अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

आऊ परेवाहरू

रश्मि भट्ट २०७७ वैशाख २४ गते २२:१८ मा प्रकाशित

कविता

(सन्दर्भ – बुद्ध जयन्ती)

आजकाल, दिनदहाडै
घर, आंगन र बार्दलीहरूमै
बर्सिन्छन् गोला बारुदहरू
हिंसा बढेको छ, ब्रह्माण्ड भरी नै
त्रास र आतङ्कले भयभीत र
पराजित छन् मानवहरू
पशुपक्षीहरू पनि कहाँ सुरक्षित छन् र?
स्वच्छन्द उड्नै छाडेका छन्
आकाशमा चराहरू
नि: सन्देह हिँड्नै छाडेका छन्
समस्त जीवधारी प्राणीहरू ।।

यो अस्थिरता र हिंसा
अनेकौँ रोग, शोक र भोक
आफैले जन्माएर मान्छे
आफैमाथि अट्टहास गरिरहेछ
विश्वासघात गरिरहेछ
सबैलाई राजा हुनु छ यहाँ
धुरी चढेरै भए पनि एक नम्बरको
नयाँ बाजा हुनुपरेको छ यहाँ
बुद्ध बन्न चाहँदैन कोही
महात्मा, युधिष्ठिर त कुरै छाडौँ
रङ्गिन दुनियाँ छाडेर को रोज्छ
रङ्गहीन दुनियाँ, ? बलिको बोको हुन ।

मनुष्यहरूको अराजकता देखी थाकेर
म हिंसा र क्रन्दनको जीवन,
जगत् देखी नि:शब्द,
नि:शब्द हारेर म
मेरो घर, दैलो र आंगनमा
टोल, छिमेक र समाजमा
देश, देशावर र पुरै ब्रह्माण्डमा
एक हुल सेता, सेता परेवाहरूलाई
घुम्न आव्हान गरिरहेछु
शान्तिको लागि, अहिंसाको लागि
र मानवता बढाउनको लागि ।।