अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

बोष्टनको विशेष साहित्यिक कार्यक्रममा डा . गौतमको “झ्याम्ली बाख्राको पाठो”उपर समीक्षा

यम पौडेल २०७६ वैशाख २७ गते ६:३४ मा प्रकाशित

अमेरिका, बोष्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोष्टन र राज मित्र स्मृति प्रज्ञा प्रतिष्ठान को संयुक्त आयोजनामा गत आइतबार मे ५ तारिख स्टोनह्याम सिटी स्थित नमस्ते रेस्टुरेन्टमा निकै राम्रो साहित्यिक कार्यक्रम सम्पन्न भयो त्यहाँ साहित्यकार एवं पूर्व हार्वड युनुभर्सिटिका प्रोफेसर डा. शिव गौतम को बौद्धिक निबन्ध “झ्याम्ली बाख्राको पाठो” उपर विशेष छलफल भयो । 

अनेसास बोष्टनका अध्यक्ष यम पौडेल को सभापतित्व र सचिव मनोज आचार्यले सञ्चालन गरेको कार्यक्रममा क्यानडा बाट आउनुभएका साहित्यकार डा. गोविन्द सी राउतले प्रमुख वक्ता को रूपमा बोल्दै कृति उपर विशेष समीक्षा गरेका थिए । कृति अत्यन्तै बौद्धिक,सरल सहज तार्किक एवं उत्कृष्ट भएको बिचार राख्दै नेपाली भाषा साहित्यमा ठुलो रिक्त स्थान यसले पुरा गर्ने डा. राउतले बताए । न्यु ह्याम्सायरबाट आएका लेखक पेशल पोखरेल ले पुस्तक उत्कृष्ट भएर पनि चर्चा कम हुनुको कारण खोज्नुपर्ने बताए । अनेसास का पूर्व अध्यक्ष हरि काफ्ले “शैव” ले डा. गौतमलाई आफूहरूले कम बुझेको र यस कृति पढेपछि ऊहा भित्र रहेको थप ज्ञानको भण्डार थाहा पाएको बताए । कार्यक्रममा बोल्दै कृतिकार प्रोफेसर डा. शिव गौतमले आफू हार्बर्ड बिश्बबिद्धालयमा छँदा खेली रहने कुराहरूलाई फ्लोरिडामा गएपछि समेट्ने काम गरेको , कहिल्यै हुर्कन नसकेका चकचकलाई उतारेको र आफ्नो परिचयलाई बाल्यकालसँग जोडन खोजेको कुरा बताए । 

सबै वक्ताबाट पुस्तकको प्रशंसा भएपछि सहभागीबाट पुस्तक पढ्न पाउनुपर्ने कुरा उठ्यो, सोहिबेला कृतिकार डा गौतमले आफ्नी धर्मपत्नी , अनेसास बोष्टनकी पूर्व अध्यक्ष एवं साहित्यकार भारती गौतम सँगै संयुक्त हातबाट आफूले ल्याएका चार थान “झ्याम्ली बाख्राको पाठो “पुस्तक अनेसास बोष्टनका अध्यक्ष यम पौडेललाई उपहार स्वरूप प्रदान गरे ।

यी पुस्तक पालैपालो पढ्न चाहनेलाई निःशुल्क पढ्न दिने पौडेलले बताए । सो अवसरमा अनेसास बोष्टनकी अर्की पूर्व अध्यक्ष डा ऊषा शर्माले धेरै समय आफूहरू सँगै बोष्टनमा रहेर टाढा जानुभएको डा गौतमले ठोस कोसेलीको रूपमा पुस्तक लिएर आएकोमा खुसी व्यक्त गरिन । त्यसपछि रचना वाचन चलेको थियो । कवि दीपा राई ले “बाटो र बाटै बाटो” शिर्षकको कविता सुनाइन भने अनेसास बोष्टनका सह सचिव अबि गजुरेलले “फुलै फुलको बहार तिमीलाई” गजल सुनाएका थिए । त्यसै गरी कार्यक्रम सञ्चालक अनेसास बोष्टनका सचिव मनोज आचार्यले आफ्नो रचना एवं कथा वाचन सुनाएका थिए । 

कार्यक्रमका सभापति पौडेलले आफ्ना रचना “ सङ्कोचित मित्रहरूप्रति..” र “सार्थक जीवन” शीर्षकमा दुई कविता सुनाएका थिए ।अन्तमा अनेसास बोष्टनका उपाध्यक्ष एवं राज मित्र स्मृति प्रज्ञा प्रतिष्ठानका संस्थापक सुशील नेपालले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्नो रचना वाचन गरेपछि कार्यक्रम सकिएको थियो । कार्यक्रम पश्चात् आयोजकबाट व्यवस्था गरिएको लन्च लिँदै बोष्टन आएका गौतम परिवारसँग बोष्टनबासीको लामै भलाकुसारी चलेको थियो । 

कार्यक्रममा अनेसास केन्द्रका पूर्व महासचिव गोवर्द्धन पूजा र सदस्य महेश्वर पन्त, अनेसास बोष्टनका पूर्व अध्यक्ष अच्युत अधिकारी, जिबिएनसी का पूर्व अध्यक्ष राम थापा, लगायत बोष्टन भित्र र बाहिरबाट आएका खास खास व्यक्ति व्यक्तित्वहरू कुसुम राउत, शेरल पोखरेल, मदन कार्की, कोमल पोखरेल लगायत अनेसास बोष्टका पदाधिकारी एवं साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो ।

स्मरण रहोस्,२०३० को दशक देखि कथा, कविता, निबन्ध लेखनमा सक्रिय त्रि वि, नेपालमा ५ वर्ष, अमेरिकाको बिश्वप्रसिद्द हार्वड युनिभर्सिटीमा १३ वर्ष र हाल फ्लोरिडा युनुभर्सिटिमा प्राध्यापन सेवा गरिरहनुभएको प्राध्यापक डा. शिव गौतम का सपनाका रङहरू २०५६, मुटुनेरीको सिस्नेरी २०६०, बाटो हेरिरहने बाटाहरू २०७४ र झ्याम्ली बाख्राको पाठो २०७४ गरी चार कृति प्रकाशित भइसकेका छन् । शब्दार्थ प्रकाशन नेपाल प्रकाशक रहेको यो पछिल्लो निकै बौद्धिक निबन्ध सङ्ग्रह हो । 

यस पुस्तक भित्र पाल्सी कुरा, आगोको खोजी, उत्तानो ओदान, अजर अमर अ र म बिचको अक्षर, उद्धरण र उदाहरणको जादूयी शक्ति, आठ दुना सत्र भएपछि,आटसऊटुस, रुमालमाथि बसेर अरुण नदी तर्ने कला, झ्याम्ली बाख्राको पाठो लगायत २२ बटा रोचक विषयवस्तुमा एक से एक मार्मिक निबन्धहरू लिपिबद्ध छन् ।