरेर पराइघर गएकी चेलीको माइतमा बाआमा हुनु र नहुनुको पार्थक्य लेखकको वैयक्तिक अनुभूति भए पनि यसलाई साधारणीकरण गरेर आम नेपाली महिलाको अनुभूति बनाउनसक्नु भारती गौतमको लेखनमा देखापरेको सशक्त पक्ष हो । यसैगरी ‘बेरीतले दुखेका रीत’ शीर्षक संस्मरणले नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदलाई अत्यन्त संवेदनशील ढङ्गमा खोतलेको छ । नेपाली समाजको चालचलन नबुझेको नयाँ पुस्ताले हाम्रो पारिवारिक एवं सामाजिक संस्कारमा देखिएका विभेदबारे जिज्ञासु हुनु र प्रश्न उठाउनु स्वाभाविक नै हो तर त्यस्ता प्रश्नको उत्तर यथार्थमा आधारित भई विवेकपूर्ण ढङ्गले दिनसक्ने हिम्मत नभएकी निसहाय मानसिक अवस्थाको चित्रणले जोकोहीलाई पनि द्रवीभूत गराउँछ ।

प्रस्तुत कृतिमा सङ्कलित ‘आरम्भको अन्तिम भेट, छिमेकी बहिनी झमक, ती फुल बेच्ने बाजे, सम्भावना बाहिरको संयोग’ जस्ता रचना साहित्यिक व्यक्तित्वसँग सम्बद्ध छन् । उल्लिखित व्यक्तिको प्रशंसा मुक्तकण्ठले गर्दै एक झलकमा देखिएको उनीहरूको व्यक्तित्वमाथि भारती गौतमका यी संस्मरणमा प्रकाश पारिएको छ । यिनमा शारदा अधिकारी, झमक घिमिरे, मोहन कोइराला, डायमन शमशेर राणाजस्ता साहित्यकारको संस्मरण समेटिएका छन् । यसका अतिरिक्त मोहन कोइरालाको संस्मरणअन्तर्गत किरण खरेल तथा डायमन शमशेरको संस्मरणअन्तर्गत लीलबहादुर छेत्रीसँग भेटेको क्षण पनि चित्रित छन् । उल्लिखित स्रष्टाप्रति लेखकको विशेष श्रद्धा र सम्मान रहेको कुरा पनि यी लेखबाट जानकारी पाइन्छ ।

प्रस्तुत कृतिमा समाविष्ट ‘दो टिकेट चाहिए, दोलखा भीमसेन’ जस्ता लेख जन्मभूमिभित्रैका यात्रामा आधारित छन् । तिनमा यात्राको विवरणभन्दा पनि यात्राक्रममा देखेभोगेका बिब्ल्याँटाहरूलाई अनुभूतिमय तुल्याएर प्रस्तुत गरिएको छ । अमेरिकामा आफुले कार चलाएका बेला भएको दुर्घटनाले उत्पन्न गरेको त्रासदी ‘त्यसपछि कतिसम्म’ शीर्षक लेखमा अभिव्यक्त गरिएको छ भने ‘आगाको आतङ्क’ आफु बसेको छिमेकी गाउँमा आगलागी भएपछि उत्पन्न मानसिक त्रासदीलाई देखाइएको छ । यसका साथै यसमा नेपालमा भएको विनाशकारी भुइँचालोको पनि स्मरण गरिएको छ ।

‘आकाश रोएको बिहानपछि’ सन् २००१ सेप्टेम्बर ११ का दिन अमेरिकामा भएको आतङ्ककारी विमान आक्रमणबाट उत्पन्न त्रासदीलाई अभिव्यक्ति दिइएको छ भने उक्त घटनापछि जनमानसमा देखापरेको सङ्कटपूर्ण त्रासद मानसिकताको चित्रण ‘सेप्टेम्बर एघारपछिको उडान’ मा गरिएको छ । यसैगरी ‘यो रात यस्तै लम्बिरहोस्’ छोरालाई होस्टेलमा छोडेर आएपछि एउटा आमाको मनमा उत्पन्न आरोहावरोह संस्मरणात्मक ढङ्गमा अभिव्यञ्जित छ भने ‘जे हामीसँग बोस्टन गएन’ आफु गएका ठाउँमा लान नसकिएको मानवेतर प्राणी कुकुरको संस्मरणमा आधारित छ ।

‘अनुभूतिको दोछायामा’ तथा ‘लगनगाँठामा’ भिन्न भौगोलिक तथा संस्कृतिक परिवेशमा सन्तानको बिहे आयोजना गर्दाका क्षणमा नेपाली आमाको दायित्व र वर्तमान परिवेशका बीचमा च्यापिएकी आमाभित्र उत्पन्न हुने मनोवैज्ञानिक द्वन्द्वलाई देखाइएको छ । भूगोल, धर्म, सांस्कृतिक परम्परा एवं मान्यता तथा भाषाबाट परिभाषित सिमानाहरू मेटेर सृष्टिका दुई विपरीतलिङ्गी आत्मालाई एकै ठाउँमा समाहित गरिदिने तत्व बिहे हो भन्ने अवधारणाको प्रस्तुति पाइने यी रचनामा लेखकभित्र रहेको समझदारीपूर्ण दृष्टिकोणका कारण द्वन्द्वले टाउको उठाउन सकेको छैन । आफु बाँचेको परिवेशलाई हार्दिकता एवं उदारताका साथ आफुमा समाहित गर्नसक्ने र सन्तानका हरेक क्रियाकलापलाई सकारात्मक दृष्टिले विश्लेषण गर्नसक्ने महान् आमाको महत् अभिव्यक्तिबाट यी संस्मरण सशक्त एवं प्रभावकारी बन्नपुगेका छन् ।

यसरी आफुले विगतमा भोगेको जीवनलाई वर्तमानका आँखाबाट सूक्ष्म ढङ्गले नियाल्दै भावुकता एवं संवेदनाले ओतप्रोत गराएर पाठकलाई आकर्षित गर्नसक्नु विगत र बाडुली कृतिको सबल पक्ष हो । प्रत्येक घटना र सन्दर्भलाई स्वदेश र विदेशका सापेक्षतामा तुलनात्मक रूपले अनुभूतिमय तुल्याएर अभिव्यक्त गर्नु भारती गौतमको लेखनमा देखापरेको सबैभन्दा ठूलो विशेषता हो ।

विभिन्न व्यक्ति एवं सन्दर्भलाई संस्मरणात्मक ढाँचामा प्रस्तुत गरिएको भारती गौतमको यस कृतिमा कताकति यात्राको झझल्को पाइए पनि तिनमा समेत संस्मरणात्मक पक्ष नै प्रबल रहेको छ । यो कृति बाह्य रूपमा हेर्दा संस्मरणात्मक सँगालोजस्तो देखिए पनि गहिरिएर पढ्दा गहन एवं दार्शनिक रचनाहरूको सँगालोका रूपमा रहेको अनुभूति हुन्छ । नेपाल र प्रवासमा बिताएका दीर्घजीवनको भोगाइबाट खारिएर परिपक्व बनेका अनुभवका कारण यो कृति परिपक्व अभिव्यक्तिको नमुना बन्नपुगेको छ । आत्मकथा एवं संस्मरणका नाममा वर्तमानमा लेखिएका तथा खेतालो लगाएर लेखाइएका अहंपुराणको स्पर्श कतै पनि नभेटिने हुनाले यस कृतिका लेखक यसमा ‘स्टन्ट’ मोहबाट परै रहेको देखिन्छ । दिल खोलेर सम्बद्ध व्यक्तिको प्रशंसा गर्दै बाल्यकालदेखि वर्तमानको प्रवासी जीवनसम्मका विभिन्न क्रियाकलापको वर्णन पाइने यो कृति अहंपुराणभन्दा माथि उठेर संवेदनायुक्त यथार्थमूलक अभिव्यक्तिका रूपमा देखापरेको छ । परिवारका अग्रज व्यक्तिहरूको निधनबाट उत्पन्न संवेदनशील हुनपुगेको पीडादायी सन्दर्भको अभिव्यक्तिका क्षणमा समेत लेखकको अभिव्यक्ति कौशल एवं तर्कशक्ति कमजोर नभई सशक्त रहेको पाइन्छ ।

प्रवासमा बस्ने व्यक्तिहरूका लागि मनको बह पोख्ने सबभन्दा निकटको मित्र भनेकै अतीत एवं स्वदेशमा रहेका स्वजनको स्मरण हो । उमेर र अनुभव दुवै दृष्टिले नेपालमै परिपक्व भएर अमेरिका प्रवासिएकी लेखकले अतीत मोह एवं स्वजन संस्मरणलाई माध्यम बनाएर मनको वह पोख्ने अभीष्टले नै प्रस्तुत कृतिको रचना गरेको देखिन्छ । स्वदेश र प्रवास गरी दुईतिर विभाजित हुन बाध्य मानसिकताको प्रस्तुति संवेदनशील ढङ्गले गरिएको यस कृतिलाई डायस्पोरिक कृतिको नमुनाका रूपमा पनि लिनसकिन्छ । सूक्ष्म सन्दर्भहरूलाई समेत नछोडी आत्मपरक ढाँचामा अतीतको संस्मरण गर्नु यस कृतिको प्रमुख विशेषता हो । आफ्ना घरायसी सन्दर्भहरूलाई पनि नढाँटी संवेदनशीलताको चास्नीमा डुबाएर यथार्थमूलक अभिव्यक्ति दिनु यस कृतिको उल्लेख्य पक्ष हो ।

नेपालको ग्रामीण तथा विदेशी परिवेशको समेत चित्रण पाइने यस कृतिमा स्थानीयताको दिग्दर्शन यथार्थपरक ढङ्गमा गरिएको छ । स्थूल एवं सूक्ष्म दुवै ढङ्गमा परिवेशको चित्रण गरिएको यस कृतिमा आँखाले देखिने स्थूलभन्दा मनद्वारा अनुभूत गरिने सूक्ष्म परिवेशको चित्रण स्वाभाविक एवं जीवन्त बनेको छ । मूलतः दुखद एवं संवेदनशील वातावरण चित्रित यस कृतिमा दुखद वातावरणको प्रस्तुति पनि कलात्मक एवं दार्शनिक ढङ्गमा भएको छ ।

प्रस्तुत कृतिको भाषाशैलीय विन्यास सरल, सहज, प्रवाहपूर्ण एवं ओजपूर्ण रहेको छ । भारती गौतम भाषालाई राम्रैसँग खेलाएर थोरैमा धेरै भन्नसक्ने क्षमतायुक्त कवि पनि भएकाले प्रस्तुत कृतिका अधिकांश अंश कुनै काव्य पढेजस्तो अनुभव हुन्छ । हरेक घटना, क्षण एवं सन्दर्भलाई उपमा, बिम्ब एवं प्रतीकका माध्यमबाट बोधगम्य ढङ्गले अभिव्यक्त गर्नसक्नु यिनको भाषिक प्रयोगमा पाइने विशिष्ट पक्ष हो । मानक भाषाकै प्रयोग पाइने यस कृतिको भाषिक विन्यासमा कृत्रिमताको स्पर्श कतै पनि भेटिन्न । विभिन्न उखानहरूलाई टुक्काको रूप दिएर छोटोछरितोमा प्रस्तुत गर्नसक्नु पनि भारती गौतमको भाषिक प्रयोगमा देखापरेको कौशल हो । सहज बोधगम्य बिम्ब, प्रतीकयुक्त भाषिक विन्यासका साथ घटनालाई अनुभूतिमय तुल्याएर वर्णन गर्ने क्षमताका कारण सबैखाले पाठक सहजै आकर्षित गर्न प्रस्तुत कृति सफल हुने कुरामा कुनै सन्देह छैन ।

अन्त्यमा, यस कृतिका रचनाकार भारती गौतमको सुस्वास्थ र सक्रिय सिर्जनशील जीवनको कामना गर्दै स्वदेशी र प्रवासी जीवनको लामो एवं परिपक्व अनुभवले खारिएका अभिव्यक्तिहरूको अर्काे कृति छिटै प्रकाशन गर्नेतर्फ क्रियाशील हुनाका लागि म हार्दिक शुभकामना व्यक्त गर्दछु ।