अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

डेनभर मेरो सपनाको सुन्दर सहर

आचार्य प्रभा २०७६ भदौ २८ गते ९:३१ मा प्रकाशित

हामीले आफ्ना अतीतहरू जति खोतल्ने प्रयास गर्छौँ उति नै अतीतका घटना र स्मरणहरू खोतलिँदै जान्छन्।यस्तै मेरा पनि अतीतका तिता/मिठा क्षणहरू असङ्ख्य छन् ।अतीतमा गरिएका,भोगिएका ती सारा घटना र कार्यहरूलाई समेट्न र सम्झन निक्कै गाह्रै पर्दछ तर आज म यहाँ विगत ५ वर्ष अघिका केही यात्रा र आफूले भोगेका,स्मरणहरू पोख्न चाहन्छु जो मेरा लागी अत्ति नै खुसी अनि प्रेरक क्षण बनेका छन् ।

आजभन्दा ५ वर्ष अघि हामी यही कोलोराडो डेनभरलाई बाई भन्दै आफ्नो देशतर्फ लाग्यौँ । हामीमा कुनै निष्कर्ष थिएन कि हामी स्वदेशमै पलायन हुन्छौँ कि ? फर्किन्छौँ भनेर । बस् थियो त हामी (श्रीमान्/श्रीमतीमा)आफ्नै माटोमा एउटा सानो झोपडी बनाउने । हामी २०१४ को फेब्रुअरी महिनातिर नेपाल लाग्यौँ । सायद नेपाली वर्ष २०७१ हुनु पर्छ । हामी त्यही सपना बोकेर गयौँ जो हर मान्छेको मनमा उब्जन्छ । एउटा सानो घर होस्,आफ्नै घर आँगनमा रमाउन पाउँ भन्ने । तर विडम्बना हामी पुगेको केही महिनाभित्रमा नै नेपाल महाभूकम्पको चपेटामा पर्‍यो ।हाम्रो मात्र होइन सारा नेपालीका सपना/उद्देश्यहरू चकनाचुर भए । सोचेको सबै व्यर्थ भए समान भयो तर पनि हामीले हिम्मत हारेनौँ । हामी आफ्नो लक्ष्यमा अडिग रह्यौँ । समयले जे जस्तो अह्राउँछ त्यो गर्नै पर्छ । त्यही समय भित्रमा हामीले दुई छोरीहरूको विवाह पनि गर्‍यौँ । समयले आफ्नो पङ्ख फिँजाउँदै गयो हामी पनि त्यही समयको रफ्तारसँगै अघि बढ्दै गयौँ । हामीमा जोस,जाँगर रत्तीभर मरेन ।

समयको क्रमसँगै हामीले आफ्नो झुपडीको जग बसाल्ने काम पनि सुरु गर्‍यौँ । समयले साथ दिएर नै होला हाम्रो कल्पना र सपनाको घर पनि लगभग १० महिना भित्रमा नै पुरा भयो । सबै चकित भए कति चाँडो घर तयार गर्नु भो ? भनेर । घर (कम्प्लेक्स) तयार हुनासाथ बहालमा पनि लागे । हामी आफ्नै घर व्यवहारमा तल्लीन भयौँ । घरको छतमा साग, सब्जी, फुलहरू लगाएर हाम्रो दिनचर्या बित्न थाले । हामी विभिन्न स्थानमा हुने साहित्यिक या अन्य कार्यक्रमहरूमा पनि उपस्थित हुन थाल्यौँ । यसरी हाम्रो आफ्नो देश, घर आँगनको समय आनन्दमयसँग बित्न थाल्यो । भनौँ हामी आफ्नै घर/आँगनमा रमाउन थाल्यौँ । आफ्नै आफन्तहरूसँग भुलिन थाल्यौँ तर पनि प्रवासमा रहेका केही प्रिय मनहरूले हामीलाई बारम्बार फर्केर आउन आग्रह भने गर्न छाडेका थिएनन् तर हामी बिस्तारै आउने आश्वासन दिँदै उही रमाई रहेका थियौँ ।

तर समयको खेल या हाम्रो भाग्य अस्ट्रेलियामा भएकी हाम्री कान्छी छोरीको सन्तान (छोरी) भइन् । हामीलाई अस्ट्रेलिया आउने निमन्त्रणा भयो । हामी अस्ट्रेलियातर्फ लाग्यौँ । मलाई उसै पनि सानो नानीहरूको मोह लाग्ने । आफ्नै नातिनी पाउँदा म अस्ट्रेलियामा उसैसँग लिप्त भएँ कति चाँडो १ वर्ष बितेछ हामीलाई पत्तो नै भएन । अस्ट्रेलिया रहँदा पनि विभिन्न साहित्यिक कार्यक्रमहरूमा उपस्थिति जनाइयो । त्यस्पश्चात अस्ट्रेलियाबाट नेपाल (दमक) फर्कियौँ नानीलाई समेत लिएर। धेरै वर्ष भई सकेको थियो हामी परिवार एक भएर दसैँ तिहार नमनाएको २०७५ सालको दसैँ चाहिँ हामीले रमाइलोसँग मनायौँ । अमेरिका, अस्ट्रेलिया सबैतिरबाट नानीहरू पनि भेला भए । यसरी हामी उठी सकेको बासमा फेरि ओत लाग्न सफल भयौँ । हामी आफ्नै घर आँगनमा मस्तसँग रम्न थाल्यौँ । फेरि समयले आफ्नो पन्जामा कैद गर्‍यो र हामी अस्ट्रेलिया नानी पुर्‍याउन फेरि लाग्यौँ ।नानीको माया र उसको बालापनले यसरी लट्ठ बनाएको थियो कि हामीलाई नानी छाडेर आउन निक्कै मुस्किल पर्‍यो तर पनि आफ्नो काम/कर्तव्यले गर्दा हामी नेपाल फर्कियौँ ।

नेपाल पुगे पश्चात् हाम्रा धेरै कामकुराहरू फत्ते भए । मैले आफ्नो क्षेत्रमा पनि पनि निक्कै सम्मानित हुने अवसर पाएँ ।जे होस् टुटी सकेको सपना पुन जोडिन थाल्यो । अमेरिका पसे पश्चात् विभिन्न समस्या र आरोह/अवरोहहरू पार गर्नु पर्‍यो । एक प्रकार विदेशी भूमिमा हाम्रो खुसी/आसाहरू सेलाएर मृत भइसकेको थियो जुन यहाँ लेखेर साध्य छैन । तर पनि हामीले मनलाई नमारी अघि बढ्ने सङ्कल्पको साथ अघाडी बढ्दै गयौँ । मैले आफ्नो व्यावहारिकता मात्र होइन आफ्नो लेखन क्षेत्रमा पनि उत्तिकै सफलता हात पार्दै गएँ । मैले कहिल्यै लेख्न छाडिन । जस्तोसुकै मनभित्र आँधी हुरीहरू चले पनि म आफ्नो कलमलाई सुस्त बनाउन सक्दिन थें । मेरो आशय खास के हो भने मान्छेले जतिसुकै समस्या र सङ्घर्षसँग जुध्न परे पनि मनलाई स्थिर राखेर आफ्नो उद्देश्यलाई अघि बढाउने कोसिस गर्‍यो भने पक्कै कुनै न कुनै दिन उ सफल बन्न सक्छ । हामी त्यसरी १२ /१३ वर्षसम्म विदेशको भूमिमा बसेर पनि फेरि देश र घर आँगनको मायामा लिप्त भएर फेरि उठेको बास बसाल्न सफल भयौँ तर पनि हामीलाई अमेरिकाको कोलोराडो स्टेटको डेनभर सहरको माया भने असाध्य थियो।हामी बारम्बार सम्झी रहन्थ्यौँ यो सहरलाई तर हाम्रो मनमा फेरि फर्केर गइएला भन्ने सोच चाहिँ थिएन कारण केही कारण थियो यो सहरमा हाम्रो मन टुटेको तर सन्जोग नै भनौँ आज यही सहरको माटो टेक्न आई पुगेका छौँ फेरि ।

यो सहरले हाम्रो माया र सद्भावको कदर गरेर होला हामी अप्रत्याशितरुपमा आज यही माटोमा फेरि आइपुग्यौँ । यहाँ धेरै छन् हाम्रा प्रिय मनहरू ज-जसलाई हामी जहाँ पुगे पनि कदापि बिर्सन सक्दैनथ्यौँ सायद वंहाहरुको मायाले पनि हामीलाई तान्यो कि ? यसरी यहाँ आउने दौडधुपमा पनि मैले नेपालमा आफ्नो चिनो वा सृजना गीत सङ्ग्रह “मायाको नाकाबन्दी”छाडेर आउन सफल भए । सोचेभन्दा राम्रो सफलता हासिल भयो । आफ्नो घर आँगन लगायत राजधानीका विभिन्न मिडियाहरूले पूर्णरुपमा सहयोग गरे। एक पटक आफ्नो देशमा गहिरो छाप छाडेर आउन सफल भइयो ।र आज यो सहरमा छौँ जति बेला हामी आफ्नो देश छाडेर यही माटोमा आफ्नो सपना सजाउन आएका थियौँ । तर सजाएका सपना टुटे या भत्किए तर पनि हामीले सपना देख्न छाडेनौँ । जहिल्यै सकारात्मक सोच लिएर अघि बढ्ने प्रयत्न गर्‍यौँ र त आज यही सहरले निमन्त्रणा गर्‍यो र हामी फेरि यहाँ आई पुगेका छौँ । हाम्रो सपना र कल्पनाको सुन्दर डेनभर सहरमा।