अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 18:14

धरती जस्तै बन

रश्मि भट्ट २०७६ कार्तिक २५ गते १७:१४ मा प्रकाशित

कविता

गन्दै, गन्दै एक दुई , सय
हजार, लाख गने पनि
एक गन्न एकमै फर्कनुपर्छ
गन्तव्य भेट्न सुख दु:खका
जति हजार सिँढी चढे पनि
चढेको पहिलो खुड्किलो भेट्न
तलतिरै झरेर हेर्नुपर्छ ।
ए ! मैले त धरहरा छोए भन्ने
मनुष्यका जमातहरू हो
त्यस धरहराको जग पनि
धरतीमै अडेको हुन्छ ।
अझै मैले त आकाश छोए भन्ने
भ्रम पालेका मनुष्यहरू हो
आकाश पनि त सॅधै धरतीतिरै
शिर झुकाएर मुस्कुराइरहेको हुन्छ ।

सॅधै आगो मात्र ओकल्नेहरूले
आगो ओकल्दा के आश्चर्य लाग्छ र ?
पानी बनेर अजङ्ग पहाड जस्ता
ढुङ्गा खियाउनेहरूले पानी पानी
छादे भने त्यहाँ पनि के आश्चर्य हुन्छ र ?
सॅधै नौनी घस्नेहरूले आगो ओकल्न
थाले भने अवश्य डराउनु पर्छ त्यहाँ
सॅधै राँको बाल्नेहरूले मलम बनेर
औषधी लगाउन थाले भने आठौँ
आश्चर्य हुन्छ, घोर अनर्थ हुन्छ त्यहाँ ।
अतिरञ्जित चाप्लुसी र प्रशंसा गर्दै
नगरन ए मान्छेहरू हो
निहत्था, अनर्गल, अश्लील, असत्य
भ्रम पनि नफैलाउन ए मान्छेहरू हो
यसले कुन नयाँ निकास दिन्छ र ?

प्रशंसाको जति खेती गरे पनि
विरोधको जति नेती बुने पनि
मिचेर अर्काको साँध सिमाना
आफ्नो भनाए पनि
लुटेर अर्काको भूमि जति जति
फराकिॅदै गए पनि
बस्नलाई घर हुँदैन आकाशमा
ओत र छहारी हुँदैन आकाशमा
तिर्खा मेट्न पानीको कुनै मुहान
र श्रोत हुँदैन आकाशमा
के गर्व गर्नु लुटेर अर्काको
स्वाभिमान , सार्वभौम र अस्तित्व ?
मृत्युभन्दा पर कुनै, कुनै
गन्तव्य हुँदै हुँदैन
मरिसकेपछि पनि जल्नु छ धरतीमै
गड्नू छ माटोमै र मिल्नु छ माटोमै
किनकि आकाशमा चिहानसमेत
कहीँ हुँदै हुँदैन ।।

प्रतिक्रिया