अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

सङ्कल्प मेरो छ यो

रश्मि भट्ट २०७७ असार २५ गते ८:१६ मा प्रकाशित

कविता

कोही छैन सुखी,सदा जगतमा खोजेर हेर्‍यौ भने
मान्छे भित्र अथाह दुःख लहरा हेरेर बुझ्यौँ भने
हाँस्नै पर्छ, यहाँ, सहोदर कठै, आफ्नै गुमाए पनि
बाच्नै पर्छ जहाँ, सबै  हृृदयको आशा हराए पनि ।।

छ्याप्छन् मात्र हिलो कुनै जन यहाँ, केही नबोले पनि
हेप्छन् व्यर्थ कतै गएर मनको पीडा नखोले पनि
साह्रै, सत्य त खै, छ को र अहिले, थोरै भएता पनि
बाटो सत्य पथै म रोज्छु जहिले एक्लै परेता पनि ।।

दुष्टै दुष्टहरू मिलेर युगको अस्तित्व सॅकष्टमा
सत्यात्मा त संधै छ दिक्क कसरी बाँच्ला र दुर्गन्धमा?
सारा राष्ट्र, सबै र भित्र घरको फाल्नै छ मैलो यहाँ
थोत्रा रीति रिवाज औ कुलतका झिक्नै छ थैलो यहाँ ।।

जो ग्राही र गुणी छ जे विषयमा पारिन्छ पर्दा पछि
पारी राष्ट्र सबै हजार टुकडा ताली छ पर्दा अघि
राम्राकै हक निल्न, दुष्टहरूको साङ्लो र जालो यहाँ ।
आत्मा दुख्छ, भनी भनेर पनि खै, को दिन्छ इन्साफ यहाँ ? ।।

कहिल्यै किन्तु, कुनै मनुष्यहरूमा हानी नगर्दा पनि
ढुङ्गा मात्र छरी रहन्छ त भने ताली मिलाऊॅ कति,
ज्वाला लिन्न अझै निकाय हरूमा हुङ्कार भो गर्दिन
बाटो सत्य हुने मनुष्य जनको दुत्कार भो गर्दिन ।।

अर्काको नपरोस् परिश्रम कुनै, आफै गरूँ उद्यम
जाली झेल प्रपञ्चबाट म बचूँ, सक्दो बनूँ सज्जन
खाली गीत कथा पवित्र कविता मात्रै नलेखूँ अव
वाचा गर्छ झुटो, सधै छ गुटको पर्दा उघारूँ सब ।।

कस्तै दुःख हवस् सुकर्महरूकै बाटो सदा रोज्दछु
मर्नै पर्दछ रे अवश्य म संधै सत्कर्म नै गर्दछु
आफै नै पहिले सुधार्छु घरको, चिन्ता लिँदै देशको
मेरो एक यही विचार मनको, आस्था र सङ्कल्पको ।।

*******
(छन्द– शार्दूल विक्रीडित )